नेपालले जित्यो नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि
दुई देशीय टी-२० नेत्रहीन महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ।
नेपाल र भारतबीचको अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएपछि नेपालले शृङ्खला जितेको हो। काठमाडौंमा भएको अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएको छ।
आइतबार भएको १० ओभरको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। जसमा नेपालले ९३ रन बनायो।
वर्षाका कारण भारतले ब्याटिङ गर्न पाएन। अम्पायरले खेल रद्द भएको घोषणा गरे।
यसअघि दुई खेल पोखरामा र दुई खेल काठमाडौंमा भएका थिए। चार खेलमा नेपालले तीन खेल जितेको थियो। पोखरामा भएका दुई खेलमा नेपाल र भारतले एक-एक खेल जितेका थिए।
प्रतियोगितामा विनिता पुनले कीर्तिमान बनाएकी छन्। उनी नेपालबाट शतक प्रहार गर्ने पहिलो दृष्टिविहीन महिला खेलाडी बनेकी छन्।
प्रतियोगितामा प्लेयर अफ द सिरिज विनिता पुन, मनकेसी चौधरी र सिमु दास भए। समूह ‘बी-१’ बाट पुन, समूह ‘बी-२’ बाट चौधरी र समूह ‘बी-३’ बाट दास प्लेयर अफ द सिरिज भएका हुन्।