डोल्पा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली
कर्णाली प्रदेशको डोल्पा विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ।
नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेशनबाट आठबीसकोट नगरपालिका हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो।
प्राधिकरणले बिहीबारदेखि सदरमुकाम दुनै लगायत क्षेत्रमा विद्युत् आपूर्ति शुरू गरेको छ। योसँगै कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन। अब हुम्ला र मुगुमा ग्रिडको विद्युत् पुग्न बाँकी छ। मुगुलाई आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाहरूको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए। “मुगुमा असारभित्र ग्रिडको बिजली पुग्ने छ,” उनले भने‚ “हुम्लाका लागि टेन्डरको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनोट भइसकेको छ, अब छिटै काम शुरू हुनेछ।”
प्राधिकरणले डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने जिल्ला सदरमुकाम दुनै र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रहरूमा २०० किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत्गृह मार्फत विद्युत् आपूर्ति गरिरहेको छ। डोल्पामा प्राधिकरणका करीब एक हजार ७०० ग्राहक छन्। डोल्पाका अन्य क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले एशियाली पूर्वाधार लगानी ब्यांक (एआईआईबी) र यूरोपेली लगानी ब्यांक (ईआईबी)बाट करीब २२ करोड अमेरिकी डलर (करीब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा विद्युतीकरण गरिरहेको छ। सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर यस क्षेत्रमा विद्युत्को पहुँच विस्तारमा खर्च भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए।
डोल्पाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन जाजरकोटको भेरी नगरपालिकास्थित कुदु सबस्टेशनबाट सोही जिल्लाको नलगाड नगरपालिकाको चौखाबजार हुँदै डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ। ठेकेदारले काम नगरेपछि उक्त ठेक्का रद्द गरी अहिले नयाँ ठेक्का सम्झौता गरी लाइन निर्माण भइरहेको प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताए। चौखा र त्रिपुराकोटमा ३३/११ केभीका सबस्टेशनहरू निर्माण हुनेछन्। लाइन र सबस्टेशन निर्माण करीब डेढ वर्षभित्र सम्पन्न हुने प्रमुख यादवले उल्लेख गरे।