भैरव अर्यालको जीवनीमा आधारित उपन्यास सार्वजनिक
लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भैरव अर्यालको जीवनीमा आधारित उपन्यास भग्न भैरव सार्वजनिक भएको छ।
काठमाडौंको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरे, लेखक नारायण ढकाल र कवि ज्योति जङ्गलले उपन्यास लोकार्पण गरेका हुन्। आफूलाई नै कथावाचक बनाएर लेखिएको उपन्यासबारे रोचक घिमिरेले ‘भैरव र आफ्नो’ सम्बन्धबारे रोचक संस्मरण सुनाए। उनले भने, “उपन्यास भए पनि यो तथ्यमा आधारित भैरव अर्यालको जीवनी नै हो।”
त्यस्तै, लेखक ढकालले उपन्यासको प्रशंसा गरे। “३३ वर्षको जीवनमा भैरव अर्यालले भोगेका जीवनका उतारचढावलाई प्रोल्लासले रोचक शैलीमा प्रस्तुत गरेका छन्,” ढकालले भने।
कवि जङ्गलले हास्यव्यङ्ग्य शिल्पी भैरव अर्यालको बौद्धिकता, शिल्प र हास्यचेतको चर्चा गर्दै उपन्यासको भाषाशैली र प्रस्तुतिको प्रशंसा गरिन्। “कविको भाषा आफैंमा विम्बात्मक त भइहाल्छ, तर भग्न भैरवमा प्रोल्लासले प्रस्तुति र लेखनको बुनोटमा समेत नयाँ काम गरेका छन्,” उनले भनिन्।
यो उपन्यास बुकहिलले प्रकाशन गरेको हो।