मधेशका मुख्यमन्त्रीले भने- मेरो खल्तीबाट दिनदहाडै पैसा चोरी भयो
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो खल्तीबाट दिनदहाडै पैसा चोरी भएको बताउँदै प्रहरीमाथि प्रश्न गरेका छन्।
जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले दुई पटक आफ्नो खल्तीबाट पैसा चोरी भएको बताए। वैशाख १० गते भएको उपनिर्वाचनमा उपेन्द्र यादव निर्वाचित भएपछि आयोजित विजयी र्यालीमा सहभागी हुँदा पैसा चोरी भएको उनको भनाइ थियो।
“बाराबाट उपेन्द्र यादवजी विजयी भएपछि र्यालीमा सहभागी हुँदा मेरो खल्तीबाटै पैसा चारी भयो,” मुख्यमन्त्री यादवले भने, “मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरी हुन्छ भने सर्वसाधारणको अवस्था कस्तो होला?”
त्यसअघि सभामुख हुँदा पनि आफ्नो खल्तीबाट पैसा चोरी भएको उनको भनाइ थियो। गढीमाई मेलामा जाँदा ५० हजार रुपैयाँ चोरी भएको मुख्यमन्त्री यादवले बताए। “सुरक्षा घेरमा बस्ने मान्छेको खल्तीबाट दुई–दुई पटक चोरी भयो,” यादवले भने, “शान्ति सुरक्षाको अवस्था कस्तो छ भन्ने यहींबाट थाहा हुन्छ।”
संघीय सरकारले नेपाली प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण नगर्दा देशभरको शान्ति सुरक्षाको अवस्था ठीक हुन नसकेको उनको आरोप थियो। उनले तत्काल प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिए।