सेमिफाइनलमा नेपालको कुवेतसँग प्रतिस्पर्धा
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
बिहीबार लिग चरणका खेल सकिएका छन्। समूह ‘ए’ बाट नेपाल र ओमन तथा समूह ‘बी’ बाट यूएई र कुवेत सेमिफाइनलमा प्रवेश गरेका छन्।
समूह ‘ए’को शीर्षस्थानमा रहेको नेपालले समूह ‘बी’को दोस्रो स्थानमा रहेको कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र कुवेतको खेल शनिबार बिहान ९ बजे हुनेछ।
त्यस्तै, समूह ‘ए’को दोस्रो स्थानमा रहेको ओमन र समूह ‘बी’को शीर्षस्थानमा रहेको यूएईबीच दोस्रो सेमिफाइनल हुनेछ। ओमन र यूएईको खेल पनि शनिबार नै हुनेछ।
बिहीबार भएका खेलमा नेपाल र कुवेत विजयी भएका हुन्। नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो।
त्यस्तै, मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई २० रनले हराउँदै कुवेत सेमिफाइनलमा पुगेको हो। कुवेतले दिएको २७२ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ सबै विकेट गुमाएर २४२ रन मात्रै बनाउन सक्यो।
यो जितसँगै समूह ‘बी’बाट कुवेत पनि सेमिफाइनलमा पुगेको हो। यूएई र कुवेतको समान ६ अंक भए पनि रनरेटका आधारमा यूएई शीर्षस्थानमा रहेको छ।