नेपाल फाइनलमा प्रवेशका लागि कुवेतसँग भिड्दै
एसीसी प्रिमियर कपको फाइनलमा प्रवेशका लागि आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतको खेल बिहान ९ बजे शुरू हुनेछ। नेपाल र कुवेत १० वर्षपछि भिड्न लागेका हुन्।
यसअघि दुई देशबीच भएका तीन वटा खेल भएका छन्। जसमा दुई खेल नेपालले जितेको थियो भने एक खेल कुवेतले जितेको थियो।
एसीसी प्रिमियर कपको लिग चरणमा भने दुवै टोलीले राम्रो प्रदर्शन गरेका थिए। समूह विजेता बनेको नेपालले चार खेलमा तीन खेल जितेको थियो भने एक खेल वर्षाले अवरुद्ध भएको थियो। त्यस्तै, समूह उपविजेता बनेको कुवेतले चारमध्ये तीन खेल जितेको थियो भने एक खेलमा हार बेहोरेको थियो।
त्यस्तै, आजै दोस्रो सेमिफाइनल खेल ओमन र यूएईबीच हुनेछ। काठमाडौंको मूलपानी क्रिकेट मैदानमा हुने यो खेल पनि बिहान ९ बजे शुरू हुनेछ।
दुवै टोलीबीच भएका पछिल्ला पाँच खेलमा दुई खेल ओमनले र दुई खेल यूएईले जितेका थिए। एउटा खेल बराबरीमा टुङ्गिएको थियो।
एसीसी लिग चरणमा ओमनभन्दा यूएईको प्रदर्शन राम्रो रह्यो। लिग चरणका चार खेलमध्ये ओमनले दुई खेलमा जित र दुई खेलमा हार बेहोर्यो भने यूएई तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सेमिफाइनलमा पुगेको हो।
सेमिफाइनलमा बराबरी वा वर्षाका कारण नतीजा नआउने अवस्था भएमा दुई सुपर ओभर खेलाइनेछ। त्यसमा पनि नतीजा नआएमा लिग चरणमा अगाडि रहेको टोली फाइनलमा प्रवेश गर्नेछ।
त्यस्तै, फाइनल खेलका लागि दोस्रो दिन पनि खेल्न सकिने व्यवस्था गरिएको छ। त्यसमा पनि बराबरी भए वा वर्षाका कारण नतीजा नआउने अवस्था भएमा दुई सुपर ओभर खेलाइनेछ। त्यसपछि पनि नतीजा नआएमा प्रतियोगितामा अगाडि रहेको टोलीलाई विजेता घोषणा गरिने क्यानले जनाएको छ।