‘किरात फोर्स’ लाई भूपू सैनिकको ‘रोलकल’
कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनरत खोटाङका पहिचान पक्षधरले ‘किरात फोर्स’ घोषणा गरेका छन्।
कोशी नाम खारेज गरी किरात प्रदेश नामकरण गराउन थालिएको दबाबमूलक आन्दोलनलाई सशक्त बनाउन संयुक्त संघर्ष समिति, युवा परिचालन उपसमिति संयोजक रहेका निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय किरात फोर्स घोषणा गरिएको हो। उनी जनता समाजवादी पार्टी (जसपा)का नेता एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ का पूर्व वडाध्यक्ष हुन्। पहिचान पक्षधरको भेलाले त्यसका लागि युवा दस्ता तयार गरेको छ।
यो दस्ताका लागि पदम लिम्बू (लाजेहाङ)को तस्वीर अङ्कित कालो टिशर्टको व्यवस्था गरिएको छ। टिशर्टको पछाडि ‘किरात फोर्स’ लेखिएको छ। उनीहरूलाई पूर्व सैनिक नछुङ धनीराम राईले ‘रोलकल’ गराएका छन्।
ऐतिहासिक पृष्ठभूमिको आधारमा किरात प्रदेश पुनः नामाङ्कन आन्दोलनलाई सशक्त बनाउने तथा आन्दोलनका क्रममा सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि किरात फोर्स गठन गरिएको संयोजक राईले बताए। “आन्दोलनलाई बलशाली र चलयमान बनाउन तथा आन्दोलनकर्मीको सुरक्षा व्यवस्थाका लागि फोर्स खडा गरिएको हो,” उनले भने, “आन्दोलनमा हस्तक्षेप भए, दमन वा धरपकड भए आवश्यक तालीम दिइनेछ।”
बेलायत, भारतीय र नेपाली सेनामा काम गरिसकेका सैनिकले तालीम दिने उनको भनाइ छ। तालीमको तयारी समेत भइरहेको उनले बताए।
संयुक्त संघर्ष समिति, युवा परिचालन उपसमितिले दिक्तेलमा किरात फोर्स सम्मिलित र्याली निकालेको छ। र्यालीले बजार परिक्रमा गर्ने क्रममा मानव अधिकार चोकमा रहेको खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ विकास डिभिजन दिक्तेलको बोर्डमा रहेको कोशी शब्द मेटाएको छ।
कोशी नाम खारेज गरी किरात प्रदेश नामकरण गराउन दबाबमूलक आन्दोलनलाई सशक्त बनाउन खोटाङमा यायोक्खाका अध्यक्ष युगसन किरात संयोजकत्वको पुनः नामाङ्कन संयुक्त संघर्ष समिति क्रियाशील छ।