वर्षाले खेल रोकिंदा ओमन विजयी
वर्षाका कारण खेल रोकिंदा ओमन विजयी भएको छ भने एसीसी इमर्जिङ कपमा पनि छनोट भएको छ।
एसीसी प्रिमियर कप अन्तर्गत आइतबार तेस्रो स्थानका लागि भएको ओमन र कुवेतको खेल वर्षाका कारण अवरुद्ध भएको छ। खेल रद्द हुँदा ‘सिडिङ’ का आधारमा ओमन तेस्रो भएको नेपाल क्रिकेट संघले जनाएको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३० रन बनाएको थियो। अड्नान इद्रिसले ३४ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
ओमनका लागि जय ओडड्राले पाँच, बिलाल खानले दुई, आयान खान र जिसन मक्सूदले एक–एक विकेट लिए।
१३१ रनको लक्ष्य पछ्याउने क्रममा ओमनले ६ ओभरमा ४१ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको हो। त्यसपछि खेल सञ्चालन हुन नसकेपछि अम्पायरले रद्द भएको घोषणा गरे। जसले गर्दा ‘सिडिङ’ का आधारमा ओमन तेस्रो भएको हो।
एसीसी प्रिमियर कपमा उत्कृष्ट तीन टोली एसीसी इमर्जिङ कपका लागि छनोट हुन्छन्। फाइनलमा प्रवेश गरेसँगै नेपाल र यूएई छनोट भइसकेका थिए भने आज तेस्रो स्थानमा रहँदै ओमन पनि इमर्जिङ कपमा पुगेको हो।
नेपाल, यूएई र ओमनसँगै भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश र अफानिस्तानका ‘ए’ पनि इमर्जिङ कपमा प्रतिस्पर्धा गर्नेछन्।