हत्या आरोप लागेका तीन जनप्रतिनिधि फरार, भारतमा हुनसक्ने प्रहरीको भनाइ
विराटनगर–१४ का समानन्द यादवको हत्या आरोप लागेका विराटनगर महानगरका २ र जहदा गाउँपालिकाका १ गरी तीन वडाध्यक्ष भूमिगत भएका छन् ।
विराटनगर–१४ का वडाध्यक्ष बालदेव यादव, १८ का वडाध्यक्ष सञ्जय साह र जहदा गाउ“पालिका–१ का वडाध्यक्ष प्रदीप यादव समेत सहभागी भएकाे ठाउँमा स्थानीयले समानन्द यादवलाई कुटपीट गरी घाइते बनाएको र पछि उनको अस्पतालमा मृत्यु भएको आरोप छ ।
ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भए पनि प्रहरीले आरोपीलाई पक्राउ नगरी बसेको पीडित पक्ष बताउँछन् । पीडितको मृत्युपछि भने आरोपीहरू भूमिगत रहेकोे बताएर खोजीको बहाना गरिरहेको उनीहरूको आरोप छ ।
विराटनगर– १४ का समानन्द यादवको हत्यामा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिकाका दुई र जहदा गाउँपालिकाका एक वडाध्यक्षलाई मुद्दा चलाइएको छ । आरोपीहरू भारतमा लुकेर बसेको हुन सक्ने प्रहरीको भनाइ छ ।
गत ३२ जेठमा भएको पञ्चेतीमा समानन्दलाई स्थानीयले कुटपीट गर्दा विराटनगर–१४ का वडाध्यक्ष बालदेव यादव, १८ का वडाध्यक्ष सञ्जय साह र जहदा गाउ“पालिका–१ का वडाध्यक्ष प्रदीप यादवसमेत उपस्थित थिए । पीडित यादवको २६ असारमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
“यादवको मृत्यु भएकै रातिदेखि तीनैजना वडाध्यक्ष फरार छन्” मोरङका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुले भने ।
यादवको हत्या आरोपमा तीन वडाध्यक्षसहित ८ जनालाई विपक्षी बनाएर प्रहरीले मुद्दा दर्ता गरेको छ । यादवको अवस्था चिन्ताजनक रहेकै बेला प्रहरीले उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाए पनि पक्राउ भने गरेको थिएन । यादवको मृत्युपछि मात्रै प्रहरीले उनीहरूको खोजी गरे जस्तो गरेको मृतकका छोरा राजेशले बताए ।
राजेशको विवाहको तयारी हुँदै गर्दा केटा र केटी पक्षबीच असमझदारी बढेकाले त्यस दिन वडाध्यक्ष बलदेव यादवको घरमा पञ्चेती डाकिएको थियो । छोरा राजेशले विवाह गर्न अस्वीकार गरेको कुरा समानन्दले पञ्चेतीमा बताएपछि उनलाई कुटपीट गरिएको थियो ।
बाबुसँगै रहेका अर्का छोरा मुकेशले बेहोश अवस्थामा समानन्दलाई अस्पताल लगेका थिए । उपचारमा रु १२ लाख खर्च भएको पीडित परिवारको दाबी छ ।
तीनैजना आरोपी वडाध्यक्ष समाजवादी पार्टीमा आबद्ध छन् । समाजवादी पार्टीका एक जिल्ला नेताले फरारहरू भारतमा आफन्तका घरमा लुकेर बसेको बताए । डीएसपी खिउजुका अनुसार, भारतीय प्रहरीको सहयोगमा पटक पटक खोजतलास गर्दा पनि उनीहरू फेला परेका छैनन् ।
तीनैवटा जोडिएका वडामा यस वर्षको बाढी र डुबानले धेरैजना पीडित भए पनि वडाध्यक्षहरू फरार भएकाले बाढीपीडितहरूलाई राहत लिनको समस्या भएको स्थानीयले बताए ।