सत्य निरूपण विधेयकमाथि विशेष समितिमा छलफल हुने
प्रमुख तीन दलबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न विशेष समिति गठन हुने भएको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरूको सोमबार काठमाडौंमा बसेको बैठकमा विशेष समिति गठन गरेर विधेयकबारे छलफल गर्ने निर्णय भएको एमाले नेता पदम गिरीले जानकारी दिए।
सरकारले संसद्मा दर्ता गरेको सत्य निरूपण विधेयकले पीडितलाई न्याय दिन नसक्ने भनेर आलोचना भइरहेका वेला प्रमुख दलहरूले विशेष समितिमा छलफल गर्ने निर्णय गरेका हुन्।
यस्तै, संवैधानिक परिषद् सम्बन्धी विधेयक संसद्बाट पारित गर्ने निर्णय समेत भएको नेता गिरीले जानकारी दिए। बैठकमा सहभागी नेता गिरीका अनुसार संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति कांग्रेसले र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को सभापति एमालेले लिने भएका छन्।
त्यस्तै, प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति सहित दुई वटा समितिको सभापति आफ्नो पार्टीले पाउने सहमति भएको एमाले नेता गिरीले बताए।