पुनःस्थापनाको माग सहित मुक्त कमैयाको अधिकार यात्रा
मुक्त घोषणा गरेको दुई दशक बितिसक्दा पनि पुनःस्थापना गर्न सरकारले बेवास्ता गरेको भन्दै मुक्त कमैयाहरू आन्दोलित भएका छन्।
कैलाली र कञ्चनपुरका मुक्त कमैयाहरूले बिहीबारदेखि पुनःस्थापनाको माग सहित आन्दोलन शुरू गरेका हुन्। कैलाली र कञ्चनपुरबाट एकैसाथ शुरू भएको ‘अधिकार यात्रा’ नाम दिइएको आन्दोलन वैशाख १८ गते धनगढीमा समापन गरिने मुक्त कमैया समाजले जनाएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ भगतपुरको मुक्तकमैया शिविरबाट शुरू भएको अधिकार यात्राको उद्घाटन सुदूरपश्चिम प्रदेश सांसद प्रकाश रावलले गरेका थिए। यस्तै‚ कैलालीको टीकापुर नगरपालिकाबाट शुरू भएको अधिकार यात्रा टीकापुर नगरपालिका-१ का वडाध्यक्ष मोहन विकले उद्घाटन गरेका थिए।
प्रत्येक मुक्त कमैया शिविर हुँदै अधिकार यात्रा अगाडि बढेको आयोजक मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताए। कञ्चनपुरको अधिकार यात्रामा सहभागीहरू दैजी छेला मुक्त कमैया शिविरमा वास बसेका थिए। कैलालीकाहरू भने बर्दगोरीमा वास बसेको अध्यक्ष चौधरीले बताए।
सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो। २०७० असार १३ गत कमलरी मुक्तिको घोषणा गरेको थियो। तर‚ अहिलेसम्म पनि सुदूरपश्चिमका धेरै मुक्त कमैयाको पुनःस्थापना हुन बाँकी छ।
सरकारी तथ्याङ्कमा कञ्चनपुरमा एक जना पनि नछुटेको देखिए पनि कैलालीमा ३८० जनाले जग्गा प्राप्त गर्न नसकेको देखिएको छ। तर‚ मुक्त कमैया समाजले भने कैलालीमा ९५३ र कञ्चनपुरका १२९ जना गरी एक हजार ८२ जना मुक्त कमैयाको पुनःस्थापना हुन बाँकी रहेको बताएको छ।