फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो?
जहाजका सबै ‘पारामिटर नर्मल’ भएर पाइलटले उडानलाई निरन्तरता दिने निर्णय लिएको देखिन्छ।
वैशाख ११ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इन्जिनमा खराबी देखियो। विमानस्थलबाट उडान भरे लगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ ७३७-८००’ जहाजको इन्जिनमा ठूलो आवाज सहित आगोको मुस्लो देखियो।
फ्लाई दुबईको जहाजमा के भएको हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न अनुमान सार्वजनिक भएका छन्।
जहाजमा चरा ठोक्किएर विस्फोट भएको भन्ने हल्ला फैलिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बाहिर आएको हल्ला जस्तो जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएका छन्। तथापि, दुबईको ‘गभर्मेन्ट अफ फ्लाई दुबई मिडिया अफिस’ ले भने सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त जहाजमा चरा ठोक्किएर विस्फोट भएको दाबी गरेको छ।
जहाज मर्मत सम्बन्धी इन्जिनीयर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको जहाजमा देखिएको प्राविधिक समस्या सामान्य रहेको र यस किसिमको घटना विगतमा पनि हुने गरेको बताए।जहाज मर्मतमा अनुभव सँगालेका उनी भन्छन्, “फ्लाई दुबईको जहाजमा भएको जस्तो घटना सामान्य हो, यसमा आत्तिनु पर्दैन, यस्ता प्रकृतिका घटना विगतमा पनि हुने गरेको थियो। विगतमा एकदेखि दुई पटकसम्म मात्र ठूलो आवाज सुनिन्थ्यो। तर, यस पटक भने चार पटकसम्म ठूलो आवाज सहित आगोको मुस्लो बाहिर आउने घटना भने गम्भीर भएको सङ्केत हो। अनुसन्धान नगरी थप बोल्न मिल्दैन।”
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का एक वरिष्ठ पाइलटका अनुसार कुनै पनि जहाजमा प्राविधिक समस्या देखिएपछि ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर’ हुन्छ। त्यस अनुरूप ‘चेकलिस्ट फलो’ गरिन्छ। त्यसपछि सबै चिज नर्मल भएपछि मात्रै अपरेटिङ गरिन्छ।
“जहाजको इन्जिनको बाहिरबाट हेर्दा आगो देखिन्छ। चरा छिरेको रहेछ भने पनि त्यो आगो भएर बाहिर निस्कन्छ। ककपिटभित्रका पाइलटले सबै उपकरण जाँच गरेर ठीक छ भनेपछि मात्रै जहाज उडाउने निर्णय लिन्छन्,” उनले भने, “जहाजको इन्जिन लगायत कुनै पनि समस्या आएमा ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्ड’ अनुरूप ‘चेकलिस्ट फलो’ गरिन्छ, त्यसपछि ‘एसओपी’ हुन्छ। रिस्कको पारामिटर जाँच गरेपछि पाइलटले निर्णय लिन्छन्।”
निगमका ती वरिष्ठ पाइलटको भनाइमा जहाजको इन्जिनबाट आवाज सहित आगो निस्कने दुई अवस्थामा हुन्छ, पहिलो चरा वा कुनै पनि सामान इन्जिनभित्र पसेर हुन्छ भने अर्को जहाजको इन्जिनको कम्प्रेसर स्टल भएर वा इन्जिनमै प्राविधिक समस्या भएर आगो निस्कन्छ। इन्जिनीयर श्रेष्ठले भने इन्जिनमा हावाको कमी हुँदा अर्थात् ‘कम्प्रेसर स्टल’ भएमा पनि ठूलो आवाज सहित आगोको मुस्लो बाहिर आएको बताए।
श्रेष्ठका अनुसार जहाजको इन्जिनको मुखमा चरा पसेको वा हावामा उडिरहेको कागजको टुक्रा परेमा पनि विस्फोट गराउन सक्छ। “सानो कागज मात्रै पनि इन्जिनमा परेमा पड्किन्छ। कम्प्रेसरबाट हावा आवश्यकता अनुसार नहुँदा कहिलेकाहीं यस्तो आवाज सहित आगो निस्कन्छ,” श्रेष्ठले भने। जहाज उड्ने बित्तिकै ठूलो आवाज सहित आगोको मुस्लो निस्किएको समयमा जहाज ‘थर्थराउँछ’ र पूरै हल्लिन्छ। यस्तो अवस्थामा इन्जिनको पछाडिबाट आगोको ज्वाला निस्कने उनको भनाइ छ।
हावा र इन्धनको ‘रेसियो’ नमिलेकाले विस्फोटको आवाज आएको विज्ञहरूको अनुमान छ। विज्ञका अनुसार जहाजको इन्जिन चालू हुँदा आगो बलिरहेकै हुन्छ। आगोले नै इन्जिनलाई पावर दिनु सामान्य कुरा हो। यस्तो वेला पाइलटले होशियारी अपनाउनुपर्छ।
उडिरहेको जहाजको इन्जिन खराब भएको भए काठमाडौं विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था हुन्थ्यो। जहाजका सबै ‘पारामिटर नर्मल’ भएर उडानलाई निरन्तरता दिने पाइलटले निर्णय लिएको देखिन्छ। यस्तो अवस्थामा पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ।
पाइलटले होशियारीपूर्वक पारामिटरको चेकजाँच गरे पनि जहाजलाई गन्तव्यतिर लगेको देखिन्छ। जहाजमा प्राविधिक समस्या देखिनासाथ पाइलटले जहाजलाई फन्को लगाएर ‘इन्डिकेटर र पारामिटर’ चेकजाँचपछि उडान गर्न सक्ने श्रेष्ठको भनाइ छ।
सफल अवतरण
विमान चालकले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करीब २१ हजार फिट उचाइमा झन्डै ११ मिनेट जहाज आकाशमा ‘होल्ड’ (फन्को लगाएर) गरेर जहाजको इन्जिनको ‘कन्डिसन’ जाँच गरे। जहाजको सिङ्गल इन्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो। त्यतिन्जेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ भइसकेका थिए।
फ्लाई दुबईको जहाज कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगो देखिएपछि उक्त जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई जहाजको बायाँ इन्जिनमा आगलागी भएको जानकारी दिएका थिए। उक्त जहाजका सबै इन्डिकेटरको चेक गरेपछि पाइलटले थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए।
विमानस्थलको टावरका एटीसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए। जहाजले सामान्य रूपमा उडान भरेर दुबईको ‘दुबई इन्टरन्याशनल एयरपोर्ट’ मा सकुशल अवतरण गर्यो। फ्लाई दुबई र त्यहाँको नियामक निकायले जहाज अवतरण गरेको सन्देश दिए। नेपाली समय अनुसार राति २ बजे (स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो। उक्त जहाजमा १६८ यात्रु सवार थिए।
आपत्कालीन संयन्त्र सक्रिय
उडिरहेको वा उडान भर्नासाथ जहाजमा प्राविधिक समस्या देखिएमा जहाज तत्कालै होल्ड गरेर इन्डिकेटर जाँच गरेपछि जहाजको इन्जिन फेल भएको खण्डमा आपत्कालीन अवतरण गर्नुपर्छ। सोमबारको घटनामा जहाजको सबै इन्डिकेटरले काम गरेकाले गन्तव्यतिर लगिएको हो।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को म्यानुअल अनुसार जहाजबारे अनुसन्धान गर्नुपर्ने हुन्छ। उक्त अनुसन्धानपछि मात्रै के कारणले घटना घटेको भन्ने बाहिर आउने उनले बताए।
नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार चराको जोखिम नियन्त्रणका लागि शिकारीको व्यवस्था गरिएको छ। उनले जहाजमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताए। “नेपालमा दर्ता नभएको जहाज भएकाले फ्लाई दुबईको जहाजको अध्ययन सम्बन्धित मुलुकले गर्नेछ। नेपालका तर्फबाट जानकारी गराइसकेका छौं, जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन, के भएको हो भन्ने विषय अनुसन्धानले पत्ता लाग्ला, सहजीकरणका लागि प्राधिकरण तयार छ,” प्रवक्ता निरौलाले भने।
निराैलाले विमानस्थलको धावनमार्ग र आसपास निरीक्षण गर्दा चरा नभेटिएकाले घटना के कारणले भएको हो भन्ने अहिले पुष्टि गर्न नसकिने उल्लेख गरे। प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सोमबार जहाजको इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो।
अवतरणका क्रममा रहेका विमानलाई राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म आकाशमा होल्ड गराइएको थियो। विमानस्थलमा दमकल, ‘लोकल स्ट्यान्डबाई’ गरियो। यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकस्मिक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन्।
दमकल सहित सवारीसाधन, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखिएको थियो। पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलाएको थियो। जहाजका सम्बन्धमा नेपालको एटीसीसँग सोधपुछ गर्न सक्छन्। नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो। तर, जहाज दुबईमै अवतरण भएकाले दुबईको सिभिल एभिएशन अथ्योरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ।
आगो लागेपछि जहाजको इन्जिन बन्द गरिन्छ। सिंगल इन्जिनमा जहाज उड्छ, तर गति कम हुन्छ। गन्तव्य पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिए। विमानस्थलको टावरका एटीसीले विमानचालक (पाइलट)सँग कम्युनिकेशन गरेपछि जहाज सामान्य तवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीको भनाइ छ। -रासस