वर्षाले खेल रोकियो, नेपालको १४१ रन
एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालको इनिङ आधा सकिंदा वर्षा भएको हो। एकाएक वर्षा भएपछि नेपाल र कुवेतको खेल रोकिएको छ।
अहिलेसम्म पहिलो इनिङको २३.२ ओभर भएको छ। यसमा नेपालले तीन विकेट गुमाएर १४१ रन बनाएको छ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो शुरूआत गरे। उनीहरूले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे। भुर्तेलले ४३ र शेखले ३१ रन बनाए।
त्यसपछि भने नेपालले एकपछि अर्को गर्दै तीन विकेट गुमायो। भीम सार्की एक रन बनाएर आउट भए।
रोहित पौडेल र कुशल मल्लले नेपालको पारी सम्हालेका छन्। मल्लले ३२ र पौडेलले ३० रन बनाएका छन्।
कुवेतका लागि अड्नास इद्रिसले दुई र मोहम्मद अस्लमले एक विकेट लिएका छन्। टस जितेको कुवेतले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
सेमिफाइनलमा बराबरी वा वर्षाका कारणले नतीजा नआउने अवस्था भएमा दुई सुपर ओभर खेलाइनेछ। त्यसमा पनि नतीजा नआएमा समूह चरणमा अगाडि रहेको टोली फाइनलमा प्रवेश गर्नेछ। समूह चरणमा कुवेतभन्दा नेपाल अगाडि छ।
त्यस्तै, फाइनल खेलका लागि दोस्रो दिन पनि खेल्न सकिने व्यवस्था गरिएको छ। त्यसमा पनि बराबरी भए वा वर्षाका कारण नतीजा नआउने अवस्था भएमा दुई सुपर ओभर खेलाइनेछ। त्यसपछि पनि नतीजा नआएमा प्रतियोगितामा अगाडि रहेको टोलीलाई विजेता घोषणा गरिने क्यानले जनाएको छ।