गोदावरी उद्यानको वैभव वर्णन
गोदावरीस्थित पहिलो वनस्पति उद्यानमा भएका एक हजार ८८ वनस्पतिबारे विस्तृत जानकारी हालै प्रकाशित पुस्तकमा पढ्न पाइनेछ।
नेपालमा भएका १२ वटा वनस्पति उद्यानमध्ये ललितपुरको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान सबैभन्दा पुरानो हो। जीवित वनस्पतिहरूको सङ्कलन तथा संरक्षण गर्न वनस्पति उद्यान स्थापना गरिन्छ।
वनस्पति उद्यानमा मूल्यवान् वनस्पति सम्पदालाई संरक्षण गरिएको हुन्छ। जहाँ वैज्ञानिक अध्ययन, अनुसन्धान, संरक्षण र प्रदर्शनी हुने गर्छ। यस्ता उद्यानलाई विश्वविद्यालय, अनुसन्धान संस्था वा सरकारी निकायले सञ्चालन गरेका हुन्छन्।
नेपालमा भने वनस्पति हेर्ने सरकारी निकायको अस्तित्वसँगै वनस्पति उद्यानको अस्तित्व जोडिएको पाइन्छ। शुरूमा वन तथा वनस्पतिको काम गर्ने सरकारी कार्यालयमा वनस्पति अड्डा नामक कार्यालयमा सीमित स्रोतसाधनमा सञ्चालित थियो। २०१६ सालमा अड्डालाई ‘डिपार्टमेन्ट अफ मेडिसिनल प्लान्ट्स’ मा स्तरोन्नति गरियो। जसलाई नेपालीमा वनस्पति विभाग भनियो।
विभागका संस्थापक महानिर्देशक प्रयागराज पाण्डेले वनस्पति उद्यान खोल्न निकै कसरत गरेका थिए। २०१८ असार १८ गते गोदावरीमा शिलान्यास भएको वनस्पति उद्यानको २०१९ कात्तिक १२ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए।
उद्यान स्थापना गर्दाको अनुभव स्मरण गर्दै पाण्डेपछि विभागको महानिर्देशक भएका पुरुषोत्तमनारायण सुवाल भन्छन्, “दिउँसो ३-४ बजेसम्म वनस्पति विभागमा काम गरेपछि पाण्डे लगायतको टोली गोदावरीमा बन्दै गरेको उद्यान निर्माणमा खटिन जाने गरेको थियो। घर आइपुग्दा ८-९ बज्थ्यो।” उद्यान बनाउने काममा सघाउन बेलायतबाट आएका दुई बगैंचाविज्ञ जीएसी हर्कलट र टोनी सिलिङको पनि योगदान रहेको सुवाल बताउँछन्।
१९ वर्ष विभागको महानिर्देशक भएका समरबहादुर मल्लले एउटा आलेखमा प्रयागराज पाण्डेको वनस्पति उद्यान स्थापना कल्पना भएकाले बालाजु, सूर्यविनायक लगायत विभिन्न ठाउँ हेर्दा गोदावरीमा उपयुक्त देखिएको उल्लेख गरेका छन्।
उद्यानको व्यवस्थापन गर्दै आएको वनस्पति विभागले २०५६ सालदेखि प्रत्येक वर्ष चैत २९ मा वनस्पति दिवस मनाउँदै आएको छ। यस वर्ष विभागले ४१औं वनस्पति दिवसको अवसरमा गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यानका वनस्पतिहरूको विवरण सहितको पुस्तक क्याटालग अफ प्लान्ट्स अफ न्याशनल बोटानिकल गार्डेन, नेपाल प्रकाशन गरेको छ। पुस्तक राष्ट्रिय वनस्पति उद्यानका वनस्पतिविज्ञ गौरव परमार, दीपक लामिछाने र जीवन पाण्डेको संयुक्त लेखन हो।
सन् २०१६ मा लेखक परमार यस्तै पुस्तक प्रकाशन भए पनि उद्यानमा भएका वनस्पतिहरूको अद्यावधिक गर्नुपर्ने भएकाले यो पुस्तक प्रकाशन भएको बताउँछन्।
यस उद्यानका वनस्पतिहरूबारे जानकारी दिने पुस्तक पहिलो पटक सन् १९७५ मा प्रकाशित भएको थियो। त्यसपछि सन् २००३ मा अर्को संस्करण आयो। पछिल्लो संस्करण भने सन् २०१६ मा आएको थियो। विगतका प्रकाशनभन्दा पछिल्लो पटकको पुस्तक फरक, विस्तारित र विवरणयुक्त भएको परमार बताउँछन्।
विगतका पुस्तकमा बिरुवाको सामान्य जानकारी थियो भने यस पटक वैज्ञानिक आधारहरूलाई समेटिएको छ। राष्ट्रिय वनस्पति उद्यान बोटानिक गार्डेन्स कन्जर्भेशन इन्टरन्याशनलको सदस्य भएकाले उक्त संस्थाले तय गरेका मापदण्डलाई यस पुस्तकमा समावेश गरिएको परमार बताउँछन्। उनी भन्छन्‚ “उद्यानमा भएको बिरुवाको स्वस्थानीय (इन सिटु) र परस्थानीय (एक्स सिटु) विवरण पनि पुस्तकमा समावेश गरिएको छ।”
सन् २०१६ मा भएको अध्ययनभन्दा अहिले गरिएको अध्ययनले उद्यानमा वनस्पतिको प्रजाति बढेको देखाएको छ। सन् २०१६ मा ८६० प्रजातिका वनस्पति थिए भने अहिले एक हजार ८८ पुगेका छन्। हाल उद्यानमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति विभागका विद्यार्थी पनि ‘इन्टर्न’ गर्न आउने हुँदा उद्यानको तथ्याङ्क सङ्कलनमा केही बल मिलेको छ।
उद्यानमा नेपालका रैथाने वनस्पति सात वटा भएको पुस्तकमा उल्लेख छ। तिनमा तीन वटा स्वस्थानीय हुन् भने चार वटा भने परस्थानीय वनस्पति हुन्।
त्यस्तै, उद्यानमा सपुष्पक वनस्पति (एन्जिओस्पर्म) ७४५ प्रजातिबाट ९०४ पुगेका छन्। कोणधारी वनस्पति (जिम्नोस्पर्म) २३ बाट बढेर २९ पुगेका छन्। साथै, उन्युको प्रजाति संख्या ९२ बाट १०९ पुगेको छ। उद्यानमा उपहारस्वरूप प्राप्त केही बिरुवाको विवरणलाई पनि पुस्तकमा समावेश गरिएको छ।
अपुष्पक वनस्पति ब्रायोफाइट्स (एक प्रकारको झ्याउ) को विवरण यसअघि प्रकाशित पुस्तकमा थिएन। यस पटकको अध्ययनमा ४६ प्रजातिका ब्रायोफाइट्स उद्यानमा रहेको पाइएको छ। उद्यानमा रूखको संख्या १५३ बाट २०१ पुगेको छ। बुट्यान (शर्ब्स) प्रजातिको संख्या १११ बाट १४७ पुगेको उल्लेख छ।हर्ब्स (पोथ्रा)को संख्या पनि उल्लेखनीय रूपमा बढेको पाइएको छ। हर्ब्सका प्रजाति ३५४ बाट ६८४ पुगेका छन्। त्यस्तै, उद्यानको आकर्षणका रूपमा रहेका लहरे वनस्पति (क्लाइम्बर्स)को संख्या पनि ३३ बाट ५६ पुगेको छ।
उद्यानमा बाह्य मिचाहा प्रजातिको संख्या पनि बढेको छ। उद्यानमा विगतमा ११ वटा मिचाहा प्रजाति भएकोमा हाल १५ वटा पुगेको छ। यी बिरुवा उद्यानमा संरक्षण गरिएको नभई फैलिंदै आइपुगेका हुन्।
गोदावरी उद्यान आफ्नो नाम अनुसार नै पुष्पहरूका लागि प्रख्यात छ। यहाँ भएका राम्रो सङ्कलनमा सुनाखरीका बिरुवा पनि हुन्। पुस्तकले उद्यानमा सुनाखरीको संख्या पनि राम्रो रहेको देखाएको छ। विगतमा सुनाखरीका ६७ प्रजाति भएकोमा हाल उद्यानमा ७६ प्रजाति छन्।
रेयर इन्डेन्जर्ड स्पिसिस २० बाट ९४ पुगेका छन्। इन सिटु वनस्पति ३९५ बाट ४६० पुगेका छन् भने एक्स सिटु वनस्पति ४६५ बाट ६१३ पुगेका छन्। यसमा १५ वटा बाह्य मिचाहा प्रजातिको संख्या समावेश छैन।
६१३ वटा एक्स सिटु संरक्षित प्रजातिहरूलाई यस पुस्तकमा ‘डब्लू’, ‘जेड’ र ‘यू’ मा वर्गीकरण गरिएको छ। त्यस्तै‚ यस पटकको प्रकाशनमा डब्लू-ट्याक्सा, जेड-ट्याक्सा, जी-ट्याक्सा, यू-ट्याक्साको उपयोग गरिएको छ। डब्लू-ट्याक्सा भन्नाले प्राकृतिक वासस्थान/जङ्गलबाट सङ्कलित वनस्पति भन्ने बुझिन्छ। जेड-ट्याक्साले अप्रत्यक्ष रूपमा प्राकृतिक वासस्थान/जङ्गलबाट सङ्कलित वनस्पतिलाई जनाउँछ। जी-ट्याक्साले प्राकृतिक रूपमा उत्पत्ति नभएका तथा उद्यानमा विकसित वनस्पतिलाई जनाउँछ। यू-ट्याक्सा भन्नाले उत्पत्तिबारे थाहा नभएका वनस्पति भन्ने बुझिन्छ।
विगतमा बुट्यान–गार्डेन वा थिम्याटिक गार्डेन १७ वटा भएकोमा हाल उद्यानमा त्यस्ता उद्यानको संख्या ३० पुगेको छ। उद्यानभित्रका तिनको तस्वीर पनि पुस्तकमा समावेश छ।
लेखकमध्येका एक परमार यस पुस्तकमा सबै मौसमी (सिजनल) बिरुवालाई समावेश नगरिएको बताउँछन्। उनका अनुसार‚ यो वर्ष भएको मौसमी बिरुवा अर्को वर्ष नहुन सक्ने भएकाले त्यस्तालाई समावेश नगरिएको हो।
उद्यानले सन् २०१९ देखि बीउ ब्यांक पनि स्थापना गरेको छ। बीउ ब्यांकमा १५० प्रजातिको बीउ संरक्षण गरिएको छ। पुस्तकको अर्को उल्लेखनीय पक्ष भनेको उद्यानमा भएका एक हजार ८८ वनस्पतिमध्ये ६२३ परस्थानीय वनस्पतिको उत्पत्तिबारे जानकारी समावेश छ।
दुई हजार ७१५ मिटरको फुल्चोकी पहाडको फेदीमा करीब एक हजार ५०० देखि दुई हजार मिटरको उचाइमा रहेको ८२ हेक्टरमा फैलिएको उद्यानमा प्रतिवर्ष चार लाख आगन्तुक आउँछन्। उद्यानको महत्त्वबारे तीर्थबहादुर श्रेष्ठको टिप्पणी सान्दर्भिक छ। उनले लेखेका छन्‚ ‘यहाँको प्राकृतिक वनजङ्गल बाह्रै महीना हरियो हुन्छ। यहाँ पानीको पनि अभाव छैन। ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन्। ऐंसेलु, चुत्रो र काफल गोदावरीमा निकै लोकप्रिय छन्। प्रकृतिका तीन प्रमुख आकर्षणहरू- पुष्प, पुतली र पक्षीको अनुपम भण्डार हो गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान।’
श्रेष्ठले भने झैं नेपालको प्राकृतिक वैभव गोदावरीको थप वर्णन गर्ने काम क्याटालग अफ प्लान्ट्स अफ न्याशनल बोटानिकल गार्डेन, नेपालले गरेको छ।