कथा कुसुन्डा
आदिवासी इतिहास र ज्ञान सामाजिक बहिष्करणका कारण कसरी लोप हुन्छन् भन्ने उदाहरण कुसुन्डा जातिको कथाले दिएको छ।
लोपोन्मुख आदिवासी जनजातिमा पर्छ, कुसुन्डा। राउटेसँगै कुसुन्डालाई दक्षिणएशियाकै अन्तिम शिकारी-संग्रही जाति भनिएको छ, तर वनमा बस्ने र जङ्गली जनावरको शिकार गरी जीवन धान्ने यो घुमन्ते जाति पछिल्लो समय खिइँदै गएको छ। २०६८ सालको जनगणना अनुसार, देशभर कुसुन्डाहरूको संख्या २७६ मात्र थियो। यो जातिको भाषा निकै सङ्कटमा छ। मातृभाषा कुसुन्डा भएका दुई जानकारमध्ये ज्ञानीमैयाँ सेनको २०७६ माघ ११ मा मृत्यु भइसकेको छ भने अब एक मात्र मातृभाषी वक्ता छिन् कमला खत्री।
कुसुन्डा जाति र यसको भाषा धेरै कारणले विशेष छन्। भाषाविद् माधवप्रसाद पोखरेल भन्छन्, “कुसुन्डा जस्तो जाति संसारमै अर्को छैन। उनीहरू बगेको पानी खाँदैनन्, कुवाको पानी मात्रै खान्छन्। उनीहरू गाई छुँदैनन्, गाईको दूध पनि खाँदैनन्। आहाराका लागि गोहोरो, भार्से र मलसाँप्रोको शिकार गर्छन्। रक्तपरीक्षणबाट उनीहरू पूर्वी प्रशान्त महासागरका भएको अनुमान गरिएको छ।”
उनीहरूको भाषा पनि शब्द र व्याकरणका आधारमा संसारमै अरूसँग नमिल्ने खालको छ। पोखरेलका अनुसार, कुनै पनि भाषा परिवारमा नपर्ने यस्तो भाषालाई ‘ल्याङ्ग्वेज आइसोलेट’ (एक्लो भाषा) भनिन्छ। आदर्श बहुमुखी क्याम्पस, धादिङद्वारा प्रकाशित एएमसी जर्नलको भाग १, अङ्क १ (सन् २०२०) मा प्रकाशित ‘कुसुन्डा भाषा-संस्कृति लोपोन्मुख हुनाका कारणहरू’ लेखमा नारायणप्रसाद अधिकारी र अन्य केही अध्येताले यो भाषा नेपालमै पाइने भोट बर्मेली भाषा परिवारसँग मिल्दोजुल्दो भएको पनि लेखेका छन्। तर, धेरैको मतमा यो भाषा एक्लो नै हो।
भाषाविद् पोखरेल भन्छन्, “कुसुन्डा भाषामा थुप्रै विशेषता छन्। कुसुन्डा वनमा बस्छन्, तर उनीहरूको भाषामा हरियो भन्ने शब्दै छैन। अरू भाषामा नपाइने फरक खालको सर्वनामीकरण पनि यसमा छ। मेरो हात भन्नुपरेमा ‘तावइ’, तिम्रो हातलाई ‘नावइ’ र उसको हातलाई ‘गिनावइ’ भनिन्छ।”
बेलायतबाट प्रकाशन हुने भाषा सम्बन्धी पत्रिका बाबेलको फेब्रुअरी २०२० अङ्कमा उदयराज आले र टिम बोट लिखित लेखमा यो भाषामा दक्षिणएशियामै अरू भाषामा नभएका ध्वनिहरू भएको उल्लेख छ। ‘यी ध्वनि ककेसियन (ब्ल्याक सी र क्यास्पियन सीको बीचमा बोलिने), सेमाइटिक (उत्तर अफ्रिका र पश्चिमएशियामा बोलिने) र उत्तर-पश्चिमी प्रशान्तीय भाषामा सामान्यतया पाइए पनि दक्षिणएशियामा शून्यप्रायः छ,’ लेखमा भनिएको छ।
संसारका अन्य कुनै जातिसँग जातिशास्त्रीय र भाषावैज्ञानिक दृष्टिले तुलना गर्न नसकिने कुसुन्डा कसरी नेपाल आइपुगे? बाबेलको लेखमा कुसुन्डाहरू अफ्रिकाबाट बाहिरिने निकै पुरानो मानव समूहका अवशेष हुन् भन्ने अनुमान गरिएको उल्लेख छ। लेखमा भनिएको छ, ‘अफ्रिकाबाट खाडी क्षेत्र र दक्षिणएशिया हुँदै अस्ट्रेलिया पुग्ने आदिमानव समूहको एक झुन्डमध्ये उनीहरू हुन सक्छन्। यो समूह विगतमा धेरै ठूलो भूभागमा बसोबास गर्थ्यो, तर कालान्तरमा अरू भाषी समूहमा यो समूह मिसियो वा अरू समूहले यसलाई विस्थापित गर्यो।’
कुसुन्डाहरू आफूलाई म्याक वा गेम्येहाक भन्छन्। कुसुन्डा भाषामा गे भनेको वन र म्याक भनेको बाघ हो, अर्थात् वनको राजा।
अध्येता नारायणप्रसाद अधिकारीका मतमा यो जातिमा मानव जातिकै प्रारम्भिक अवस्थाको प्रतिनिधित्व गर्ने संस्कार थियो। के कुसुन्डाको उत्पत्ति मिथकमा यी कथा छन्? पोखरेलले उल्लेख गरेको पूर्वी प्रशान्त महासागरका आदिवासी मानिसहरूसँग उनीहरूको सम्बन्ध ती कथामा भेटिन्छ? के यो सम्बन्धले पृथ्वीमा त्यो आदिमानव समूह कता कता पुग्यो भन्ने थाहा पाउन सकिन्छ? संसारमै विशिष्ट यस जातिबारे यस्ता धेरै प्रश्नको उत्तर उनीहरूको मौखिक इतिहासले दिन सक्छ कि भन्ने जिज्ञासा उब्जिन्छ। तर, उनीहरूको इतिहास, पुराकथा वा मिथक, कथन केही पुस्ताअघि नै हराइसकेको पाइन्छ।
उदयराज आलेको पुस्तक गेम्येहाकमा कुसुन्डा जातिको उत्पत्तिबारे रामायणसँग जोडिएको एउटा मिथक सङ्कलित छ। मानवशास्त्री डोरबहादुर विष्टको पुस्तक सबै जातको फूलबारीमा कुसुन्डाको आफ्नै खण्ड नभएर चेपाङबाट साभार गरिएको यो मिथकको संक्षेप यस्तो छः
वाल्मीकि आश्रममा सीताले लोहोरी नामको छोरो जन्माइन्। छोरोलाई कोक्रोमा राखेर उनी कतै गएकी थिइन्। त्यही वेला एउटा बाँदर आफ्नो बच्चासँग खेलेको सीताले देखिन्। उनले पनि लोहोरीलाई उठाएर ल्याई खेलाउन थालिन्। कोक्रोमा लोहोरीलाई नदेखेपछि वाल्मीकि आत्तिए, र आफ्नो तपोबलले कुशबाट एउटा बालक बनाएर कोक्रोमा राखिदिए। सीता फर्कंदा अर्को पनि बच्चा देखेर छक्क परिन्। त्यसलाई पनि आफ्नै बच्चा जसरी हुर्काइन्। कुशले बनेकाले त्यो बच्चाको नाम कुशरी भयो, र त्यसैका सन्तान कुसुन्डा हुन्। लोहोरीका सन्तान चेपाङ भएको मानिन्छ।
मूलधारको हिन्दू समाजबाटै टाढा रहेको कुसुन्डा जातिको उत्पत्ति-मिथकमा हिन्दू कथा कसरी जोडिन पुग्यो? यो मिथकबारे सोध्दा पाका कुसुन्डाहरू यसलाई अस्वीकार गर्छन्। नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले यो कथनले कुसुन्डासँग कुनै सरोकार नराख्ने बताएको आलेले पुस्तकमा लेखेका छन्।
कुसुन्डाको यो मिथक मात्र नभएर कुसुन्डा नाम पनि यो समुदायमाथि थोपरिएको देखिन्छ। आलेको भनाइमा कुसुन्डा भाषामा कुसुन्डा भन्ने शब्द नै छैन, उनीहरू आफूलाई म्याक वा गेम्येहाक भन्छन्। “हामी कुशबाट बनेका कुशारी होइनौं भनेर ज्ञानीमैयाँ सेन र अरू थुप्रै पाका कुसुन्डाले बताएका छन्,” उनी भन्छन्। कुनै पनि घटनामा मिथक बनाउने र जोड्ने चलन अनुसार हिन्दू मिथक पढेका अनुसन्धाताले यो जोडिदिएको हुन सक्ने उनको अनुमान छ।
छोपिएको ‘गेम्येहाक’ चिनारी
‘कुश’ शब्द कुसुन्डासँग मिल्न गएकाले यो समुदायलाई रामायणसँग जोड्ने सन्दर्भ बनेको अनुमान गर्न सकिन्छ। तर, आफूलाई ‘गेम्येहाक’ भन्ने समुदायको नाम नै कसरी कुसुन्डा रहन गयो भन्ने प्रश्न पनि उब्जिन्छ। यो प्रश्नको उत्तर यसै शब्दको प्रचलित अर्थ र प्रयोगमा खोज्न सकिन्छ। गाउँघरमा गाली गर्दा ‘कुसुन्डो’ शब्दलाई असभ्य, जङ्गली वा कुरो नबुझ्ने अर्थमा प्रयोग गरिन्छ। यो अर्थ बृहत्तर रूपमा धेरै ठाउँमा प्रयोग गरिन्छ। मध्यपहाडी क्षेत्रमा गुरुङ र मगर समुदायमा प्रचलित घाटु नाचमा पनि ‘कुसुन्डा घाटु’ खण्ड पाइन्छ, जसमा नाचका नायक राजा पश्रामु जोगी भएर धुस्रेफुस्रे स्वरूपमा जङ्गलमा भौंतारिन्छन्, मागी हिंड्छन् र हरिणको शिकार गर्छन्।
धर्मराज थापा, मुकुन्द शर्मा लगायत लोकगीतका अध्येताले लोकगीतहरूमा कुसुन्डा शब्द यही अर्थमा प्रयोग गरेको, वर्णन गरेको आलेले लेखेका छन्। नेपाली बृहत् शब्दकोश (दशौं संस्करण, २०७५) ले पनि यही अर्थलाई स्थापित गर्दै कुसुन्डोको दोस्रो अर्थमा ‘असभ्य’ उल्लेख गरेको छ। यो शब्दको पहिलो अर्थमा भने ‘काठमाडौंको पश्चिम-दक्षिणको जङ्गली भेगमा बस्ने अचेल खिइँदै गएको घुमन्ता एक जाति’ लेखिएको छ।
नेपाली भाषामा भएको यो शब्दलाई कुसुन्डा जातिको वर्णन गर्न प्रयोग गरियो वा कुसुन्डा जातिको रहनसहन देखेर यो शब्द नेपाली भाषामा आयो? त्यो प्रस्ट छैन। तर, समाजमा गाली गर्न प्रयोग गरिने ‘कुसुन्डो’ शब्दलाई आफ्नो जाति जनाउन शब्दकोशमा प्रविष्टि दिँदा कुसुन्डा जातिले असहज र अपमान महसूस गरेको आलेले लेखेका छन्। कुसुन्डाहरू आफूलाई म्याक वा गेम्येहाक भन्छन्। कुसुन्डा भाषामा गे भनेको वन र म्याक भनेको बाघ हो, अर्थात् वनको राजा।
कुसुन्डाहरू एकत्रित नबसी विभिन्न ठाउँमा छरिएर बसेकाले उनीहरूको भाषा र संस्कृति छिन्नभिन्न भएको देखिन्छ।
आफूलाई वनराजा भन्ने समुदायको प्रकृति, जीवन र मूलधारको समाजप्रतिको दृष्टिकोण कस्तो थियो होला? गाउँ वा शहरमा बस्ने सामाजिक प्राणीहरूको भन्दा त फरक नै थियो होला। तर, त्यसबारे हामी अब अनुमान मात्रै गर्न सक्छौं। किनकि हिन्दू कथासँग जोडिएको कुशारीको मिथक हावी भइसकेको छ।
ज्ञानीमैयाँ र अरू पाका कुसुन्डाहरूले कुशारीको मिथक अस्वीकार गरेको तर त्यसको ठाउँमा आफ्ना कथाहरू के थिए भनेर सोध्दा भन्न नसकेको आले बताउँछन्। त्यसैगरी आलेले कुसुन्डा भाषाका गीत, नाच वा अरू कलाको सङ्कलन गर्न खोज्दा कसैले पनि सम्झन नसकेको बताएका छन्। “कुसुन्डा भाषामा ‘गीत’ र ‘नाच’ जनाउने शब्दहरू छन्। जङ्गलमा कुनै खुशीयालीको समयमा उनीहरू नाचगान गरेको सम्झना पनि गर्छन्। तर, ती गीत के थिए भनेर सोध्दा उनीहरूले नेपाली गीत नै सुनाए,” आले भन्छन्।
आज कुसुन्डाहरू थोरै संख्यामा दाङदेखि गोर्खासम्म विभिन्न जिल्लामा फैलिएका छन्। अधिकारी लेख्छन्, ‘कुसुन्डाहरू आफ्नो पुर्खा पूर्वतिरबाट आएको र अर्घाखाँचीको बलकोट र चुत्राबेसी तथा पाल्पाको मगरातमा पहिले आफ्ना पुर्खा भएको दाबी गर्छन्। त्यही ठाउँबाट घुम्दै प्यूठानको तिराम र दाङको अम्बापुरमा केही समय फिरन्ते हुँदै घरबारे कुसुन्डा भएको पाइयो। नेपालका लागि तत्कालीन ब्रिटिश भारतका आवासीय प्रतिनिधि ब्रायन हज्सनले सन् १८७० मा लेखेको एउटा निबन्धमा चेपाङ, कुसुन्डा र हायुहरू एकै प्रजातिका रहेको उल्लेख गरेका छन्। यी तीनै प्रजातिका मानिसहरूको शारीरिक बनावट र भाषाबीच समानता भेटिने भएकाले हज्सनले यी प्रजाति भुटानका ल्होपाहरूको हाँगो हुनुपर्छ भनेका छन्। यस आधारमा चेपाङ र कुसुन्डाहरू सबै ठाउँमा पूर्वबाट पश्चिमतिर स्थानान्तरण हुँदै गएका हुन्।’
कुसुन्डाहरू एकत्रित नबसी विभिन्न ठाउँमा छरिएर बसेकाले उनीहरूको भाषा र संस्कृति छिन्नभिन्न भएको देखिन्छ। विभिन्न कारणले वन छाडेर गाउँ पस्न थालेसँगै कुसुन्डा समाज टुक्रिन थाल्यो। “कुसुन्डाहरू वनमा घुमन्ते जीवन बाँच्ने क्रममा खानेकुरा, शिकार पाइन्जेल एक ठाउँमा बस्ने र सकिएपछि अर्को ठाउँमा सर्ने गर्थे। सरकारले वनको प्रयोगमा कडाइ गर्न थालेपछि उनीहरूको यो जीवनशैली कठिन हुन थाल्यो।
“विद्यार्थीहरूले भाषा त सिके, तर घरमा गएर दोहोरो बोल्ने कोही नहुँदा यो भाषाको प्रयोग बढ्न सकेको छैन। त्यसैले अब परिवारहरूलाई नै यो भाषा सिकाउनुपर्ने हुन्छ।”
अर्कातिर जनसंख्या घट्न थाल्यो, बिहेबारीमा समस्या हुन थाल्यो। उनीहरू गाउँलेसँग बिहे गरेर गाउँघरमै बस्न थाले,” आले भन्छन्। कुसुन्डा भाषा-संस्कृति लोपोन्मुख हुनुमा विकासको गति, समयको परिवर्तन, सामाजिकीकरण, वन विनाश, जीवनयापन गर्न कठिनाइ, गैरप्रजातीय विवाह प्रणाली, असंगठित तथा स्वयम् कुसुन्डाहरूकै विकासको गतिमा ह्रास र उनीहरूको परम्परागत धारणा प्रमुख कारक तत्त्व रहेको अर्का अध्येता अधिकारीले उल्लेख गरेका छन्।
गाउँलेसँग बिहेबारी गर्न थालेपछि कुसुन्डाहरूले आफ्नो पहिचान लुकाउन थालेका कारण उनीहरूको संख्या घटेर लोपोन्मुख हुने अवस्था आएको हो। आलेका अनुसार, कुसुन्डा भनेर चिनाउँदा गाउँलेहरूले हेप्ने भएकाले उनीहरूले आफूलाई ठकुरी भनेर स्थापित गर्न थालेका थिए, अधिकांश कुसुन्डाले आफ्नो नाम सेन, शाही र खान लेख्न थालेका थिए। मगर, कुमाल आदि जातिका मानिससँग विवाह गरेपछि उनीहरूका सन्तानले पनि त्यस्तै थर राख्न थालेका छन्।
संरक्षणको प्रयास
पछिल्लो समय भने सरकारले कुसुन्डा जाति र भाषा संरक्षण गर्न केही प्रयास गरेको छ। भाषा आयोगको पहलमा उदयराज आलेले ज्ञानीमैयाँ सेन र कमला खत्रीलाई स्रोतव्यक्ति बनाएर कुसुन्डा भाषाको कक्षा तीन चरणमा चलाइसकेका छन्। जसमा २० विद्यार्थीमध्ये अधिकांश कुसुन्डा छन्। एक हुन्, कक्षा १२ मा अध्ययनरत हिमा कुसुन्डा (२०)। हिमाका हजुरबुबा र बुबा कुसुन्डा थिए भने आमा विश्वकर्मा हुन्। “अरू जातका मान्छेले आफ्नो भाषामा बोल्दा मलाई आफू पनि आफ्नै भाषामा बोल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। त्यसैले कुसुन्डा भाषा सिक्ने मौका पाउँदा सिकिहालें,” उनी भन्छिन्।
हिमाका हजुरबुबा र बुबा बितिसके। घरमा कुसुन्डा भाषा जान्ने उनी र उनकी बहिनी मात्र भएकाले दुवैले मिलेर अरूहरूलाई यो भाषाका शब्द सिकाउने गरेका छन्। हिमाले त कुसुन्डा भाषामा गीत लेखेर गाएकी पनि छिन्। भाषा कक्षाले कुसुन्डा भाषाको आयु केही लम्ब्याए पनि यसलाई बचाइराख्न थप कक्षा आवश्यक हुने उनी बताउँछिन्। “विद्यार्थीहरूले भाषा त सिके, तर घरमा गएर दोहोरो बोल्ने कोही नहुँदा यो भाषाको प्रयोग बढ्न सकेको छैन। त्यसैले अब परिवारहरूलाई नै यो भाषा सिकाउनुपर्ने हुन्छ,” उनी भन्छन्।
केही वर्षदेखि सरकारले यो जातिलाई सामाजिक सुरक्षा भत्ता पनि दिन थालेको छ। यसबाट समाजमा हेलाहोचाको डरले थर लुकाउने गरेका कुसुन्डाहरू आफ्नो मूल पहिचानमा फर्कन थालेका छन्। हिमा भन्छिन्, “कुसुन्डा बच्चा जन्मिने बित्तिकै जन्मदर्ता गराएपछि नै मासिक चार हजार रुपैयाँ भत्ता पाइन्छ। यसले गर्दा पहिले सेन, शाही, ठकुरी थर लेखाउने धेरै मान्छेले आफ्नो मूल थर कुसुन्डा लेखाउन थालेका छन्,” हिमा भन्छिन्।
सामाजिक सुरक्षा भत्ताबाट कुसुन्डाहरूको गुमेको नाम केही मात्रामा फर्किंदै छ र भाषा कक्षाबाट कुसुन्डा भाषाको आयु पनि केही लम्बिएको देखिन्छ, तर यो समुदायमा भएको विशेष ज्ञान र इतिहास फर्किने अवस्था छैन। कुसुन्डा अगुवाले आफ्नो ज्ञान हस्तान्तरण नगर्दा उनीहरूको मृत्युसँगै धेरै थोक लोप हुँदै गएको छ। “जङ्गलमै बस्ने हुनाले कुसुन्डाहरूमा जङ्गल, वन्यजन्तु, जडीबुटी र प्रकृतिको विशेष ज्ञान थियो। उनीहरू कालिज मार्दैनथे, पासो लगाएर समाउँथे। ज्ञानीमैयाँ सेनले जडीबुटीबाट सानोतिनो बिमार आफैं निको पार्नुहुन्थ्यो। तर, ज्ञान बाँड्यो भने काम लाग्दैन भनेर उहाँले मलाई बताउनुभएन र त्यो लोप भयो,” आले भन्छन्।
(भट्टराई स्वतन्त्र पत्रकार तथा लोकसाहित्य अनुसन्धाता हुन्। ‘अनुश्रुति’ स्तम्भ मार्फत उनले नेपालका आदिवासी समुदायका भाषा र ती भाषासँगै जोखिममा परेका साहित्य, संस्कृति र ज्ञानबारे शृङ्खलाबद्ध चर्चा गर्नेछिन्। -सं.)