‘सांसद कोइरी फरार भन्ने विषयमा सभामुखलाई कुनै जानकारी आएको छैन’
सभामुख देवराज घिमिरेले सांसद लक्ष्मी महतो कोइरी फरार रहेको भन्ने विषयमा कुनै जानकारी प्राप्त नभएको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले प्रतिनिधि सभा सदस्य कोइरीका विषयमा प्रश्न गरेका थिए। अदालतका कैद सजाय सुनाएका सांसद कोइरी फरार रहेको र उनलाई संसदीय समितिमा राखेको विषयमा सांसदहरूले प्रश्न गरेका थिए।
त्यसको जवाफमा सभामुख घिमिरेले सांसद कोइरी फरार रहेको विषयमा आफूलाई कुनै जानकारी नआएको बताएका हुन्। सभामुख घिमिरेले भने, “माननीय लक्ष्मी महतो कोइरीको सम्बन्धमा प्रतिनिधि सभा नियमावली २०७९ सभाबाट पारित भइसकेपछि नियम २४८ सँग सम्बन्धित विषयमा सभामुखलाई कुनै जानकारी प्राप्त नभएको बेहोरा अवगत गराउन चाहन्छु।”
सभामुख घिमिरेले उल्लेख गरेको प्रतिनिधि सभा नियमावलीका नियम २४८ मा सांसद पक्राउ परे वा फरार रहेमा गर्नुपर्ने कारबाहीको व्यवस्था गरिएको छ। यसको उपनियम १ मा कुनै सांसद पक्राउ परेमा सभामुखले संसद्लाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ भने उपनियम २ मा संसद् चालू नरहेको अवस्थमा सभामुखले सूचना टाँस गरेर जानकारी दिनुपर्ने उल्लेख छ।
त्यस्तै, उपनियम ३ मा तीन वर्ष वा त्योभन्दा बढी सजाय हुने अभियोगमा मुद्दा दर्ता भई पुर्पक्षका लागि थुनामा रहेमा वा अदालतको आदेश बमोजिम थुनामा बस्नुपर्ने भए पनि फरार रहेको अवस्थामा निलम्बनमा पर्ने व्यवस्था छ। निलम्बनमा पर्दा राज्यबाट पाउने पारिश्रमिक, सेवा र सुविधा पनि रोकिने व्यवस्था छ।
यस सम्बन्धी अदालत वा प्रहरी कार्यालयबाट कुनै जानकारी प्राप्न नभएको सभामुखले प्रतिनिधि सभालाई बताएका हुन्।
प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था: