राजु स्याङ्तानले ल्याए ‘ओ पेङदोर्जे’
कवि राजु स्याङ्तानको पहिलो कविता संग्रह ओ पेङदोर्जे सार्वजनिक भएको छ।
आफूसँगै कुनै समय सशस्त्र द्वन्द्व सहभागी भएकी प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर स्याङ्तानले ओ पेङदोर्जे सार्वजनिक गरेका हुन्। द्वन्द्वका समयमा सिन्धुपाल्चोकको ठोकर्पामा भएको भिडन्तमा गोलेले हात गुमाएकी थिइन्।
पब्लिकेशन नेपालयको आर शालामा आयोजित कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक हरि शर्माले भने, “एउटा समुदायबाट उठेको मानिस उसको वरपरको विभिन्न थिचोमिचो, सहयोग र असहयोगको बीचबाट हुर्कंदाहुर्कंदै बजार र विश्वव्यापीकरणसँग जुध्न पुग्छ। परिणाममा बजार, समाज र पूँजीवादको बन्दी भएका कविको वेदना र पीडा यसमा सशक्त ढङ्गले प्रतिविम्बित भएको छ।”
एक ठाउँ कविले अफगानिस्तानको राजधानीको सन्दर्भ उल्लेख गर्दै शर्माले कुनै कविको कल्पनाशीलता यस रूपमा पाउँदा आश्चर्य समेत प्रकट गरे।
यसरी विम्ब र प्रतिविम्ब प्रयोग गर्दै कल्पनालाई सशक्त ढङ्गले उभ्याउने राजुलाई आफूले समग्रमा भने यथार्थवादी कविका रूपमा पाएको शर्माले बताए।
कवि श्रवण मुकारुङले कवि स्याङ्तानको लेखनीबारे चर्चा गरेका थिए। कवि मुकारुङले भने, “आफ्नो परिवेशलाई आमपाठकको मर्ममा छोएर प्रस्तुत गर्न राजु प्रखर देखिएका छन्।”
यस कविता संग्रहमा ६ वटा फरक खण्डभित्र ५१ वटा कविता अटाएका छन्।