चितवन-२ मा फराकिलो मतान्तरले रवि लामिछानेको जित सुनिश्चित
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित सुनिश्चित भएको छ। आठ हजार ३८ मत गन्न बाँकी हुँदा लामिछाने ४० हजार ३४९ मतान्तरले अगाडि छन्।
पछिल्लो परिणाम अनुसार‚ रास्वा सभापति समेत रहेका लामिछानेले ५० हजार २०५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ नौ हजार ८५६ मत प्राप्त गरेका छन्। यस्तै‚ एमालेका रामप्रसाद न्यौपानेले नौ हजार ४८७ मत प्राप्त गरेका छन्।
अहिलेसम्म ७० हजार २३९ मत गणना भइसकेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ। एक लाख २४ हजार ६९५ जना मतदाता रहेको यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो।
गत मंसीरमा सम्पन्न निर्वाचनमा यस क्षेत्रमा लामिछाने ४९ हजार ३०० मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए। नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएकाले यहाँ उपनिर्वाचन भएको हो।