बारा-२ मा कसको कति मत?
बारा-२ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
यादवले नौ हजार ८७० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाहाले ६ हजार ७७१ प्राप्त गरेका छन्। नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले ३ हजार ७०० र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले एक हजार १७४ मत प्राप्त गरेका छन्।
यादवलाई सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत पार्टीको समर्थन रहेको छ।
यस क्षेत्रमा मंसीरमा सम्पन्न निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव १३ हजार ८२२ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवचन्द्रप्रसाद कुसवाहाले १३ हजार ४६८ मत प्राप्त गरेका थिए। रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएकाले यस क्षेत्रमा उपनिर्वाचन भएको हो।
गत मंसीरको निर्वाचनमा उपेन्द्र यादव सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए। शिवचन्द्रप्रसाद कुसवाहा भने बारा-२ मा रामसहायसँग पराजित भएका थिए। माओवादी केन्द्र छाडेका कुसवाहा यस पटक जनमतबाट उम्मेदवार बनेका हुन्।