नेपाली ब्याटरको खराब प्रदर्शन, १५७ रनमै अलआउट
नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न नसकेपछि कतारसँगको खेलमा नेपाल १५७ रनमै समेटिएको छ।
एसीसी प्रिमियर कप अन्तर्गत बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको हो।
नेपालले शुरूआतदेखि नै विकट गुमाउँदै गयो। तीन रनमा कुशल भुर्तेललाई गुमाएको नेपालले नौ रनमा भीम सार्कीलाई गुमाए। त्यसपछि लगातार विकेट झर्दै गए। नेपाली ब्याटरले राम्रो साझेदारी गर्न सकेनन्।
नेपालका लागि सन्दीप लामिछानेले ४२, रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले ११-११, गुल्सन झाले सात, भीम सार्कीले ६, कुशल मल्लले तीन, कुशल भुर्तेलले दुई र ललित राजवंशीले एक रन बनाए।
कतारका लागि अमीर फारुकले चार, ओइस अहमदले तीन, गयान मुनविराले दुई र इक्रामुल्लाह खानले एक विकेट लिए।
एसीसी प्रिमियर कप अन्तर्गत लिग चरणका अन्तिम खेल भइरहेका छन्। त्रिवि क्रिकेट मैदानमा नेपाल र कतार तथा मूलपानी क्रिकेट मैदानमा कुवेत र हङकङको खेल भइरहेको छ।
नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। समूह ‘ए’ बाट नेपालसँगै ओमन सेमिफाइनलमा प्रवेश गरिसकेको छ।
त्यस्तै, समूह ‘बी’ बाट यूएई सेमिफाइलनमा प्रवेश गरिसकेको छ। सेमिफाइनलमा पुग्ने अर्को टीमका लागि कुवेत र हङकङ प्रतिस्पर्धा गरिरहेका छन्। जित्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।