लुम्बिनीमा सरकार गठनका लागि आह्वान
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गरेका छन्।
मुख्यमन्त्री लीला गिरीले सोमबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरेका हुन्। मुख्यमन्त्री गिरीले विश्वासको मत मत पाउन नसकेपछि नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको हो।
प्रदेश प्रमुखको कार्यालयले सूचना जारी गर्दै दुईभन्दा बढी दलको समर्थनमा स्पष्ट बहुमत देखिने आधार सहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको छ। जसका लागि वैशाख १४ गते बिहीबार ४ बजेसम्म समय दिइएको छ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेकपा (एमाले)का २९, नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टीका तीन, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन‚ राष्ट्रिय जनमोर्चाका एक, नेकपा (एकीकृत समाजवादी)का एक र स्वतन्त्र एक सांसद छन्।