कबीलाकालीन हिमाली हातेमालो
उवेला महाहिमाली क्षेत्रमा व्यापार-वाणिज्य कुनै नाफाखोरी बनिया-नाफाखोरीद्वारा होइन, समुदाय-समुदायबीच हुन्थ्यो। विकट भूगोलमा मिलिजुली बाँच्न एक किसिमको समन्वय थियो।
हान साम्राज्यकालमै पश्चिमएशिया (मध्यएशिया)सँग चीनको सम्बन्ध विस्तार भइसकेको थियो। इपू पहिलो शताब्दीअघि हान सम्राट् ऊका दूत चाङ छ्येनले पश्चिमएशियाको यात्रा गर्दा ताश्या (शायद बैक्ट्रिया) मा चीनको सछ्वान क्षेत्रका कपडा र बाँसको छडी देखेर ती कहाँबाट आएका हुन् भनी जिज्ञासा राख्दा स्थानीयहरूबाट सिन्ध भन्ने विशाल देशबाट आएको सुन्छन्। आफ्नै देशको माल सिन्धको भनेको सुनेर उनी छक्क पर्छन्।
साथै, के निष्कर्षमा पुग्छन् भने बैजिङको नैऋत्यमा पर्ने सच्छ्वानबाट तेजारती सामान दक्षिण र नैऋत्यमा पर्ने सिन्ध भनिने कुनै विशाल देशमा जान्छ। आफू चीनबाट पश्चिमएशिया गएको बाटो बाहेक नैऋत्य भएर त्यता जाने अर्को कुनै मार्गले चीनको नैऋत्य खण्ड र सिन्ध देश जोडिएको हुनुपर्छ, व्यापारीहरू त्यो बाटो आवतजावत गर्दा हुन् र सछ्वानबाट सामान त्यो बाटो पहिला सिन्ध पुगेर ताश्या पुग्छ।
आफ्नो यस्तो अनुमान चाङ छ्येनले चीन फर्केर सम्राट्सामु राख्छन् र उक्त बाटो खोजी गर्न अनुरोध गर्छन्। सम्राट्ले सछ्वानका चार मार्गबाट दूत पठाएर बाटो खोजीको प्रयत्न पनि गर्छन्। तर, सरकारी दूतहरू युनानसम्म मात्र पुग्न सफल हुन्छन्। दूतहरू नैऋत्यको कुनै मार्गबाट ताश्या पुग्न नसके पनि सछ्वानबाट कपडा र बाँसका छडी भने ताश्या पुगी नै रहन्छन्।
यात्री चाङ छ्येनको आश्चर्य र सम्राट्को सिन्ध जाने बाटोको खोजको दस्तावेज त्यस कालका सुप्रसिद्ध विद्वान् समा छ्येनको ‘ऐतिहासिक अभिलेख’ नामक प्रसिद्ध रचनामा उल्लेख छ, (प्राध्यापक चिन खमू, चीन-भारत मैत्री का संक्षिप्त इतिहास, अनु. जानकी वल्लभ, इसं १९८४, विदेशी भाषा प्रकाशन गृह, पैचिङ)। हामीले के बुझ्नुपर्छ भने उवेला भनिएको सिन्ध देश अहिलेको पाकिस्तानको सिन्ध प्रदेश मात्र नभई सिन्धु नदी पूर्वमा अवस्थित नेपाल लगायत विशाल दक्षिणएशिया (हिन्द उपमहाद्वीप) हो। र, सिन्ध नामबाटै हिन्द उपमहाद्वीप, हिन्दुस्तान, हिन्दू धर्म जस्ता पदावली बनेका हुन्।
हान सम्राट्का दूतहरू सछ्वानबाट सोझै दक्षिण लागे र युनान पुगे। अझ दक्षिण गएका भए उनीहरू वर्तमान लाओस, म्यानमार पुग्थे। यात्री छ्येनको परिकल्पना अनुसार ती दूत सछ्वानबाट नैऋत्यतर्फ हानिनुपर्दथ्यो। त्यसो भनेको वर्तमान तिब्बत दक्षिणको महाहिमालय शृङ्खला (हाल, सिगात्से प्रदेश) अथवा अझ पश्चिम, हाल ‘विश्वको छानो’ भनिने छाङताङ पठार, जहाँ सिन्ध र नेपालतर्फ बग्ने कर्णाली नदीको पनि मुहान छ, जुन अहिले तिब्बतको ङाग्री प्रदेश हो।
प्राचीन तिब्बतका कबीला जातिहरूबीच वेलाबखत झैझगडा, युद्ध, जय–पराजयको प्रागितिहास भेटिन्छ। परन्तु यस्तो झगडा र काटमार सधैं हुन्थ्यो भन्ने होइन।
उनीहरू शायद त्यता किन पनि लागेनन् होला भने यी क्षेत्र अल्पआवादी, अति विकट, हिमाली पाखा-घाँच तथा जति पश्चिम लाग्यो उति लामा घाँस मात्र पाइने स्याँठिला पठार थिए। नेपालको हुम्ला जिल्लाको ठीक उत्तरमा फैलिएको छाङताङ पठार समुद्री सतहबाट ४,५०० मिटर माथि छ, जहाँ सास फेर्नका लागि नै पर्याप्त अक्सिजन अभाव हुने गर्छ। यति कठिन बाटो तेजारती मालवाहक व्यापारी सार्थवाहु हिंड्ने महामार्ग हुने कल्पना उनीहरूले नगरेका हुन सक्छन्। परन्तु त्यस्तो महाविकट विशाल पठारभूमिमा उसवेलादेखि आजसम्म पनि छरिएका पातला मानव बस्ती छन्, जसको मूल जीविकोपार्जन पशुपालन थियो।
त्यहाँ पाइने नुनदेखि सुनसम्मका अनेक खानी खोदाइ उनीहरूको अर्को काम थियो। गाउँलेलाई एक बस्तीबाट अर्को बस्ती जान सहज थिएन। त्यसैले त्यहाँ नाफाखोर परदेशी व्यापारीहरू आवतजावत गर्ने सुगम मार्ग हुने कुरै भएन। तर, जहाँ मानिस हुन्छ त्यहाँ आवश्यकताहरू हुन्छन् र आवतजावत पनि, चाहे हिंड्दाहिंड्दै बिलाउने गोरेटो हिंड्न किन नपरोस्। त्यसैले हुनुपर्छ, महाहिमालय शृङ्खलाको ठीक मुन्तिरका उत्तर र दक्षिणका पाखाका प्रागैतिहासिक हिमालयवासीहरूले आफ्नो आवश्यकता पूरा गर्ने बेग्लै वाणिज्य परिपाटी विकास गरेका रहेछन्।
अहिले तिब्बती भन्नासाथ सबै एकै जातिका भन्ने खालको बुझाइ छ। परन्तु प्रागैतिहासिक कालमा त्यहाँ अनेक नश्लीय कबीलाहरू छरिएर बसोबास गर्थे- दाङ्बो, गोङ्बो, ङ्याङ्बो, सुपी, सिब्या, पाल आदि। नेपालमा तिब्बतीलाई भनिने पुरानो शब्द ‘भोटे’ ले आरम्भमा वाच्यार्थ तर पछि व्यङ्ग्यार्थ वा हेयार्थमा खाँटी नेपाली भइसकेका तामाङ, गुरुङ, थकाली, मगर, शेर्पा, राई, लिम्बू, याक्खा आदि समेतलाई जनाउने गरेको यथार्थले पनि आदिम तिब्बतको जातीय विविधतालाई सङ्केत गर्छ। तामाङ, गुरुङ, थकाली प्रागैतिहासिक कालमै महाहिमाल पार गरी दक्षिणी पाखो आएका कुनै आदिम तिब्बती जाति प्रतीत हुन्छन्।
प्राचीन तिब्बतका कबीला जातिहरूबीच वेलाबखत झैझगडा, युद्ध, जय-पराजयको प्रागितिहास भेटिन्छ। परन्तु यस्तो झगडा र काटमार सधैं हुन्थ्यो भन्ने होइन। मानिसहरू मिलिजुली बस्दैनथे त संस्कृति र सभ्यताको विकास पनि हुँदैनथ्यो। यी कबीला समूह पनि कठिन हिमाली जीवन सहज बनाउन एकले अर्को जातिसित आवश्यकताका कुराहरू लेनदेन गर्दै उत्तरी कछारबाट महाहिमाल उकाली दक्षिणी कछारसम्म वारपार गराउँथे। बाह्रै महीना हिंडडुल गर्न सकस पर्ने त्यस्तो क्षेत्रमा कुनै नाफाखोर बनिया-सार्थवाह सामानको डङ्गुर कुम्ल्याएर एक्लै जान सम्भव थिएन।
तिब्बतसँगको व्यापार, ल्याउने लैजाने, मुस्ताङीहरूले गर्थे। तर, उनीहरूले यता बाह्र गाउँलेसँग मात्र व्यापार गर्न पाउँथे, अनि बाह्र गाउँलेले थकालीहरूसित किनबेच गर्न पाउँथे
हिमाली कबीलाहरूमाझ एउटाको इलाका नाघेर अर्को कबीलासित वाणिज्य नहुने सामाजिक व्यवस्था रहेको प्रतीत हुन्छ। यो परिपाटी शायद बाटोघाटोको भौगोलिक विकटताका कारणले पनि बन्यो अथवा यो नाफाखोरीभन्दा बढी विकट भेगका कबीलाहरूमाझ आपसमा मिलिजुली बाँच्न गरिएको प्रबन्ध थियो।
वाणिज्य परम्पराको यस्तो छनक अध्यवसायी लेखक कमल दीक्षितको नूनको खोजीमा (साल्ट ट्रेडिङ कर्पोरेशन लि., विसं २०४२, काठमाडौं) किताबले दिन्छ। राणाकालमा मुस्ताङदेखि तल बुटवल बेथरीसम्म नुन लगायत अरू सामानमा समेत थकाली जातिको एकाधिकार रहेको सन्दर्भमा उनी पादटिप्पणीमा लेख्छन्, ‘यहाँनिर एकाधिकार थियो भन्दाखेरि अलिकति स्पष्टीकरण दिनुपर्छ।
वास्तवमा त्यतिखेर व्यापार क्षेत्र विभाजन यस प्रकार रहेको बुझिन्छ- तिब्बतसँगको व्यापार, ल्याउने लैजाने, मुस्ताङीहरूले गर्थे। तर, उनीहरूले यता बाह्र गाउँलेसँग मात्र व्यापार गर्न पाउँथे, अनि बाह्र गाउँलेले थकालीहरूसित किनबेच गर्न पाउँथे। त्यसपछि थकालीहरूले त्यहाँदेखि तल- बाग्लुङ, पर्वत, अर्घाखाँची, धुर्कोट, मुसीकोट, गल्कोट, इस्मा, रिसिङघिरिङ, पैयुँ, कास्की, पाल्पा, प्यूठानहरूसम्मको व्यापारको खाँचो टार्थे।’
यसबाट भित्री हिमालयदेखि उँधोको व्यापारमा स्थानीय गाउँले वा कबीला समूहका लागि कुनै आरक्षण नभए पनि महाहिमालतिरका कबीला समूह वा जातिका लागि व्यापारको एकाधिकार रहेको बुझिन्छ। मुस्ताङ अहिले नेपालमा भए पनि भौगोलिक रूपमा तिब्बती पठारको भाग हो र पहिला तिब्बत राज्यकै अंश थियो (माइकल पिस्सेलले मुस्ताङः अ लस्ट टिबेटन किङडम किताब नै लेखेका छन्)। मुस्ताङभन्दा उत्तरमा व्यापारको अवस्था कस्तो थियो, दीक्षितको किताबबाट जानकारी पाइँदैन। किन्तु यो प्रागैतिहासिक कालदेखि तिब्बती भूक्षेत्रको परम्परा भएकाले राणाकालसम्म पनि तिब्बतसितको व्यापार तिब्बती मूलका मुस्ताङी, बाह्र गाउँले र थकाली जातिमा कायमै रहेको सहज अनुमान हुन्छ।
यो परम्परा राणाकालमा थकालीहरू शासक वर्गको नजिक भई शक्तिशाली भएपछि भत्कन थालेको पनि किताबबाट सङ्केत मिल्छ। भित्री हिमाल आइपुगेपछि तिब्बती मूलका मानिसभन्दा अन्यको बसोबास बाक्लो रहेको र बाटाघाटा पनि सुगम भएकाले व्यापारको त्यो कबीले प्रथाको आवश्यकता थिएन। बाह्य हिमालमुनि दक्षिणमा त गौतम बुद्धकाल (इपू पाँचौं शताब्दी) मा कपिलवस्तु हुँदै गौड (बङ्गाल) देखि सिन्ध र गान्धार पुग्ने सार्थवाहहरूका गाडा चल्ने महामार्ग नै थियो।
त्यसकारण उच्च हिमाली क्षेत्रको यो जातीय आरक्षणको व्यवस्था शुरूमा जीविकाका लागि भए पनि कालान्तरमा यही परम्परामा हिमालयका उत्तर र दक्षिण फेदीका वाणिज्य महामार्ग (सछ्वानबाट पश्चिमएशिया जाने र हिन्द उपमहाद्वीपबाट पश्चिमएशिया जाने) बाट जाने किमती तेजारती सामान केही मात्रामा कबीले एकाधिकारी प्रथा मार्फत महाहिमाल पार हुने गरेको अनुमान हुन्छ। सछ्वानबाट सिन्धमा बाँसका छडी र कपडा पनि शायद यसै गरी पुगे। उच्च हिमाली बासिन्दाको यो परम्परागत व्यापार मूलतः जीविकाका लागि थियो। त्यस दृष्टिले उत्तरबाट दक्षिण आउने वस्तुमा नुन प्रमुख भए जस्तै दक्षिणबाट उत्तर जानेमा सक्खर थियो। त्यसैले दक्षिणी भित्री हिमालय र बाह्य हिमालयबीचका औल-बेसीमा उखुको राम्रो खेती हुन्थ्यो।
नेपालीमा चौंरी भनिने गरेको गाईको प्रजाति पूर्णतः प्राकृतिक प्रजनित जीव होइन। यसको उत्पादन हिमालवासीले कहिलेदेखि थाले भन्नेमा अध्ययन नभए पनि चौंरीको अस्तित्व उत्तरवैदिककालमै देखिन्छ।
नेपाल-तिब्बत आवतजावत गर्ने मध्यकालीन पैदल नाका गैरउच्च हिमाली बासिन्दाका लागि प्राकृतिक रूपमा सुलभ थिएनन्। यी नाकाबाट इच्छुक जोकोही पनि आवतजावत गर्न सक्ने भएको तिब्बतभर छरिएका कबीले जातिको इलाका कजाइ बन्न थालेका अनेकौं ससाना राज्य जिती सातौं शताब्दीमा स्रोङचोङ गम्पोले शक्तिशाली तिब्बत राज्य खडा गरेर त्यहाँ बौद्धधर्मको प्रचार भएपछि हो। त्यसपछि दक्षिणी समतल मैदानबाट बौद्ध गुरु र तिब्बती विद्यार्थीहरू उच्च हिमाली नाकाबाट आउजाउ गर्न थाले। सँगै इच्छुक गैरउच्च हिमाली बासिन्दाका लागि पनि व्यापार-मार्ग बन्न पुग्यो।
यसअघि ती महाहिमालयका नेटा पार गर्न कठिन प्राकृतिक अवरोधहरू रहेको कुरा इतिहासविद् बाबुराम आचार्यले समेत जनाएका छन्। यसैको आडमा नेपालका तामाङ, गुरुङ आदि जाति सातौं-आठौं शताब्दीभन्दा अघि आएका हुन सक्दैनन् भनेर केही इतिहासविद् यदाकदा अत्तो थाप्ने गर्छन्। तर, यो सहज मूलबाटो त तल्लो भेगकाहरूका लागि हो। उच्च हिमाली बासिन्दाले त चौंरीगाईको उत्पादन थालेदेखि नै महाहिमालका कठिन भञ्ज्याङ कष्टपूर्वक वारपार गरिरहेको कुरा चौंरीको प्रजनन प्रक्रियाले नै जनाउँछ।
नेपालीमा चौंरी भनिने गरेको गाईको प्रजाति पूर्णतः प्राकृतिक प्रजनित जीव होइन। यसको उत्पादन हिमालवासीले कहिलेदेखि थाले भन्नेमा अध्ययन नभए पनि चौंरीको अस्तित्व उत्तरवैदिककालमै देखिन्छ। त्यतिखेर हिन्द उपमहाद्वीपीय मैदानमा फैलेका सनातनी आर्य धर्मका देवताका लागि चँवर हम्कन थालिसकिएको थियो। चौंरी नै नभई चँवर शब्द बन्दैन। तिब्बतका उच्च हिमाली पठारका जङ्गली गाई जातिका याक (भाले) र नाक (पोथी) हुन्।
यी आकारमा ठूला, बलिया, हिमाली पर्यावरण अनुकूलका हुँदाहुँदै घरपालनका लागि सहज र उपलब्धिमूलक नभएकाले होला, प्रागैतिहासिक उच्च हिमाली बासिन्दाले दक्षिणी भित्री हिमालमा पाइने गाई-गोरुसित याक-नाकको संसर्ग गराई ठिम्मल चौंरी गाई उत्पादन गरे। चौंरीको जन्म एक पटक वा चरणको मिश्रित प्रजनन प्रक्रियाबाट निरन्तर हुँदैन।
हिमाली पर्यावरणका अनुसन्धाता जीवशास्त्री नारायण कोजूका अनुसार, चार हजार मिटरमाथिको पर्यावरणमा अभ्यस्त याकलाई दक्षिणी भित्री हिमालको तीन हजार मिटर उचाइको पर्यावरणमा अभ्यस्त बनाई पामुसित संसर्ग गराएर ठिमाहा किर्कोङ (भाले) र फलाङ-I (पोथी) जन्माइन्छ। पामुको गर्भाधान चार हजार मिटरको पर्यावरणमा सम्भव नहुने हुँदा याकलाई हिमालको दक्षिणी पाखोमा झार्नुपर्छ। फेरि याक र ठिमाहा फलाङ-I को मिश्रण गराई लाङ (भाले) र फलाङ-II (पोथी) निकालिन्छ।
शुद्ध चौंरीका लागि प्रजननको अन्तर्मिश्रणको तहगत प्रक्रिया आजपर्यन्त आवृत्ति गरिँदै आएको छ र यो काम पर्यावरणीय कारणले हिमालयको दक्षिणी पाखोमै गरिन्छ।
अब किर्कोङ वा लाङलाई नाकसँग संसर्ग गराएर ठिमाहा डिम्जो (जोप्क्यो/भाले) र डिम्जोमा (चौंरी/पोथी) निकालिन्छ। ठिमाहा लाङ र फलाङबाट प्रजनन गराउँदा उराङ (भाले/जोप्क्यो) र उराङमा (जुम/पोथी) उत्पादन हुन्छन्। जोप्क्यो उराङ र डिम्जोलाई प्रजननका लागि उपयोग गरिँदैन। यिनीहरू भारी बोक्ने भाले हुन्। ठिमाहा किर्कोङ र फलाङबाट पनि प्रजनन गराइँदैन (‘हिमालको पर्यावरणीय साँघु’, कान्तिपुर, २०७९ पुस २९)। त्यसकारण ठिमाहा चौंरीको उत्पादन एक पटक भइसकेर पनि अरू जनावरको जस्तो यसको समकक्षी जोडाबाट पुनः प्रजनन भई चौंरी जन्मँदैन।
शुद्ध चौंरीका लागि प्रजननको अन्तर्मिश्रणको तहगत प्रक्रिया आजपर्यन्त आवृत्ति गरिँदै आएको छ र यो काम पर्यावरणीय कारणले हिमालयको दक्षिणी पाखोमै गरिन्छ। उपयोग चाहिं हिमालयको उत्तरखण्डमा पर्याप्त हुन्छ। यसका लागि पनि उच्च हिमाली आदिवासीले सदियौंदेखि महाहिमाल वारपार गर्दै आएको पुष्टि हुन्छ।
सम्भवतः यही प्रजनन प्रक्रियाका लागि तिब्बती पठारबाट दक्षिणी पाखो झरेका आदिम पठारी जाति अहिले नेपालका आदिवासी थकाली, तामाङ र गुरुङ भएका हुन सक्छन् जो अहिलेसम्म चौंरी जन्माएर तिब्बत पठाउने गरिरहेकै छन्। डा. शिगेरू इसिजिमाले आफ्नो पुस्तक थकाली र नेपालको खेतीपाती (अनु. माधवप्रसाद पोखरेल, च्वसापासा, विसं २०४५, काठमाडौं) मा अन्नपूर्ण र धौलागिरि पर्वतमालाको ठाडो भीरमा चौंरी, भेडा, बाख्रा पाल्ने थकालीहरूले यातायातका लागि झुप्पु (चौंरी र गाईको खच्चर), घोडा र गधाको प्रजनन गराउने कुरा लेखेका छन् (यहाँ झुप्पु भनेको जोप्क्यो हो, चौंरी आफैं पोथी भएकाले चौंरी र गाईको खच्चर हुन सक्दैन। भालेको मात्र गर्भाधान नहुने हुँदा झुप्पु जन्मँदा चौंरी पनि जन्मन्छ)।
त्यस्तै नेपालको पूर्वी उच्च हिमालका शेर्पा जातिको मुख्य व्यवसाय नै चौंरी व्यापार रहेको कुरा कोजूले जनाएका छन्। गोर्खा, रसुवा आदि उच्च हिमाली जिल्लाका तामाङ पनि चौंरी तिब्बततिर पठाउने गर्छन्। यसरी विकट भौगोलिक पर्यावरणका उच्च हिमालका विभिन्न कबीले जनजातिले जीविकाको जोह गर्न सदियौंदेखि परस्पर सहअस्तित्व राखी हातमालो गर्दै आएको स्पष्ट देखिन्छ।
(प्रधान लेखक/समालोचक हुन्। हिमालको २०८० वैशाख अंकबाट।)