माइतीघरको सडकमै सुते महावीर पुन
रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले राति पनि माइतीघर मण्डलमा धर्ना जारी राखेका छन्।
अनुसन्धान, नवप्रर्वतन र आविष्कारलाई प्राथमिकतामा राख्ने गरी बजेट विनियोजन गर्न र नीति बनाउन माग गरी वैशाख १५ देखि धर्ना शुरू गरेका पुनले राति पनि माइतीघर मण्डलमै बिताएका हुन्। उनले रात र दिन धर्ना जारी राख्ने जनाएका छन्।
आफ्ना केही सहयोगी सहित माइतीघर मण्डलको सडकमै सुतेका पुनले सामाजिक सञ्जाल मार्फत आफ्नो भनाइ राख्दै माग पूरा नहुँदासम्म धर्ना यथावत् राख्ने जनाएका छन्। उनले भनेका छन, ‘हामी चाहिं माइतीघर मण्डलको सडकमा रातभर सुतेर उठ्यौं। जनता सुतिरहनुहोस् र नेपाल सरकारलाई मजाले सुत्न दिइरहनुहोस्।’
उनले अनुसन्धान, नवप्रर्वतन र आविष्कारमा सहयोग गर्न संघ र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने र त्यो रकम ‘अनुसन्धान, नवप्रर्वतन र आविष्कार कोष’ मा जम्मा गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै, कोषको रकम सहज तरीकाले समयमै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन छुट्टै ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरीद ऐन’ बनाउन पनि सरकारसँग माग गरेका छन्।
अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीतिनियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यकता अनुसारको नीतिनियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने उनको माग छ।
निजी अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यावहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धनका लागि विज्ञान मन्त्रालय अन्तर्गत व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने पुनले माग गरेका छन्। यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई माग बुझाएका थिए। तत्काल माग सम्बोधन गर्नका लागि दबाब दिन धर्ना शुरू गरेको उनको भनाइ छ।