राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको चिकित्सकले बताएका छन्।
राष्ट्रपति पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार भइरहेको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आइरहेको जनाएको छ।
उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै नेपाली राजदूतावासले भनेको छ, ‘राष्ट्रपतिज्यूको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।’
अहिलेसम्म गरिएको स्वास्थ्य परीक्षणमध्ये केही रिपोर्ट आएको र केही आउन बाँकी रहेका छन्। अहिलेसम्म आएका रिपोर्ट सकारात्म रहेको जनाइएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल वैशाख ५ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। भारतको एम्स अस्पतालका चिकित्सकसँग परामर्श गरेपछि त्रिवि अस्पतालका चिकित्सकले थप उपचारका लागि भारत लैजान सल्लाह दिएका थिए।
त्यसपछि राष्ट्रपति पौडेललाई वैशाख ६ गते बिहान १० बजे श्री एअरलाइन्सको विमानबाट भारतको दिल्ली लगिएको थियो। एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनित मिश्र नेतृत्वको टोलीले राष्ट्रपति पौडेलको उपचार गरिरहेको छ।