परामर्श संयन्त्रको बैठकमा गोर्खा सैनिकका मागबारे छलफल
नेपाल र बेलायतको परराष्ट्र सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा पूर्व गोर्खा सैनिकको मागबारे पनि छलफल भएको छ।
वैशाख १३ गते भएको संयन्त्रको बैठकमा गोर्खा सैनिकको मागबारे अहिलेसम्मका प्रगतिबारे समीक्षा गर्दै थप छलफल गरेर टुङ्ग्याउने सहमति भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।
बेलायती सरह सेवासुविधा पाउनुपर्ने माग गर्दै पूर्व गोर्खा सैनिक लामो समयदेखि संघर्षरत छन्। बेलायती सेनालाई भन्दा ज्यादै कम तलब, पेन्सन लगायतका सुविधा दिएर गोर्खा सैनिकमाथि विभेद भएको उनीहरूको गुनासो छ।
यसबारे सन् २०१८ मा नेपाल र बेलायत दुवै पक्ष सम्मिलित प्राविधिक समितिले गोर्खा सैनिकको माग सम्बोधन गर्नुपर्ने राय सहितको प्रतिवेदन तयार गरेको थियो। तर, प्रतिवेदन कार्यान्वयन भने भएको छैन।
प्रतिवेदन कार्यान्वयनका लागि वैशाख ६ गते लन्डनमा पूर्व गोर्खा सैनिक सहित नेपाल र बेलायतबीच दोस्रो वार्ता भएको थियो। आगामी सेप्टेम्बरमा फेरि संवादमा बस्ने गरी छलफल टुङ्गिएको थियो।
परामर्श संयन्त्रको बैठकमा जलवायु परिवर्तन, व्यापार, विकास साझेदारी, लगानी लगायत द्विपक्षीय चासोका विषयमा छलफल भएको पनि विज्ञप्तिमा छ।