उपचुनाव जितेर पनि मधेशमा हारेका उपेन्द्र यादव
प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा-२ बाट चुनाव जिते पनि ‘राजनीतिक नैतिकता’ का हिसाबले उपेन्द्र यादवले मधेशमा हारेको विश्लेषकहरू बताउँछन्।
वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पाँच हजार मतान्तरले निर्वाचित भए। सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले २८ हजार ४१५ मत ल्याए।
यादवका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाहाले २३ हजार ३३४ मत ल्याए। कुसवाहा गत मंसीर ४ गतेको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार थिए।
यस्तै नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मत सहित तेस्रो भए। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल दुई हजार ८२९ मत पाएर चौथो भए। तनहुँ र चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक मतान्तरले निर्वाचन जित्दा त्यही पार्टीबाट उम्मेदवारी दिएका खरेलको जमानत जफत भयो।
यादव गत मंसीरको आमनिर्वाचनमा सप्तरी-२ बाट उम्मेदवार थिए। तर, पहिलो पटक निर्वाचनमा सहभागी भएको दल जनमत पार्टीका अध्यक्ष सीके राउतसँग उनी पराजित भए। राउत र यादवबीच मतान्तर १८ हजार ६३ थियो।
बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर ठाउँ खाली गराएका उनी संसद् छिर्न उपनिर्वाचनमा होमिएका थिए। उपेन्द्र यादवले आफू कुनै पनि हालतमा सांसद बन्नकै लागि महिलालाई उपराष्ट्रपति बन्न नदिएको पनि पुष्टि भएको छ।
अहिले बारा-२ मा यादवले चुनाव जिते पनि मधेश प्रदेशमा उत्साह नछाएकाे राजनीतिक विश्लेषकहरू बताउँछन्। पहिलो त पाँच महीनाअघि मात्रै हारेका यादवले फेरि संसद् छिर्न खोजेकाले गलत सन्देश गएको उनीहरूको बुझाइ छ। चुनाव जित्नु पाँच वर्ष शासन गर्ने वैधता पाउनु हो भने पराजित हुनु पनि कम्तीमा पाँच वर्षका लागि अस्वीकृत हुनु हो।
अर्को, प्रतिस्पर्धामा जनमत पार्टी आएकाले अध्यक्ष सीके राउतप्रतिको विश्वास बढाएको देखिन्छ। सत्ता साझेदार दलहरूले सघाउँदा पनि जनमत पार्टीका उम्मेदवारसँगै थोरै मतको जितले मधेशमा नयाँ शक्ति आउँदै गरेको सङ्केत मिलेको उनीहरूको तर्क छ। जसपा अध्यक्ष यादवलाई नेताका रूपमा मान्ने मधेशमा यो चुनावबाट सीके राउत बलियो बन्दै गएको सञ्चार गरेको विश्लेषकहरूको भनाइ छ।
मधेश मामिलाका जानकार पत्रकार चन्द्रकिशोर चुनावी परीक्षामा यादव विजयी भए पनि राजनीतिक नैतिकताको परीक्षामा पराजित भएको बताउँछन्। “उपेन्द्रले उपनिर्वाचन जितेको प्रमाणपत्र पाए पनि राजनीतिक नैतिकताको हिसाबले यो उनको हार हो, सीके राउतका उम्मेदवारले चुनाव हारे पनि राजनीतिक हिसाबले जितेका छन्,” चन्द्रकिशोर भन्छन्, “उपेन्द्रले गठबन्धनको फिल्मलाई फ्लप हुनबाट मात्रै जोगाएका हुन्। बक्सिसका रूपमा उनले मन्त्रिपरिषद्मा ठाउँ पाउलान्।”
चुनावको नतीजाले ‘अब मधेशमा उपेन्द्रको नभएर सिकेको चल्छ’ भन्ने सङ्केत गरेको पनि उनको ठम्याइ छ। यस्तै राउतलाई पनि मतदाताले सत्ताको खिचातानीमा नभई प्रतिपक्षी भएर बस्न सन्देश दिएको उनी बताउँछन्।
“सत्ता गठबन्धन, प्रदेश सरकार, स्थानीय सरकार लाग्दा समेत पाँच हजार मतान्तरले जित्नुले उनी (यादव) निरीह रहेको सङ्केत गर्छ,” उनी भन्छन्।
राजनीतिक विश्लेषक एवं अधिवक्ता वीरेन्द्र यादव बारा-२ को उपनिर्वाचन परिणामले मुख्यतः दुई वटा सन्देश दिएको बताउँछन्। पहिलो, मधेश आन्दोलनको नेतृत्वकर्ताको आवश्यकता संसद्मा छ र दोस्रो, जनमत पार्टी वैकल्पिक शक्ति हो।
“मधेशको सामाजिक परिवेश, विभेद, दमन, शोषण र उत्पीडनबाट उन्मुक्ति दिलाउन मधेश आन्दोलनले योगदान दिएको छ। आन्दोलनको नेतृत्व उपेन्द्रले गरेका हुन्,” उनी भन्छन्, “दोस्रो जनआन्दोलनबाट प्राप्त नभएको उपलब्धि मधेश आन्दोलनले दिएको हो। उपलब्धि संस्थागत हुन सकेको छैन। संघीयता र गणतन्त्रलाई संस्थागत गर्न उनको (यादवको) आवश्यकता महसूस गरेरै जनताले संसद्मा पठाएका हुन्।”
यो निर्वाचनले यादवलाई अन्तिम मौका दिएको उनको ठम्याइ छ। “अब जनताको आकांक्षामा खरो नउत्रने हो र कमजोरी नसुधार्ने हो भने तपाईंको सट्टा अर्को शक्ति खडा गरेका छौं, पाइला चाल्दा ध्यान दिनुस् भनेर उपेन्द्रलाई जनताले सन्देश पनि दिन खोजेका छन्,” उनी भन्छन्।
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा समाजशास्त्रका प्राध्यापक वीरेन्द्रप्रसाद साहको बुझाइ भने अलि फरक छ। बारा-२ को सामाजिक संरचना र चेतनाको स्तर कमजोर भएका कारण नतीजा यादवको पक्षमा गएको साहको तर्क छ।
“त्यो चुनावी क्षेत्रको शैक्षिक अवस्था कमजोर छ। कम्प्युटर, इन्टरेनटको अभाव छ। सामाजिक सञ्जाल र मिडियामा पहुँच छैन। बाहिरी दुनियाँसँग जोडिन पाएका छैनन्। बसाइँसराइ छैन, शहरको आधुनिक विकासले छोएको छैन। देश-विदेशमा भएका परिवर्तनबारे मतदाता अनभिज्ञ छन्,” साह भन्छन्।
उनका अनुसार बारा-२ जातीय हिसाबमा पनि यादव बाहुल्य क्षेत्र भएकाले र उपेन्द्रको विपक्षमा बलियो यादव उम्मेदवार कुनै पनि दलले खडा नगरेकाले नतीजा उनको पक्षमा गएको हो। यही कारण विगतमा भन्दा यस पटक गठबन्धनप्रति प्रतिबद्धता राम्रो देखिएको उनी बताउँछन्।
यस्तै प्रतिद्वन्द्वी उम्मेदवारको तुलनामा उपेन्द्रको ‘प्रोफाइल’ राम्रो भएकाले क्षेत्रको विकासका लागि उनले नै बढी योगदान दिन सक्ने अपेक्षा जनताले गरेको साह भनाइ छ।