नेपाल एअरलाइन्स बिग्रनुमा राजनीतिक नेतृत्वकै ठूलो हात रहेछ: पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्वको नै ठूलो हात रहेको टिप्पणी गरेका छन्।
वायुसेवा निगमको वार्षिक समीक्षा बैठकमा बोल्दै पर्यटनमन्त्री किरातीले नयाँ विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखेल समेत हुने गरेको उनको दाबी थियो। नेतृत्वले निगम सुधार्ने व्यावसायिक कार्ययोजना बनाउने नभई पैसा असुल्ने कार्ययोजना बनाउने गरेको आरोप समेत लगाए।
“वायुसेवा निगम कमजोर बनाउने नेतृत्व नै रहेछन्,” मन्त्री किरातीले भने, “म मन्त्री भएको सय दिन भयो, यो वेलासम्म मलाई धेरै कुरा थाहा भयो। वायुसेवा निगमलाई यो अवस्थामा पुर्याउन राजनीतिक नेतृत्वकै ठूलो हात रहेछ। निगमका कर्मचारी पनि चोखा छैनन्।”
मन्त्री किरातीले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपरी निगमलाई सुधार्न भरपुर प्रयत्न गर्ने बताए। “विगतमा जे भयो, अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ,” उनले भने, “अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छे जस्तै डिस्चार्ज गर्नुपर्छ।”
निगमलाई सुधार्न जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै मन्त्री किरातीले आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने जिकिर गरे। उनले निगम सुधार्ने मौखिक प्रतिबद्धताको व्यावहारिक कार्यान्वयन गर्न पनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिए।
उनले निगमको सञ्चालक समिति सदस्यहरू सुविधाका लागि प्रतिस्पर्धा गरिरहेको सुनेको खुलाए। उनले सञ्चालक समिति सदस्यलाई सुविधाका लागि राजनीतिक नियुक्तिको दुरुपयोग नगर्न सचेत गराए। (रासस)