निको हुन्छ मानसिक रोग
मानसिक रोगलाई व्यक्तिको कमजोरीले नभई जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारणले हुन्छ र यो उपचार गर्दा निको पनि हुन्छ।
त्यसलाई डिप्रेशन भएको रे! त्यत्रो पढेकी मान्छे। जागीर, पैसा, बुबाआमाको काख, दिदीबहिनी, भाइको साथ के पो अपुग होला र! बुढाको कमाइ, त्यस्तो गाडी, घर छ। मान्छेलाई पुगीसरी भयो भने पनि मातिन्छन् भन्थे, त्यही भएको हो।
एउटा पारिवारिक भेटघाटमा एक जना आफन्तले भनेका वाक्य हुन् यी। यत्तिकैमा अर्की एक जनाले पनि थपिन्- ‘मेरो देवरले पनि अघिल्लो साल आत्महत्या गर्नुभयो। डिप्रेशन भएको जस्तो देखिंदैनथ्यो। घरमा त्यस्तो कलह पनि थिएन। समाजमा गण्यमान्य नै थिए। आँट भएको मान्छे जस्तो लाग्थ्यो, तर हुतिहारा रहेछन्।’
लामो समयदेखि मनोवैज्ञानिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको व्यक्ति भएकाले आफन्तहरूका यी कुराले मेरो मन बेचैन भयो। मानसिक स्वास्थ्यप्रतिको उनीहरू जस्ता थुप्रै व्यक्तिको बुझाइलाई सच्याउन आवश्यक ठानेर यो लेख तयार पारिएको हो।
के हो मानसिक समस्या?
मानसिक रोग वा मानसिक समस्या यस्तो अवस्था हो, जहाँ व्यक्तिको भावनात्मक, संज्ञानात्मक, व्यावहारिक पक्षहरूको कार्यक्षमतामा हानि पुग्छ। विभिन्न अध्ययनहरूका अनुसार, कुनै पनि व्यक्ति मानसिक रोगी नहुनु मात्र ऊ मानसिक रूपमा स्वस्थ हुनु होइन। जीवनमा आइपर्ने तनावको सामना गर्न आफूसँग भएको क्षमता प्रदर्शन गर्न सक्नु नै मानसिक रूपमा स्वस्थ हुनु हो। आफैंसँग भएका सबल पक्षहरू पहिल्याउन सक्ने सीप र समाजलाई सकारात्मक गति दिन सक्ने क्षमताको निर्माण गर्न सक्नु नै मानसिक तवरले स्वस्थ हुनु हो।
सामान्यतया मानसिक समस्या दुई किसिमका हुन्छन्। सामान्य भाषामा यिनलाई ‘कडा किसिमको मानसिक रोग’ र ‘सामान्य किसिमको मानसिक रोग’ भन्ने गरिन्छ।
कडा किसिम (साइकोसिस) मा व्यक्ति आफूले गर्ने व्यवहारप्रति जानकार हुँदैन। उसको दिनचर्या पूर्ण रूपमा भङ्ग भएको हुन्छ। सही, गलत, दिन, गते, बार, आफ्नो नाम, नातागोता, बाटोघाटो, आफ्नो अस्तित्व केही पनि थाहा हुँदैन। व्यक्तिको ज्ञानेन्द्रियहरूले काम गर्न सक्दैनन्। यस्ता साइकोसिस पनि धेरै किसिमका हुन्छन्।
सामान्यतया व्यक्तिहरू आफैं वा अरूप्रति विचलित हुने, कार्यभङ्ग वा सोचाइ भङ्ग हुने, कष्टपूर्ण र खतरापूर्ण हुने गर्छन्। कहिलेकाहीं त आफूलाई वा अरूलाई हानि पुर्याउने कार्यमा समेत संलग्न हुन्छन्।
साइकोसिसका कारणहरू विशेषतः जैविक, वंशाणुगत, मनोवैज्ञानिक, वातावरणीय र व्यक्तिका जींवनशैली हुन्।
साइकोसिसका लक्षणहरू
- ह्यालुसिनेशन, इलुजन र डिलुजन हुनु, अरूले नदेखेका कुरा देख्नु, अरूले नसुनेका कुरा सुन्नु, आफूसँग अनौठो शक्ति छ भन्ने भान हुनु, आफूलाई भगवान्को नजिक ठान्ने र सोही अनुरूपको व्यवहार गर्नु।
- अत्यधिक उन्माद (खुशी) हुनु, अत्यधिक ऊर्जावान् हुनु, अत्यधिक आत्मविश्वास देखाउनु, ज्ञान र क्षमताको भण्डार भएको जस्तो गर्नु।
- आफूप्रति वा अरूलाई हानि पुर्याउन कोशिश गर्नु।
- संज्ञानात्मक क्षमतामा तीव्र ह्रास आउनु, सम्झन सक्ने क्षमता गुम्नु, ज्ञानेन्द्रियहरूले राम्रोसँग काम गर्न नसक्नु।
- क्याटाटोनिक व्यवहार जस्तो अत्यधिक ऊर्जावान् भएको जस्तो देखाउनु वा ऊर्जा नै नभएको जस्तो देखाउनु, शारीरिक अङ्गहरूका हलचलमा समस्या देखाउनु, हल्लिरहने वा पक्षाघात भएको जसरी एकै ठाउँमा बस्नु।
- अव्यवस्थित सोचाइ र व्यवहार हुनु।
- नकारात्मक लक्षण जस्तो उत्प्रेरणमा ह्रास आउनु, कुनै पनि कुराबाट आनन्दको महसूस गर्न नसक्नु।
- भावनात्मक संवेगहरूको अनुभव गर्न नसक्नु।
सामान्य किसिमको मानसिक रोगलाई भने न्यूरोसिस भनिन्छ। यो अवस्थामा ज्ञानेन्द्रियहरूले पूर्ण रूपमा काम गर्छन्। व्यक्ति आफ्ना र अरूबारे स्पष्ट हुन्छन्। तर, चिन्तित वा हार मानेको अवस्थामा हुन सक्छन्।
यस्ता व्यक्ति कठिन अवस्थाबाट गुज्रिरहेका हुन्छन्। तर, के समस्या हो भन्ने चाहिं उनीहरूलाई नै थाहा नहुन सक्छ।
न्यूरोसिसका कारण भने दैनिक जीवनका चुनौतीहरू, विविध किसिमका द्वन्द्वहरू, पारिवारिक तथा सामाजिक समस्या, दुर्घटना, हिंसा, नजिकको व्यक्तिको मृत्यु, भावनात्मक सम्बन्ध टुट्नु, व्यक्तिको कमजोर मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणाली, कठिन जीवनशैली आदि हुन्।
न्यूरोसिसका लक्षणहरू:
- दैनिक जीवनमा आइपर्ने चुनौती वा कठिनाइहरू सामना गर्न नसकी चिन्तत हुनु।
- भावना, संवेगहरूको व्यवस्थापन गर्न नसक्नु र भावनात्मक रूपमा कमजोर महसूस गर्नु।
- मनोवैज्ञानिक प्रतिरक्षात्मक प्रणाली कमजोर हुनु।
- व्यक्तिगत समस्या र कार्यस्थलका समस्याहरूलाई व्यवस्थापन गर्न नसक्नु।
- सम्बन्धमा समस्या देखापर्नु।
- आफ्ना कुराहरू प्रस्ट अरूको सामु राख्न नसक्नु, अरूले के सोच्ला भन्ने कुराले पिरोलिनु।
- साइको सोम्याटिक जस्तो लगातार बिरामी परिरहनु, जति डाक्टरकहाँ गए पनि निको नहुनु।
- साथी तथा परिवारको साथबाट आफूलाई अलग राख्नु।
- रिसाउनु, झर्किनु, झन्झट मान्नु, दिक्क लाग्नु, जाँगर नलाग्नु, आफैंमाथि हीनभावना पैदा हुनु, आफैंलाई दोषी ठान्नु।
- निराश हुनु, असहाय महसूस गर्नु, आफूलाई बेकामे ठान्नु।
नदेखिन सक्छन् लक्षण
डिप्रेसन, एन्जाइटी, बाइपोलार डिसअर्डर, मेनिया, स्किजोफेनिया, एन्टी सोसल पर्सनालिटी, हिस्टोइनिक, नार्सिसिस्ट, पारानोइड पर्सनालिटी डिसअर्डर जस्ता मानसिक समस्या व्यक्तिको कमजोरी होइन। उनीहरूले गरेको गल्तीको परिणाम पनि होइन।
जसरी शारीरिक रोग सामान्यदेखि जटिलसम्म हुन्छन्, मानसिक रोग पनि यस्तै हो। समाजमा मानसिक रोगबारे पूर्वाग्रही धारण बनेका छन्।
कतिपय व्यक्ति आफूलाई मानसिक समस्या हुनुपर्ने कारण नै नभएको बताउँछन्। भए पनि यस्तो समस्या हुनुमा आफैं दोषी भएको ठान्छन्। तर, के हामी उच्च रक्तचाप, मधुमेह, थाइरोइड, बाथ, हाडजोर्नी सम्बन्धी समस्या भएमा वा क्यान्सर, ट्युमर आदि भएमा यस्तो रोग लाग्नुपर्ने कारण नै नभएको र लागेको खण्डमा यो आफ्नै दोष भएको भनेर सोच्छौं त? कि हामी यथाशीघ्र उपचारमा लाग्छौं?
कहिलेकाहीं व्यक्तिको पारिवारिक अवस्था, जागीर र अन्य सामाजिक-सांस्कृतिक पक्षहरू एकदमै राम्रो हुँदाहुँदै पनि मानसिक तथा मनोसामाजिक समस्या हुन सक्छ। मानसिक रोगको स्पष्ट कारण हुनुपर्छ भन्ने छैन। यसको कारण थाहा पाउनु चाहिं जटिल कुरा हो।
साधारणतया मानसिक समस्या वा रोग लागेका व्यक्तिको हाउभाउ, व्यवहार दुःखी, मलिन, निराश, असहाय जस्तो देखिन्छ। तर, सबैले यस्तै व्यवहार गर्छन् भन्ने छैन। कहिलेकाहीं यस्ता लक्ष्ण नदेखिन पनि सक्छन्। आफन्तहरूकै माझमा पनि व्यक्ति एक्लो महसूस गर्न सक्छ। विना कारण गहिरो पीडा र दुखाइ महसूस गर्न सक्छ। यस्ता पीडा वरिपरिका व्यक्तिहरूले बुझ्न कठिन हुन्छ। मानसिक स्वास्थ्यबारे यथेष्ट जानकारीको अभावमा व्यक्ति आफूलाई कमजोर भएको ठान्छ।
निको हुन्छ मानसिक रोग
धेरैलाई मानसिक रोग निको हुन्छ भन्ने पनि थाहा छैन। मानसिक रोगलाई व्यक्तिको कमजोरी ठान्ने गरिएको छ। तर, यो कमजोरी नभई जैविक, मनोवैज्ञानिक र सामाजिक कारणले लाग्ने रोग हो। मानसिक रोग धनी-गरीब, महिला-पुरुष, बालक-वृद्ध र जुनसुकै भूगोलका व्यक्तिलाई हुन सक्छ।
मानसिक समस्या हुन नदिन व्यक्तिको मनोवैज्ञानिक प्रतिरक्षा प्रणाली मजबूत बनाउन सकिन्छ। विभिन्न किसिमका कार्यमा संलग्न भएमा, नियमित योगाभ्यास गरेमा, शारीरिक कसरत गरेमा यसबाट सुरक्षित हुन सकिन्छ।
मानसिक रोग नै भएमा अस्पताल जाने, विज्ञ (मनोचिकित्सक) को सल्लाह लिने र उपचार गर्ने गर्नुपर्छ। व्यक्तिगत स्याहार, परिवार तथा साथीभाइको साथ तथा सहयोग पनि महत्त्वपूर्ण हुन्छ।
समाजका नकारात्मक धारणाले गर्दा पूर्ण रूपमा निको हुन सक्ने मानसिक रोगी पनि उपचार गराउन जान सकेका छैनन्। यसमा राज्य संयन्त्रले पनि उत्तिकै ध्यान पुर्याउन आवश्यक छ। यस्ता नकारात्मक धारणा हटाउन विभिन्न तालीम, जनचेतनामूलक कार्यक्रमहरू गर्न सकिन्छ।
सरकारले पनि शारीरिक समस्याका लागि छुट्याए जति बजेट मानसिक समस्याका लागि पनि छुट्याउन आवश्यक छ। सरकारी वा तोकिएका अस्पतालमा मानसिक रोगका औषधिहरू भने निःशुल्क पाइने गरेको छ।
यस्तै, केही संस्था तथा व्यक्तिले निजी स्तरमा तालीम र सचेतनाका कार्यक्रमहरू पनि गरिरहेका छन्। यसले पनि सरकारको काममा मद्दत पुगेको छ।