अर्थतन्त्र सुधारका लागि संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश
बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि राष्ट्रिय सभाको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिएको छ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिएको हो।
सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक रहेको प्रस्तावमा सांसद अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जीतेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा (पार्वती), प्रमिला कुमारी, विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर समर्थक रहेका छन्।
राष्ट्रिय सभामा प्रस्ताव पेश गर्दै सांसद शाहले राजनीतिक शासन व्यवस्था फेरिए पनि मुलुकको अर्थतन्त्र र विकासको अवस्था नफेरिएको बताइन्। अब सबैको लक्ष्य र उद्देश्य समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनुपर्ने उनको भनाइ थियो।
“मुलुकको अर्थतन्त्र ओरालोमा छ, यसैकारण मुलुक कतै असफल हुने त होइन भन्ने चिन्ता छ, पर्याप्त लगानी आएको छैन, नीतिगत भष्ट्राचार रोकिएको छैन, पारदर्शिता छैन,” शाहले भनिन्, “राजनीतिक परिवर्तन भए पनि हामीले आर्थिक परिवर्तन गर्न सकेनौं, मुलुकको खराब अर्थतन्त्रका कारण आम मानिसको जनजीवन नराम्रोसँग प्रभावित भइरहेको छ।”
आर्थिक गतिविधिमा सुस्तता देखिंदा र सूचकहरू बिग्रँदा त्यसले नागरिकमा सरकारप्रति वितृष्णा जगाएको पनि उनले बताइन्। “बढ्दो महँगी, ब्यांक तथा वित्तीय संस्थाको कर्जा तिर्न नसक्ने अवस्था, चर्को ब्याजदर लगायतका कारण नागरिकमा निराशा र राजनीतिप्रति वितृष्णा देखिन थालेको छ, यसलाई समाधान गर्नु सरकारको पहिलो कर्तव्य हो,” सांसद शाहले भनिन्।
प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसदहरूले यो विषय सत्तापक्ष र प्रतिपक्षका रूपमा नभई सबैको साझा सरोकारको हुनुपर्नेमा समेत जोड दिए।