वर्षाले रोकिएको नेपाल र कुवेतको खेल शुरू
वर्षाका कारण अवरुद्ध भएको नेपाल र कुवेतको खेल शुरू भएको छ।
एसीसी प्रिमियर कप अन्तर्गत काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले ब्याटिङ गरिरहेको छ। अहिलेसम्म २६ ओभरमा नेपालले तीन विकेटको क्षतिमा १५६ रन बनाएको छ।
अहिले रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन्। पौडेल ४२ र मल्ल ४० रन बनाएर खेलिरहेका छन्।
वर्षाले केही समय खेल रोकिंदा पाँच ओभर घटाइएको छ। नेपाल र कुवेतको खेल ४५-४५ ओभरको हुनेछ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो शुरूआत गरे। उनीहरूले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे। भुर्तेलले ४३ र शेखले ३१ रन बनाए।
त्यसपछि भने नेपालले एकपछि अर्को गर्दै तीन विकेट गुमायो। भीम सार्की एक रन बनाएर आउट भए। रोहित पौडेल र कुशल मल्लले नेपालको पारी सम्हालेका छन्।
कुवेतका लागि अड्नास इद्रिसले दुई र मोहम्मद अस्लमले एक विकेट लिएका छन्। टस जितेको कुवेतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।