‘अयोग्य लडाकुलाई दुई लाख वितरण गर्ने निर्णय खारेज गर्नुपर्छ’
अयोग्य लडाकुलाई दुई लाख वितरण गर्ने निर्णय खारेज गर्न नेकपा (एमाले)ले माग गरेको छ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरी मुलुकको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा शान्ति प्रक्रिया टुङ्ग्याउने नाममा अयोग्य लडाकुलाई वितरण गर्न नहुने बताए। सरकारले अयोग्य लडाकुलाई दुई लाख दिने तयारी गरेको छ। यस सम्बन्धी कार्यविधि पनि पारित गरिसकेको छ।
एमाले प्रमुख सचेतक गिरीले निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी, शिक्षकको पेन्सन, निजामती कर्मचारीको पेन्सन भुक्तानीमा अपुग, सामाजिक सुरक्षा भत्ताको भुक्तानी बाँकी रहेको, राज्यले तिर्नुपर्ने ऋणको साँवा÷ब्याज भुक्तानी बाँकीलगायत विषयमा अर्बौ रकम अपुग रहेको अवस्थामा राज्यको रकम मनपरि वितरण गर्न नहुने बताए।
स्थानीय तहको सामान्यीकरण बजेट कटौती भएको र सर्वसाधारणले सामान्य जोहोसमेत गर्न नसकेको अवस्थामा अयोग्य लडाकुका चार हजार आठ सयभन्दा बढी व्यक्तिलाई राज्यको कोषबाट रकम वितरण गर्न खोज्नु दुःखद भएको उनको टिप्पणी थियो।
साथै उनले यसअघि माओवादीका लडाकुका नाममा निकासा गरिएको रकमको हिसाबकिताबसमेत स्पष्ट नभएको बताउँदै फेरि रकम वितरण गर्ने निर्णय तत्काल खारेज नभए आन्दोलन गर्ने चेतावनी दिए।
“दुई हजार ४५१ जना लडाकुको नाममा माओवादी नेतृत्वले ९५ करोड लगेको छ। त्यो पैसा कहाँ गयो?,” गिरीले भने, “फेरि लडाकुको नाममा रकम वितरण गर्नु ठीक होइन, तत्कालय यो निर्णय खारेज होस्।”