अरुण नदी थुनियो, तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह
संखुवासभामा निर्माणाधीन अरुण-३ जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ।
मकालु गाउँपालिका वडा नं. ५ र ३ को फ्याक्सिन्दा दोभानमा पहिरो गएर अरुण नदी थुनिएको मकालु-६ का वडा सचिव बलिराम राईले बताए। गएराति एकाएक पहिरो खसेको राईले बताए।
अरुण नदी थुनिएपछि बाँधस्थलमा पानी भरिन थालेको छ। थुनिएको पानी जुनसुकै वेला पनि बाँध फुटेर निस्कन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ।
वडा कार्यालयले सूचना जारी गरी भनेको छ, ‘पहिरो गई अरुण नदी थुनिएको हुँदा जुनसुकै वेला थुनिएको नदी फुट्न सक्ने अवस्था रहेकाले अरुण नदीको आसपास बसोबास गर्ने तथा आवतजावत गर्ने सम्पूर्णमा सचेत रहिदिन अनुरोध छ।’
जलविद्युत् आयोजनाको अस्थायी बाँधमा पानी भरिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए। टनेलबाट २५ प्रतिशत पानी मात्र बाहिर निस्किएको गोदारको भनाइ छ। “टनेलको पानी निष्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको हो,” उनले भने।
अरुण नदीको बहाव परिवर्तन गरी ४२९ मिटर लामो टनेल निर्माण गरिएको छ। अस्थायी बाँध निर्माण गरी टनेल मार्फत नदी बग्दै आएको थियो।
टनेल बन्द भएपछि करीब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ। पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुन सक्ने जनाइएको छ।