करण केसीले लिए पाँच विकेट
एसीसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनलमा करण केसीले पाँच विकेट लिएपछि कुवेत दबाबमा परेको छ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले ८.३ ओभरमा ३७ रन जोड्दा ६ विकेट गुमाएको छ। नेपालका लागि करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिए।
पहिलो ओभरमा केसीले कुवेतका एड्नान इद्रिसलाई आउट गरे। त्यसपछि अर्को ओभरमा कामीले परविन्दर कुमारलाई एलबीडब्लुको धरापमा पारे।
तेस्रो ओभरमा फेरि केसीले मिट भवसरलाई ललित राजवंशीका हातमा क्याच आउट गराए। राजवंशीले आकर्षक क्याच लिएका थिए।
त्यसपछि पाँचौ ओभरमा रविजा सन्दरुवानलाई आउट गरेका केसीले सातौं ओभरमा सिराज खानलाई आउट गरे। नवौं ओभरमा मोहम्मद अस्लमलाई आउट गरेर केसीले पाँच विकेट पूरा गरे।
अहिले वर्षाका कारण खेल रोकिएको छ। नेपालको इनिङमा पनि वर्षाका कारण खेल रोकिएपछि आठ ओभर घटाइएको थियो।
यसअघि नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर २८१ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल र कुशल मल्लले अर्द्धशतक प्रहार गरे। पौडेलले ९५ बलमा ९४ र मल्लले ४४ बलमा ५७ रन बनाए।
त्यस्तै, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१, आरिफ शेखले १९, सोमपाल कामीले १३, करण केसीले सात, सन्दीप लामिछानेले पाँच, ललित राजवंशीले दुई र भीम सार्कीले एक रन बनाए।
कुवेतका लागि मोहम्मद अस्लम र अड्नान इद्रिसले तीन–तीन तथा यासिन पटेल र सायद मोनिबले एक–एक विकेट लिए।
कुवेतलाई २८१ रनको लक्ष्य मिलेको हो। ओभर घटाइएका कारण डीएलएस मेथडका आधारमा लक्ष्य तय गरिएको थियो।