महीनावारीबारे प्रश्न सोध्दा जब किशोरीले मुख छोपे...
घुम्न गएका वेला महीनावारीबारे प्रश्न सोध्दा किशोरीले मुख छोपेको घटनाले काठमाडौंकी २० वर्षीया श्रीती केसीको मन मात्रै कुँडिएन, विकट गाउँमा गएर किशोरीहरूलाई सघाउने साहस पनि आयो।
तपाईहरूमध्ये महीनावारी हुँदा कति जनालाई घरवाहिर निकालिएको थियो?
यो प्रश्नले दोलखाको हिमालय माविको कक्षाकोठामा सन्नाटा छायो। पहिलो पटक यस्तो प्रश्नको सामना गर्नु परेकाले किशोरीहरू चुपचाप लागे। केहीबेर अवाक भएर एकअर्कालाई हेरे। कोही लजाए भने कोही मुख छोपेर हास्न थाले।
केही समयपछि एक छात्राले हात उठाइन्। काँम्दै गरेको हातले माइक्रोफोन समातेर बोलिन्, “मिस, मलाई सात दिन घरबाहिर राखिएको थियो। दाजुभाइ र घरको धुरी पनि हेर्न दिइएको थिएन।”
उनी बोलेको देखेर होला, अरू पनि कानेखुशी गर्न थाले। अर्की छात्रा बोलिन्, “मिस, मलाई पनि त्यसरी नै आन्टीकहाँ एक साता राखियो। हामी पनि घरभित्रै बस्यौं। यसबारे हामीलाई कसैले सोधेन। अहिले पनि यो कुरा गर्न डर लाग्छ।”
यो ६ महीनाअघि कुरा हो। काठमाडौंको नेशनल कलेजमा स्नातक अध्ययनरत श्रीती केसीले आयोजना गरेको ‘प्रोजेक्ट माया’ कार्यक्रममा सहभागी किशोरीसँगको संवाद थियो। त्यस दिन केसी दोलखाको खोपाचांगुस्थि हिमालय मावि पुगेकी थिइन्, किशोरीलाई प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी दिन, सेनेटरी प्याड, कपडा र स्वास्थ्य सामग्री वितरण गर्न।
प्रजनन स्वास्थ्य र महीनावारी विषयमा छलफल चलाउँदा किशोरीले पाएको दुःख देखेपछि श्रीतीलाई पनि पीडाबोध भयो। त्यसपछि उनी प्रजनन स्वास्थ्य र महीनावारीका विषयमा जानकारी दिन थालिन्। “आफूजस्तै किशोरीहरूलाई प्रजनन स्वास्थ्य र महीनावारीबारे जानकार बनाउन पाउदा गर्व पनि महसूस हुन्छ,” श्रीती भन्छिन्।
काठमाडौंमा अध्ययनरन विद्यार्थी ‘प्राजेक्ट माया’ लिएर दोलखाको हिमालय माविमा कसरी पुगिन्? यस पछाडिका केही घटना छन्।
२० वर्षीया श्रीती नयाँ ठाउँ घुम्न रुचाउँछिन्। यहि रुचिले उनलाई हिमालय माविमा कार्यक्रम गर्नुभन्दा ठिक तीन महीनाअघि दोलखाको विगु नगरपालिका पुर्याएको थियो। मेथ्याङ पर्म कल्चरल फार्ममा रात बिताएर उनी बिहानैबाट गाउँघर घुम्न निस्किइन्। त्यही क्रममा स्थानीय बासिन्दासँग गफगाफ गर्न थालिन्।
त्यहाँका विद्यालय र विद्यार्थीसँग महीनावारी र प्रजनन स्वास्थ्यको ज्ञानबारे बुझ्न खोजिन्, तर कोही पनि बोल्न मानेनन्। गत असारको यो त्यो यात्रा सम्झिँदै श्रीती भन्छिन्, “शिक्षकशिक्षिका पनि यस विषयमा बोल्न खोज्दा लजाए। विद्यार्थी बोलेनन् र अभिभावक त झनै भाग्ने खोजे। अझ किसोरीहरूको अवस्था कस्तो होला भन्ने लाग्यो।”
आफू बसेको फर्मका मान्छेहरूसंग सोधपुछ गरिन्। यो गाउँमा थामी समुदायको बाहुल्यता रहेको जानकारी पाइन्। यससँगै महीनावारीमा हुँदा किशोरीहरूलाई आफन्तकहाँ पठाउने, विद्यालय जान रोक्ने र स्वास्थ्यको ख्याल नराख्ने गरेको थाहा पाइन्।
अनि त उनलाई जनचेतनामूलक कार्यक्रम गर्न हुटहुटी चल्यो। काठमाडौं फर्किएपछि जब कलेज गइन्, आफूले पाइरहेको सुविधा र दोलखाका किशोरीले विताइरहेको जीवन सम्झेर मन कुडिएको उनी बताउँछिन्। “धेरै गर्न नसके पनि स्वास्थ्य सामग्री र यसबारे जानकारी बाड्न आवश्यक छ भन्ने लाग्यो,” श्रीती भन्छिन्।
कलेज प्रशासन र विद्यार्थीसँग छलफल गरिन्। कलेजले गाडी र स्वास्थ्य सामग्री सहयोग गर्ने भयो भने विद्यार्थीले कपडा सहयोग जुटाए। त्यस्तै, गणेश अपाङ्ग संघले पुनःप्रयोग गर्न मिल्ने प्याड सहयोग गर्यो। त्यसपछि उनी आफ्नो ‘पकेट’ खर्चबाट जोगाएको पैसा पनि खन्याएर दोखलातिर लागिन्।
उनको टोलीले २०७८ असोज १ गते दुई सयभन्दा बढी विद्यार्थीको सहभागितामा कार्यक्रम गर्यो। कपडा, सेनेटरी प्याड, शैक्षिक र स्वास्थ्य सामग्री वितरण गर्यो भने प्रजनन स्वास्थ्य र महीनावारीका विषयमा जानकारी दियो।
तीन स्थानीय किशोरीसँगै घुलमिल भइन्। त्यसपछि मात्र कक्षा ८ देखि १२ सम्मका छात्राले महीनावारीको समयमा कपडा पनि लगाउन नपाएको, घरबाहिर रहनुपरेको, स्वास्थ खाना र परिवारको स्नेह पनि नपाएको सुनाए। यसरी सुनाउनेमध्ये थामी समुदायका किशोरी पनि थिए। उनीहरूका अभिभावकसँग पनि छलफल गर्न खोजेकी थिइन्, तर सकिनन्। “शिक्षकशिक्षिका पनि महीनावारी अभिमुखिकरण कार्यक्रम भनेर हाम्रो कोठामा पनि छिर्न मान्नु भएन,” श्रीती भन्छिन्, “झन अभिभावकको अवस्था के होला?”
यो तीन दिनको बसाइपछि उनलाई वास्तविक देश र समाज यस्तो रहेछ भन्ने महसूस भयो। हुन् पनि महीनावारी हुँदा दोलखाको यो क्षेत्रमा किशोरीले पीडा भोग्नुपर्छ। “हाम्रो समाजमा अझै पनि महीनावारीमा गरिने विभेद गलत हो भन्ने बुझाउँनै बाँकी रहेछ,” उनी भन्छिन्।
त्यहि घटनाले उनलाई शिक्षा, स्वास्थ्य र लैंगिक समानताका लागि केही काम गर्नुपर्छ भन्ने सोच आयो। यसलाई मूर्त रुप दिन उनले ‘अञ्जली फाउन्डेशन’ स्थापना गरेकी छन्।
यससँगै दोलखाका ती किशोरीको अनुभव र त्यहाँ अहिलेसम्म गरेको कामको विषयलाई लिएर ‘टेल्स अफ माया’ वृतचित्र पनि बनाएकी छन्। श्रीती भन्छन्, “अब महीनावारी विभेद छैन भन्नेहरूलाई देखाउन हुन्छ र काम गर्दै जाँदा अवश्य परिवर्तन आउला भनेर साक्षी राख्न पनि वृत्तचित्र बनाएका हौं।”