आमाको जस्तै पोषिलो दूध दिने लुलु गाई
मुस्ताङ, डोल्पा र मनाङका रैथाने लुलु गाईको आनुवंशिक अध्ययनबाट लुलु गाईको दूध र आमाको दूधमा पाइने प्रोटिन (ए-२ बीटा केसिन) उस्तै भएको प्रमाणित छ।
अर्को, रैथाने अछामी गाईको दूधका सम्बन्धमा भने अध्ययन भइरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रले जनाएको छ।
यद्यपि, भारतमा जेबु नश्लको गाईको दूधमाथि अध्ययन गर्दा ए-२ बीटा केसिन प्रोटिन रहेको पाइएको थियो। अछामी पनि जेबु जस्तै जुरोयुक्त नश्ल अन्तर्गत भएकाले यसको दूधमा पनि ए-२ बीटा पाइने सम्भावना बढी देखिएको हो। तर, लुलु र अछामी दुवै प्रजातिका गाई लोपोन्मुख छन्।
सामान्यतया जुरो भएका गाईको दूधमा ए-२ बीटा र जुरो नभएकामा ए-१ बीटा केसिन प्रोटिन पाइने वैज्ञानिक मान्यता छ। यसमा आनुवंशिक गुणको प्रभाव रहने आनुवंशिक अनुसन्धान केन्द्रकी वरिष्ठ वैज्ञानिक डा. निना अमात्य गोर्खाली बताउँछिन्। आमउपभोक्ताले उपभोग गर्ने होलिस्टन प्रजातिको गाईको दूधमा ए-१ बीटा केसिनको बाहुल्य हुन्छ भने जर्सी सहितका अरू गाईको दूधमा ए-१ र ए-२ दुवै प्रोटिन पाइने गरेको छ।
३५ मध्ये ३३ गाईमा ए-२ बीटा
लुलु जुरो नभएको रैथाने प्रजातिको गाई हो। “हामीले गरेको आनुवंशिक अध्ययनबाट जुरो नभए पनि लुलु गाईको दूधमा ए-२ बीटा केसिन प्रोटिनको बाहुल्य प्रमाणित भयो,” डा. गोर्खालीले भन्छिन्, “मुस्ताङबाट १८ वटा र नार्कको गोठमा रहेका १७ वटा लुलु गाईको रगत नमूना लिएर गरिएको परीक्षणमा ए-१ र ए-२ बीटा केसिन प्रोटिनको पहिचान भए पनि ए-२ को मात्रा धेरै पाइएको छ।”
नार्कले सन् २०२० मा प्रकाशन गरेको प्रतिवेदनमा पनि भनिएको छ, ‘अध्ययनले यो सङ्केत दियो कि लुलुमा मुख्य रूपमा ए-२ बीटा केसिन छ। ए-१ ए-१ जीन फ्रिक्वेन्सी ०.०, ए-१ ए-२ को ०.०६ र ए-२ए-२ को ०.९४ पाइयो।’
प्रतिवेदन अनुसार अनुसन्धान गरिएका ३५ मध्ये ३३ गाईको दूधमा ए-२ प्रोटिन र दुई वटामा ए-१ र ए-२ दुवै पाइएको छ। तर, ए-१ मात्रै एउटामा पनि नपाइएको डा. गोर्खाली बताउँछिन्।
अछाम, बझाङ, बाजुरा, डोटी लगायतका जिल्लामा पाइने अछामी गाईको दूधमा हुने प्रोटिनका सम्बन्धमा भने अध्ययन भइरहेको छ। अर्को स्थानीय प्रजाति सिरी गाईका दुई वटा नमूना परीक्षणमा पनि ए-२ प्रोटिन नै पाइएको थियो।
ए-२ प्रोटिनयुक्त दूध किन महत्त्वपूर्ण?
मांसपेशी, छाला तथा रगतको विकासका लागि दूधले महत्त्वपूर्ण तत्त्व प्रोटिन र क्याल्सियम प्रदान गर्छ। त्यसमा पनि ए-१ दूधको तुलनामा ए-२ दूध मानव स्वास्थ्यका लागि बढी गुणकारी हुन्छ। ए-२ दूधको बजार मूल्य पनि बढी पर्छ।
विशेषतः शिशु वा कम उमेरका बालबालिकालाई गाईभैंसीको दूध (ए-१ वा ए-१ ए-२ बीटा) नपच्ने समस्या देखिए तिनलाई ए-२ दूध खुवाउँदा समस्या हुँदैन। ए-२ दूधले बच्चाको वृद्धि विकासमा पनि थप सहयोग गर्ने डा. गोर्खाली बताउँछिन्।
लुलु गाई सम्बन्धी अध्ययनमा संलग्न नार्कका वैज्ञानिक डा. सरोज सापकोटाका अनुसार सामान्य दूध पिउँदा ‘एलर्जिक’ भएमा ए-२ बीटा केसिन प्रोटिनयुक्त दूध लाभदायी हुन्छ।
सन् २०१६ मा न्यूट्रिशन जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा सामान्य गाईको दूध पिउँदा असजिलो महसूस गर्ने व्यक्तिमा ए-२ बीटा केसिन प्रोटिनयुक्त दूध तुलनात्मक रूपमा लाभदायी देखिएको उल्लेख छ। यो तथ्य स्थापित गर्न विस्तारित अध्ययन भने हुनुपर्ने वैज्ञानिकहरूको भनाइ छ।
तर, ए-२ बीटा केसिनयुक्त दूध प्रोटिन तत्त्वका हिसाबले आमाको दूध जस्तै हुने भएकाले विशेष गरी हुर्किंदै गरेका बालबालिकाका लागि उपयोगी हुने डा. सापकोटा बताउँछन्। नेपालका रैथाने लुलु सहितका गाईमा ए-२ को बाहुल्य हुनुले यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिएको नार्कका वैज्ञानिकहरूको तर्क छ।
सङ्कटमा लुलु र अछामी गाई
चिसो ठाउँमा पाइने लुलु र पहाडी हावापानीमा सीमित व्यवस्थापनमा पाल्न सकिने अछामी गाई तुलनात्मक रूपमा थोरै दूध दिने सानो नश्लका गाई हुन्। लुलु गाई कम खुराकमै पाल्न सकिन्छ भने यसले औसत दैनिक डेढदेखि दुई लिटरसम्म दूध दिन्छ। तर, पछिल्ला अध्ययनले गर्मी ठाउँमा पनि यो गाई अनुकूलन हुन सक्ने देखाएका छन्।
तर, लुलु गाईको संख्या भने घट्दो छ। नार्कका वैज्ञानिक डा. सापकोटाका अनुसार यकीन तथ्याङ्क नभए पनि लुलु गाई अब केही हजारको संख्यामा मात्र छ। यसको संरक्षणमा चुनौती छ।
यता अछामी गाई संसारकै सानो नश्लको गाईका रूपमा परिचित छ। एक मिटरभन्दा कम उचाइको यो गाईको शुद्ध नश्ल जोगाउन मुश्किल पर्ने देखिएको नार्कले उल्लेख गरेको छ। सानो गाई वा नौमुठे गाईका रूपमा पनि चिनिने यो नश्लको गाई उकालो, ओरालो, भीर, पाखामा पनि चर्न सक्ने र पाल्न सजिलो हुने सुदूरपश्चिम प्रदेशको कृषि अनुसन्धान निर्देशनालयका प्रमुख मथुरा यादव बताउँछन्।
औसतमा दैनिक दुई लिटरभन्दा कम दूध दिने भएकै कारण अछामी गाई पछिल्ला वर्षमा किसानको रोजाइमा त्यति परेको छैन। तर, पाँच सय वर्षदेखि यो नश्लका गाई पश्चिम नेपालका पहाडी क्षेत्रमा पालिंदै आएको नार्कले जनाएको छ।
अनुकूलनको सम्भावना
डा. गोर्खालीका अनुसार शुद्ध लुलु वा अछामी गाईको नश्ल जोगाउन मुश्किल पर्ने गरेको छ। ललितपुरको खुमलटारस्थित नार्कको गोठ, सुदूरपश्चिम प्रदेशको डोटी तथा चितवनको रामपुरमा अछामी र लुलु गाईको जातीय शुद्धता कायम गर्ने तथा अनुकूलन र आनुवंशिक अध्ययनको काम भइरहेको छ।
दीपायलस्थित सुदूरपश्चिम प्रदेशको कृषि अनुसन्धान निर्देशनालयमा अहिले तीन बहर सहित २० वटा अछामी गाई छन्। “जातीय शुद्धता कायम राख्न सकियोस् र अध्ययन अनुसन्धानका लागि उपलब्ध होस् भनेर हामीले यहाँ नौमुठे गाई पालेका छौं,” निर्देशनालयका प्रमुख यादव भन्छन्, “सडक सञ्जालको विस्तारसँगै यहाँका किसानले धेरै दूध दिने उन्नत जातका गाई ल्याउन थालेपछि अछामी गाई सङ्कटमा परेको छ।”
अछामी गाई पछिल्लो समय अरू नश्लका गाईसँग ‘क्रस’ हुने तथा किसानले धेरै दूध दिने गाई रोज्दा जातीय शुद्धता जोखिममा परेको यादव बताउँछन्। “नार्कले गरिरहेको अध्ययनका लागि निर्देशनालयले सहयोग गरिरहेको छ,” उनी भन्छन्, “पाल्न चाहनेहरूका लागि जातीय शुद्धता कायम गर्ने गरी हामीले गाई पनि उपलब्ध गराउने गरेका छौं।”
बाजुरा र बझाङमा परम्परागत रूपमा पाइने भए पनि डोटीस्थित निर्देशनालयमा अछामी गाई राम्रोसँग हुर्किने तथा उत्पादन दिने गरेको यादवले जानकारी दिए। सुदूरपश्चिमको पहाडी भूभागको अछामी गाई तराईमा पनि अनुकूलन हुन सक्ने देखिएको छ। नार्कले अनुकूलन अध्ययनका लागि केही अछामी गाई चितवनको रामपुर राष्ट्रिय गाई अनुसन्धान कार्यक्रममा पनि पठाएको छ।
तीन वर्षदेखि त्यहाँ अछामी गाईको अनुकूलन सम्बन्धमा अध्ययन भइरहेको छ। “अहिले हामीसँग चार वटा अछामी गाई छन्। उनीहरू यहाँ पनि राम्रोसँग अनुकूलन भएको र उत्पादन पनि सोही अनुसार दिएका छन्,” राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका वरिष्ठ प्राविधिक अधिकृत डा. शिवहरि घिमिरे भन्छन्।
अहिले रामपुरमा १६ वटा लुलु गाई छन्। चितवनमा पनि लुलु गाईले औसतमा दैनिक करीब साढे दुई लिटर दूध दिने गरेको छ। घिमिरे भन्छन्, “अधिकतम साढे चार लिटरसम्म दूध दिएको रेकर्ड छ। यसले चितवनमा पनि उच्च पहाडको रैथाने गाई पाल्न सकिने देखियो।” तर, बढी दूध दिने जर्सी तथा होलिस्टेन सहितका उन्नत प्रजातिका गाईको वर्चस्व भइसकेको र धेरै किसान व्यवसायिक उत्पादनमा लागेकाले रैथाने गाईको महत्त्व तथा यसको दूधबाट हुने फाइदाबारे जानकारी गराउनु पहिलो प्राथमिकता स्थानीय, प्रदेश तथा केन्द्र सरकारको हुनुपर्ने घिमिरेको भनाइ छ।
खुमलटार, रामपुर तथा दीपालयमा रहेका लुलु, अछामी सहितका रैथाने गाईको नश्ल विस्तार तथा उनीहरूका आनुवंशिक अध्ययनको नेतृत्व गर्दै आएकी आनुवंशिक अनुसन्धान केन्द्रकी प्रमुख डा. गोर्खाली अछामी गाईलाई सुदूरपश्चिम, लुलुलाई गण्डकीका माथिल्लो पहाडी क्षेत्र तथा सिरी गाईलाई पूर्वी पहाडको पहिचानका रूपमा अघि ल्याउन सकिने बताउँछिन्।
“सीमित स्रोतमा नार्क मार्फत भइरहेका अध्ययनहरूले लुलु, अछामी सहितका गाईको आनुवंशिक रक्षा तथा उनीहरूको अनुकूलन क्षमता विस्तारित देखाएका छन्,” डा. गोर्खाली भन्छिन्, “दुःखका साथ भन्नुपर्छ, रैथाने नश्लका चौपायाको संरक्षण तथा विस्तारमा सरकारी ध्यान त्यति गएको छैन। जबकि यिनीहरूले पहिचानसँगै पोषण पनि दिने ठूलो सम्भावना छ।”