सात लाख बराबरको नक्कली नोट सहित एक महिला पक्राउ
धनुषाको जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट सात लाख ७१ हजार ५०० रुपैयाँ बराबरको नक्कली नोट सहित एक महिला पक्राउ परेकी छन्।
विदेह नगरपालिका-६ की अनुकुमारी साहलाई एक हजार रुपैयाँको ४९२ थान र ५०० रुपैयाँको ५५९ थान नक्कली नोट सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
२५ वर्षीया अनुको झोला खानतलासी गर्दा नक्कली नोट फेला पारेको प्रहरीको भनाइ छ। उक्त नोट भारतबाट ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ।