नेपाल र कुवेतको खेल ४२ ओभरमा झारियो
एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतको खेल ४२ ओभरमा झारिएको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण केही समय खेल रोकिएपछि ४२ ओभरमा झारिएको नेपाल क्रिकेट संघले जनाएको छ। अहिले वर्षा रोकिएको छ भने क्रिजबाट ‘कभर’ हटाउन थालिएको छ।
वर्षाका कारण खेल अवरुद्ध हुँदा पहिलो इनिङको २३.२ ओभर मात्रै भएको थियो। नेपालले तीन विकेट गुमाएर १४१ रन बनाएको थियो। अब त्यहींबाट खेल शुरू हुनेछ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो शुरूआत गरे। उनीहरूले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे। भुर्तेलले ४३ र शेखले ३१ रन बनाए।
त्यसपछि भने नेपालले एकपछि अर्को गर्दै तीन विकेट गुमायो। भीम सार्की एक रन बनाएर आउट भए।
रोहित पौडेल र कुशल मल्लले नेपालको पारी सम्हालेका छन्। मल्लले ३२ र पौडेलले ३० रन बनाएका छन्।
कुवेतका लागि अड्नास इद्रिसले दुई र मोहम्मद अस्लमले एक विकेट लिएका छन्। टस जितेको कुवेतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।