जमीनदारीले मासेको मधेशी मौलिकता
राणाकालमा छुवाछूत व्यवस्था लादिएसँगै मधेशी समाजको समभाव र सहअस्तित्व सहितको सामुदायिक अभ्यास बिथोलियो।
राणाकालअघि मधेशमा छुवाछूतले जरो गाडिसकेको थिएन। सबै जाति र वर्ग मिलेर सामूहिक भोज गर्थे। हरेकले भुइँमा बसेर खानुपर्थ्यो। एउटा सत्रमा पलेटी कसेर बसेकाहरू खाना बीचमै छाडेर उठ्न पाउँदैनथे। कसैलाई दण्ड गर्नुपर्दा उसको अगाडिबाट खाना पस्किइएको पात तान्ने र केही समय भोजमा सामेल हुन नदिने व्यवस्था थियो।
अहिलेका भोजमा सबै परिकार पातमा पस्किसकेपछि दालमा घ्यू हाल्ने चलन छ। पहिला भात र घ्यू मिसाएर मात्र अन्य परिकार पातमा पस्किइन्थ्यो। अर्थात् पहिलो गाँस घ्यू-भात खाइन्थ्यो। भोजमा दही छुट्दैनथ्यो। खाइसकेपछि अन्त्यमा सुपारी दिइन्थ्यो।
महत्त्वपूर्ण निर्णयहरू सबै जातजातिका मान्यजन मिलेर गर्ने त्यो समाज पूर्णतः कृषिमा आश्रित थियो। खेतमा वार्षिक तीन बालीसम्म लगाइन्थ्यो- दुई बाली धान र एक बाली दलहन। गहुँ लगाउने चलन थिएन बरु मडुवा (कोदो) हुन्थ्यो। तरकारी बालीसँगै सुर्ती पनि रोपिन्थ्यो। सिंचाइका लागि समुदायले नै नदीहरूमा बाँध बाँधेर साना-ठूला नहर बनाएका हुन्थे। एउटा खेतबाट अर्कोमा पानी लैजान करिन (पानी मात्र वारपार लैजाने सानो डुङ्गा), डुकुल (बाँसले बनाइएको पानी फ्याँक्न मिल्ने भाँडो) र सुपाको प्रयोग गरिन्थ्यो।
ट्र्याक्टर आइसकेको थिएन, जोत्न गोरु नै प्रयोग हुन्थ्यो। खाना पकाउन प्रयुक्त दाउराको खरानी र बस्तुभाउको गोबरबाट मल बनाइन्थ्यो। हेङ्गा (माटो सम्याउने काठको मुढा), पालो (जुवा), कनेल (जुवामा लगाइने काठको किला), जाबी (गोरुको मुखमा बाँध्ने मिल्ने बाँसको जाली) र डोरी आदि परम्परागत सामग्री प्रचलनमा थिए।
पहिलो पटक रोपाइँ गर्न जाँदा बाजागाजा सहित वनदेवी र अन्नदेवीको पूजा गर्ने परम्परा थियो। यसलाई ‘गाभ’ लगाउने भनिन्थ्यो। त्यस दिन किसानका घरमा ठूलो भोज हुन्थ्यो। बर्खामा बाँस र पातबाट बनाइएको ठूलो छोपी (छाता) ओढेर काम गरिन्थ्यो। उति वेला भारतीयहरूले मधेशमा छोरीको बिहे गरिदिनुको एउटै कारण यहाँ अन्नको कमी नहुनु थियो। कमसेकम पेटभर भात खान पाइने भएकाले मधेशलाई ‘भताहा देश’ पनि भनिन्थ्यो। उत्पादित अन्न भारतीय सीमावर्ती बजारसम्म पुग्थ्यो। भारतीय सीमाक्षेत्रका भन्दा मधेशका बासिन्दा सम्पन्न मानिन्थे।
उत्पादित बालीको केही अंश शुरूमै धार्मिक क्रियाकलाप वा नजिकको मठमन्दिरमा दानको प्रयोजनले छुट्याइन्थ्यो। बाँकी अन्नमा श्रमिक, ब्राह्मण, हजाम, माली, पान खुवाउने, कुम्हार, सरसफाइ गर्ने सबैको भाग लाग्थ्यो। त्यो समय बासमती, करियाकमोट (मार्सीजस्तै) र गमहरी धान महत्त्वपूर्ण मानिन्थे। छठ पर्वमा गमहरी पीठोको लड्डु, बासमती वा जौको ठेकुवा चढाउने परम्परा छ। गुड (मिठा) हालेर खीर-प्रसाद बनाइन्थ्यो। किसानका घरमा गुड र चना टुट्दैनथ्यो। जीवनपद्धति नै बनिसकेको गुडबाट हावा, छडी लगायत विभिन्न मिठाई बनाइन्थे। जोत्ने गोरुलाई पनि चना र गुड खुवाइन्थ्यो।
वैशाख १ को सतुवाइन पर्वमा कुलदेवतालाई जौको सत्तु, गुड, आँपको चिचिला चढाउने चलन अझै छ। वैशाख २ को जुडशीतल पर्वमा पोखरी तथा इनारको माटो जीउमा दल्ने गरिन्थ्यो। यसो गर्दा छाला सम्बन्धी रोग नलाग्ने विश्वास थियो। पहिले धनी-गरीब सबैले माटोको भाँडोमा राखिएको पानी खान्थे। खाना पकाउन पनि माटो र फलामको भाँडोसँगै छिटपुट रूपमा ‘फुलहा बर्तन’ प्रयोग गरिन्थ्यो।
पर्व-त्यौहारमा माटोको मूर्ति बनाउने चलन थिएन। वर्षमा एक पटक स्थानीय स्तरमा महादेव, भगवती र ब्रह्महरूको भव्य पूजा हुन्थ्यो। पूजामा हरेक समुदाय सहभागी हुन्थ्यो। कृषिकर्म जस्तै मठमन्दिर निर्माण, जीर्णोद्धार, गुरुकुल स्थापनामा पनि मानिसहरू सरकारको भर पर्दैनथे। समाजमा मनकारीहरूको कमी थिएन। उनीहरूले नै समुदायको हितमा ठाउँ ठाउँमा पोखरी खन्न लगाएका हुन्थे। नदी किनारबाट बस्ती अन्यत्र सर्न थालेपछि पोखरी खन्ने चलन बढेको थियो।
बिस्तारै इनार खन्न शुरू भयो। पछि ती इनार जमीनदारहरूले कब्जा गरे। सँगसँगै छुवाछूतको व्यवहार हुन थाल्यो। हरेक वर्ग र जातिका छुट्टाछुट्टै इनार हुन थाले। सामूहिक भोज बिस्तारै जातीय हुन थाल्यो।
अलिक सम्पन्न किसानका बालबच्चालाई पढाउन स्थायी रूपमै गुरुजी राखिन्थे। गुरुजी अधिकांश कायस्थ जातिका हुन्थे। अक्षरारम्भ श्रीपञ्चमी होइन, गणेश चतुर्थीबाट गरिन्थ्यो। शिक्षारम्भको पहिलो मन्त्र हुन्थ्यो- ॐ नमः सिद्धम्। पछि राणाकालमा ब्राह्मणहरूको दबाबमा अन्य जातिले ‘ॐ नमः’ भन्न नहुने भन्दै त्यसलाई ‘ओ ना मा सिद्धम्’ मा बदलियो।
श्रीपञ्चमी चाहिं किसानकेन्द्रित पर्व थियो। यसै दिन गोरुलाई रङ्गीचङ्गी बनाउने, श्रमिकलाई नयाँ कपडा दिने, नयाँ श्रम सम्झौता गर्ने, चामलको पीठोबाट ‘अरिपन’ बनाएर त्यसमा हलो र जुवा छोपिने गरी धान राख्ने, त्यो धान पछि श्रमिकलाई दान गर्ने, औजारहरू लोहारकहाँ लगेर धार लगाउने गरिन्थ्यो। प्राचीन मधेशी समाजमा आयुर्वेद नै स्वास्थ्योपचारको माध्यम थियो। वैद्यहरू उपचारसँगै समाजमा औषधीय गुणयुक्त बिरुवाबारे ज्ञान समेत बाँड्थे।
गर्भवतीको उपचार र सही समयमा प्रसूति गराउन निपुण महिलाहरू हुन्थे। नवजात शिशुलाई नामकरण अर्थात् छठिहार (षष्ठी) पूजाका दिन पहेंलो रङको भोटो, पाइजामा र टोपी पहिर्याइन्थ्यो। यसमा आध्यात्मिक कारण थियो। कुर्ता त पछि मात्र आएको हो। पहिले सबैजसो मानिस कमीज र पाइजामा लगाउँथे।
राणाकालमा आएपछि भने मधेशका यस्ता सामुदायिक मूल्यमान्यता भत्किन थाले। सरकारले भारतीय ठेकेदारलाई कर असुल्न प्रोत्साहन गर्दा किसानको जग्गा खोसेर जमीनदार बन्ने, तिनले आफू अनुकूलका नयाँ नियम बनाउने, छुवाछूतलाई बढावा दिने, श्रमिक वर्गलाई बँधुवा मजदूर बनाउने प्रवृत्ति बढ्यो। सम्पन्न किसानले श्रमिकका लागि छुट्याएको धर्मभकारीलाई जमीनदारहरूले ऋणमा धान दिने चलनमा बदलेर किसान र श्रमिकको सम्पत्तिहरण गर्न थाले। जमीनदारले छुवाछूत मान्नैपर्ने उर्दी गरेपछि श्रमिकले किसानका घरबाट आएको जलखई (खाजा) समेत खान नपाउने भए। जमीनदार हावी हुँदा किसान र श्रमिक विपन्नताको शिकार हुन पुगे।
(जलेश्वरवासी ध्रुव राय, राजेन्द्रप्रसाद चौधरी र उपेन्द्र पाठकको सहयोगमा। हिमालको २०८० वैशाख अंकबाट।)