संसदीय सुनुवाइ समितिका लागि राष्ट्रिय सभाबाट तीन सांसद चयन
संसदीय सुनुवाइ समितिका लागि राष्ट्रिय सभाबाट तीन जना सांसद चयन भएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकले सांसदहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजङ्ग रायमाझीलाई मनोनीत गर्ने सहमति दिएको छ।
संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ को उपनियम २ बमोजिम संसदीय सुनुवाइ समितिमा उनीहरूलाई मनोनीत गर्न राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिफारिश गरेका थिए। अध्यक्ष तिमिल्सिनाले गरेको मनोनयन सिफारिश प्रस्तावलाई राष्ट्रिय सभाले सहमति दिएको हो।
प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूतका लागि प्रस्ताव गरिएका नाममा सुनुवाइका लागि संसदीय समिति रहने व्यवस्था छ।
समितिमा प्रतिनिधि सभाको सहमति लिई सभामुखले मनोनीत गरेका प्रतिनिधि सभाका १२ जना र राष्ट्रिय सभाको सहमति लिई अध्यक्षले मनोनीत गरेका राष्ट्रिय सभाका तीन जना गरी कुल १५ जना सदस्य रहने व्यवस्था छ। समितिको सभापति सदस्यमध्येबाट एक जना चयन हुने व्यवस्था छ।