लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन
लुम्बिनी प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको नेतृत्वमा मन्त्रिपरिषद् गठन गरेका हुन्। नेपाली कांग्रेससँगै नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भएका छन्।
माओवादीबाट धनबहादुर मास्की, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी र लोसपाबाट सन्तोष पाण्डे मन्त्री बनेका हुन्। तीनै जना मन्त्रीको जिम्मेवारी बाँडफाँड गर्न भने बाँकी छ।
यससँगै शुक्रबार मुख्यमन्त्री चौधरी शपथ लिएका छन्। प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
मुख्यमन्त्रीसँगै तीनै जना मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। मास्की दाङ–३ ‘ख’ बाट, चौधरी बर्दिया–२ ‘ख’ बाट र पाण्डे रूपन्देही–२ ‘ख’ बाट निर्वाचित भएका थिए।