बर्मादेखि बाग्लुङसम्म: जेठाबाको ६ महीने पदयात्रा
जापानी बमवर्षक विमानहरूबाट भएको बमबारीबाट बच्न बर्माबाट भागेर बाग्लुङस्थित गाउँमा आइपुग्दा जेठाबाका शरीर सुकेर सिठ्ठा जस्तो, लुगा मैलिएर र फाटेर गुन्द्रुक जस्ता भएका थिए।
सन् १९४२ अर्थात् विसं. १९९९ को एक दिन। २० वर्ष हाराहारीका हाम्रा जेठाबा (हजुरबाका दाइका ठूला छोरा) झन्डै ६ महीना निरन्तर हिंडेर बाग्लुङस्थित गाउँमा टुप्लुक्क पुग्नुभयो।
शरीर सुकेर सिठ्ठा जस्तो, लुगा मैलिएर र फाटेर गुन्द्रुक जस्ता भएका। पिठ्युँमा खोल च्यातिइसकेको र मैलिएर काती परेको एउटा पातलो सिरक। कस्तो रङको हो भनेर नछुट्टिने मजेत्रो जस्तो कपडालाई नाम्लो बनाएर सिरकलाई पिठ्युँमा भारी जस्तै गरी बोक्नुभएको। ओठ कलेटी परेका। खाली खुट्टा, चर्चरी कुर्कुच्चा चिरिएका।
गाउँमा त्यसअगाडि धेरै मानिस परदेशबाट फर्केर आए, तर त्यो हालतमा कोही आएका थिएनन्। केही ल्याएनन् भनिएकाले पनि एकसरो लुगा राम्रै लगाएर आएका हुन्थे। अलि हुनेले बाकस बोकेर वा बोकाएर आउँथे। ती टिनका बाकसले घरमा सम्मानजनक आसन पाउँथे र पुस्तौं-पुस्तासम्म घरका बहुमूल्य सामानको भण्डार गर्न काम गर्थे।
जेठाबा पनि परदेशबाट आउनुभएको त थियो तर धनपैसा कमाएर होइन, खेदिएर। जापानी बमवर्षक विमानहरूले अन्धाधुन्ध बमको वर्षा गर्न थालेपछि बर्मा छाडेर पश्चिमतर्फ लागेको मानव सागरमा मिसिएर उहाँ घर फर्कनुभएको थियो।
एक्लो भएकाले शायद लिखापानी निस्कन जेठाबालाई जयमायाको परिवारलाई जति गाह्रो भएन। तर, पश्चिम नेपाल घर भएका उहाँका लागि त एक हिसाबले लिखापानीबाट बल्ल बाटो शुरू हुन्थ्यो।
यूरोपमा दन्किरहेको दोस्रो विश्वयुद्धको आगोबारे पहाडको कुनामा रहेको बाग्लुङ जिल्लास्थित हाम्रो गाउँ त्यसको केही समय अगाडिसम्म बेखबर जस्तै थियो। तर, त्यो आगोको लप्का अब एशियामा फैलिएसँगै त्यसले सुदूर पहाडस्थित हाम्रो गाउँलाई समेत छाडेन।
पहिले जापानको अन्धाधुन्ध बमबारीसँगै बर्माबाट नेपाली लखेटिएको समाचार गाउँ पुग्यो। जुन परिवारका सदस्यहरू बर्मामा थिए, उनीहरू स्वाभाविक रूपमा आतङ्कित बन्न पुगे। लगत्तै त्यसरी लखेटिनेमध्ये हाम्रा जेठाबा जस्ता भाग्यमानी ज्यान बचाएरै जन्मथलो पुग्न सफल भए।
इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ मा बर्माबाट त्यसरी भाग्दै गरेका नेपाली लगायतका आप्रवासीको अभिलेख छ। त्यसैले पुर्खाले भोगेका अरू धेरै त्रासदीबारे केही थाहा नपाउने हामी त्यो त्रासदीबारे जानकार छौं।
त्यही कथालाई सुनील पोखरेलले गरेको सोही शीर्षकको नाट्य रूपान्तरण मार्फत पनि हामी धेरैले जयमायाको अमर कथा बुझेका छौं। त्यो त्रासद यात्रामा कतिले आफन्तलाई बाटोमा भोकै र रोगी भएर मर्न छाडिदिए, कतिले परिवारको सेवा गर्न पछि छुट्दा आफ्नै ज्यान गुमाए, त्यसको कुनै लेखाजोखा छैन।
इन्द्रबहादुर राईको कथामा जयमायाका बाबु सुबेदार शिवजित राईले धेरै दिनसम्म ज्वरोले व्याकुल श्रीमतीलाई बोकेर हिंड्छन्। तर, एक दिन अचानक श्रीमतीको शरीर आङमै सेलाउन थाल्छ। श्रीमती बितिसकेकी हुन्छिन्। सुबेदार्नीको पार्थिव शरीरलाई माटोमा पुरेपछि मानव सागरबीच एक्लिएका बाउछोरी हतप्रभ भएर बसिरहन्छन्।
बिरामी पर्यो भने घुत्रुक्क एक ठाउँमा पल्टेर बिसेक नहुन्जेल सुत्यो, बिसेक लागेपछि उठेर हिंड्यो। त्यसरी सुतेकै वेला पानीको घुट्को पिउन नपाई ज्यान दिने त कति थिए कति!
पछि अरूले डोर्याएर उनीहरूलाई उठाउँछन् र हिंडाउँछन्। बाटोमा पर्ने टकाव खोला पुगेपछि सबै गोर्खालीका सामु अग्निपरीक्षा खडा हुन्छ– बाढी आएको खोलामा हेलिएर ज्यान जोखिममा पार्ने कि खोला घटुन्जेल पर्खेर भोकमरीका कारण ज्यान जोखिममा पार्ने?
सुबेदार राई टकावमा हेलिएर पारि पुग्छन्। तर, वारि छुटेकी छोरी ल्याउन फेरि फर्कन खोज्दा उनलाई खोलाले बगाउँछ। आँखै अगाडि आमा र बालाई गुमाएकी जयमायालाई खोला घटेपछि तरेर जिउँदै लिखापानी पुग्नुको कुनै हर्ष हुँदैन।
सुनील पोखरेलको नाट्य रूपान्तरणमा भने सुबेदार राईको पात्रले बिरामी श्रीमतीलाई घिसार्दा घिसार्दा केही नलागेपछि बिजोग हेर्नुभन्दा बरू बन्दूक पड्काएर उनको इहलीला समाप्त गरिदिन्छन्। ‘गड्याङ्ग!’ बन्दूकको आवाजसँगै नाटकीय समाप्ति हुन्छ।
तिनै कथा र नाटकमा चित्रण गरिएको भीडमा कतै हाम्रा जेठाबाको पनि स्थान थियो। बर्मामै जीवनभर वा अघिल्लो पुस्तादेखि हाड घोटेर जम्मा गरेको सम्पत्ति त त्यहाँबाट हिंड्ने जति सबैले छाडेरै आएका थिए। जो सम्पत्तिको लोभमा त्यहीं बसे, तीमध्ये धेरै जापानी युद्धक विमानले बर्साएका बमका कारण हताहत भए। ती भाग्यमानी थिए, जसले युद्ध शुरू हुनुअगावै बर्मा छाडिसकेका थिए।
एक्लो भएकाले शायद लिखापानी निस्कन जेठाबालाई जयमायाको परिवारलाई जति गाह्रो भएन। तर, पश्चिम नेपाल घर भएका उहाँका लागि त एक हिसाबले लिखापानीबाट बल्ल बाटो शुरू हुन्थ्यो।
आसामको पल्लो छेउनेर रहेको लिखापानीबाट आसाम, मेघालय र अहिलेको बाङ्लादेश वा सिक्किम छिचोलेर बल्ल नेपाल छिर्न सकिन्थ्यो। त्यसपछि नेपाल सीमाबाट बाग्लुङ फेरि एकाध महीनाको बाटो थियो।
कतै मागेर पाइयो भने खाना खायो, नत्र मूल वा खोला खोजेर पानी पियो, हिंड्यो। रात पर्यो भने चौतारीमा, भेटेदेखि कतै गोठ वा छाप्रोको ओतमा आधा सिरक ओछ्यायो, आधा ओढ्यो र सुत्यो। उज्यालो भएपछि फेरि हिंड्यो। बिरामी पर्यो भने घुत्रुक्क एक ठाउँमा पल्टेर बिसेक नहुन्जेल सुत्यो, बिसेक लागेपछि उठेर हिंड्यो। त्यसरी सुतेकै वेला पानीको घुट्को पिउन नपाई ज्यान दिने त कति थिए कति!
जेठाबा घर त फर्कनुभयो तर यसै ‘पाते साँघु’ मा चल्ने भनिएको परिवारमा एउटा खाने मुख थपिएपछि छाक टार्न गाह्रो हुने नै भयो। भकारीमा अन्नको मात्रा कम हुँदै गएपछि खोले वा जाउलोमा पानीको मात्रा बढ्दै जान्थ्यो।
जेठाबा जिउँदै फर्केको उमङ्ग केही दिनमा सेलाएछ। घरमा सदस्य थपिने तर अन्न नथपिने भएपछि खोलेमा पानीको मात्रा बढ्दै गएछ।
जेठाबा नआउन्जेल ठूली हजुरआमाले रन्थनिंदै भन्नुहुन्थ्यो रे– खाली मुख र मुठी मात्रै ल्याएर आइदिए पनि हुने नि! त्यसको अर्थ खाना खाने मुख र काम गर्ने पाखुरा भएको मानिस आए दुःखम्–सुखम् जीविका चल्थ्यो भन्ने उहाँको भाव थियो।
तर, यथार्थको कठोर धरातलमा उभिएर हाम्री हजुरआमा भन्नुहुन्थ्यो रे– त्यसो नभन्नुस् दिदी। खाली आयो भने यहाँ केले पेट भर्ने, केले बिहे गरिदिने!
ओहो, कति क्रूर समयको कथा हो त त्यो! यस्तो समय जहिले सन्तानको मायासित उसको पेट भरिदिने शर्त जोडिएर आउँथ्यो।
जेठाबा जिउँदै फर्केको उमङ्ग केही दिनमा सेलाएछ। घरमा सदस्य थपिने तर अन्न नथपिने भएपछि खोलेमा पानीको मात्रा बढ्दै गएछ। केही समयपछि ठूली हजुरआमाले हाम्री हजुरआमासित साँच्चिकै स्वीकार्नुभएछ– हो रैछ कान्छी, तैंले त भन्थिस् नि मुख र मुठी मात्रै लिएर आएर के गर्नू!
बरु छोरा नफर्केर उतै ज्यान धानिदिएको भए खाना खोज्ने एउटा पेट त घट्थ्यो नि भन्ने आशयको त्यो भनाइ त्यस वेला सधैं जस्तो भोकमरीको ढिकमा बाँच्ने हाम्रो गाउँको हरितन्नम आर्थिक अवस्थाको मापक थियो। त्यस्तो मर्मस्पर्शी वार्तालाप चलेको अहिले ७५ वर्ष मात्रै बितेको छ।
नेपालमा व्यवस्थाहरू परिवर्तन भए पनि मानिसको अवस्था उस्ताको उस्तै छ भन्ने मत अहिले पनि हाम्रो समाजमा निकै बलियो छ। तर, हाम्रा जस्ता पहाडी गाउँका अनुभवले त्यस्तो भन्दैनन्।
...
जेठाबा बितेको धेरै वर्ष भइसक्यो। उहाँको धमिलो चित्र मात्रै छ मेरो स्मृतिमा। सेतै फुलेको कपाल। कानमा समेत झुस्स उम्रेर ठाडो परेका सेता रौं। कमजोर र खिरिलो शरीर। निधारमा टुटिल्को जस्तो मासु पलाएको। झुस्स परेका सेता आँखीभौं। कुप्रो शरीरलाई लट्ठीले सहारा दिंदै हिंड्नुहुन्थ्यो उहाँ।
उहाँका पालाको जस्तो गरीबी अब एकादेशको कथा बनेको छ, कम्तीमा पनि हाम्रो गाउँका लागि। पहाडका गाउँमा अनाजको भन्दा त्यो उब्जाउने पाखुराको अभाव खट्केको छ किनकि युवाहरू सर्लक्कै शहर झरेका छन्। तीमध्ये कतिले शहरबाट सुदूर मरुभूमिमा पुगेर पसिना बगाइरहेका छन्।
अनि तिनको पसिनाको कमाइमा बाँचेका नयाँ पुस्ताका केटाकेटीले गरीबी र सम्पन्नताका नयाँ मानक सिर्जना गरिरहेका छन्। त्यो पुस्ताका लागि गरीबी कस्तो हुन्छ? कोठापिच्छे टेलिभिजन वा व्यक्तिपिच्छे स्मार्टफोन नहुनु? तीव्र गतिको इन्टरनेट नहुनु? अस्ट्रेलिया वा यूरोप जान पुग्ने रकम नहुनु?
यस्तो नयाँ खाले गरीबी छल्नका लागि जेठाबाको एउटै छोरा इराक पुग्नुभयो। जेठाबा जीविकाका लागि बर्मा पुगेर जापानी बम छल्न त्यहाँबाट भाग्नुभएको थियो। दाइ इराकमा बम फालेर अतिक्रमण गरेको अमेरिकी फौजको काम सघाएर दुई पैसा कमाउन त्यहाँ पुग्नुभयो।
राम्रो कमाइ हुने तर असाध्य जोखिमपूर्ण मानिने त्यो काममा जानेमध्ये १२ जना नेपालीलाई इराकका विद्रोहीले सन् २००४ मा बीभत्स रूपमा हत्या गरेका थिए। भाग्यवश दाइ चाहिं राम्रै कमाएर सुरक्षित फर्किनुभयो। हाम्रो गाउँबाट इराक पुगेका अरू केही युवा पनि सुरक्षित रूपमै फर्के।
दाइ फर्कने वेलासम्म आफ्ना सपना पछ्याउँदै दाइको ठूलो छोरा साइप्रस पुगिसकेको थियो। अब उसको विदेश यात्रामा बल्ल हजुरबाको पालामा झैं भोकमरी वा बाको पालामा झैं भीडन्त वा बम आक्रमणको छाया थिएन।
त्यसैले पनि नेपालीहरू सधैंभर विदेशिइरहन्छन् भनेर चिन्ता गर्नुभन्दा विदेशिएर कति सुबिस्तासित जीविका चलाउन पाउँछन् भनेर चिन्ता गर्नु बढी महत्त्वपूर्ण भएको छ।
उतै घरजम गरेको भतिज अद्यापि साइप्रसमा श्रमशील छ। उसका सिप्रियोट–नेपाली सन्तानका लागि जिजुबाको बर्मा–बाग्लुङ यात्रा कुनै दन्त्यकथाभन्दा कम लाग्ने छैन।
यसरी पुस्तान्तर हुँदै जाँदा हाम्रा जेठाबाको परिवारको आप्रवासन र जीविकाको खोजी संयोगान्त बनेको छ। जेठाबा बर्माबाट सुरक्षित भाग्नसक्नु र दाइ इराकबाट सुरक्षित फर्कन सक्नुले भतिजका लागि दक्षिण यूरोपको टापु देश साइप्रसमा सम्मानजनक जीविका खोज्न सम्भव बनाएका हुन्।
मलाई लाग्छ, बर्मादेखि इराक र साइप्रससम्म पुगेर जेठाबाको तीन पुस्ताले भोगेको अनुभव पनि हामी गाउँलेको र हाम्रो गाउँको इतिहासको अनिवार्य पाटो हो।
(लेखक क्षेत्रीको पुस्तक ‘नुन-तेल: विगततिरको पदयात्रा’ को अंश।)