भलिबल: जितको अपेक्षा, खेलाडीलाई उपेक्षा (भिडिओ सहित)
पारिश्रमिकविनै देशका लागि खेलिरहेका राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीले घाइते हुँदा पनि राज्यबाट उपचार पाउने गरेका छैन।
२०७६ माघ १० गते। पाँचौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिपको फाइनल खेलमा विभागीय टोली एपीएफ र न्यू डायमन्ड भिड्दै थिए। तेस्रो सेटको खेल चलिरहेको थियो। उफ्रेर ‘स्पाइक’ गरेपछि ‘ल्यान्ड’ गर्ने क्रममा न्यू डायमन्ड तथा राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी प्रतिभा मालीको खुट्टाको सन्तुलन बिग्रियो। माली भलिबल कोर्टमै ढलिन्। उनको घुँडामा ठूलो चोट लाग्यो।
मालीलाई तत्काल अस्पताल पुर्याएर शल्यक्रिया गरिए पनि चोट अझै पूर्ण रूपमा निको भएको छैन। करीब एक महीनाअघि सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको अभ्यासका क्रममा उनको चोट बल्झियो। उनी अहिले पनि थेरापी गरिरहेकी छन्।
खेल जीवनको चुलीमा रहेका वेला घाइते हुनुपर्दा माली चिन्तित थिइन्। त्योभन्दा बढी चिन्ता उनलाई उपचार खर्च कसरी जोहो गर्ने भन्ने थियो। तथापि उनको उपचारमा राष्ट्रिय खेलकूद परिषद्, भलिबल संघ सहित व्यक्तिगत तवरबाट पनि सहयोग भयो।
“त्यो खेलमा (घाइते हुँदा) ठूला व्यक्तित्वहरूको अघि नै म ढल्नुले उपचार गराउनुपर्छ भन्ने दबाब बनाएर होला, मलाई सहयोग भयो। अरू खेलाडीहरूको यस्तो अवस्था छैन,” माली भन्छिन्।
पुरस्कार बेचेर उपचार
राष्ट्रिय टोलीकी अर्की खेलाडी कामना विष्ट खेलकै दौरान घाइते हुँदा पनि उपचार सुविधा नपाउनेमध्ये पर्छिन्। पाँच वर्षअघि एनभीए राष्ट्रिय भलिबल च्याम्पियनशिपमा नेपाल पुलिस र न्यू डायमन्ड भिड्दै थिए। विष्ट पुलिसको टोलीमा थिइन्। खेलको दौरान उनको घुँडामा समस्या आयो। उनलाई नेपाल प्रहरीको अस्पताल लगियो। त्यहाँ पूरै उपचार सम्भव भएन।
त्यसयता मेडिसिटी, निदान लगायत विभिन्न अस्पताल धाएपछि उनलाई थोरै स्वास्थ्य लाभ भएको छ। यद्यपि अहिले पनि विष्ट थेरापी गराइरहेकी छन्।
यसबीच उपचारमा उनको तीन लाखभन्दा बढी खर्च भइसकेको छ। खर्च जुटाउन उनले पुरस्कारमा पाएको स्कूटर पनि बेचिसकिन्। “उपचार खर्चबारे भलिबल संघ, खेलकूद परिषद्ले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै सहयोग गरेका छैनन्,” विष्ट भन्छिन्।
उनका अनुसार यस्तो समस्या भोग्ने उनी एक्ली होइनन्। धेरै महिला खेलाडीले आफ्नोभन्दा नाजुक अवस्था भोगिरहेको उनी बताउँछिन्। आफ्नै खर्चमा उपचार गराउन नसक्नेहरू खेलबाटै पलायन हुँदै गएको सुनाउँछिन्।
तलब न सुविधा
राष्ट्रिय महिला भलिबल खेलाडीलाई आजसम्म पनि सरकारले मासिक तलब दिएको छैन। क्लब तहमा पनि एपीएफ, नेपाल पुलिस लगायत विभागीय टोलीबाट खेल्नेहरूले मात्र तलब बुझ्ने गरेका छन्। अरू क्लबमा त्यो सुविधा पनि छैन।
न्यू डायमन्ड यूथ स्पोर्टस् क्लब काठमाडौंका अध्यक्ष तथा टीम प्रशिक्षक कुमार राई क्लब चलाउनै धौधौ परेको अवस्थामा खेलाडीलाई तलब दिनु असम्भवप्रायः भएको बताउँछन्। राईका अनुसार क्लबका मुख्य १२ खेलाडीलाई भने प्रतियोगिता जितेको खण्डमा पाएको पुरस्कारबाट केही रकम पकेट खर्च भनेर दिने गरिएको छ। “हाम्रो अन्य आर्थिक स्रोत हुँदैन। त्यसैले पनि तलब दिन सकिएको छैन,” राई भन्छन्।
तलब नपाएरै धेरै महिला भलिबल खेलाडी विदेश पलायन भएका छन्। खेलाडीको न्यूनतम डाइटमा मात्र मासिक १५ हजारसम्म खर्च हुन्छ। यस्तै जुत्ता, फिटनेस, प्राविधिक सामग्रीमा पनि उस्तै खर्च छ।
अझ घाइते खेलाडीले त थेरापी गराउँदा ५० हजारभन्दा बढी खर्च गरिराख्नुपरेको छ। विष्ट मात्रै होइन, अन्य खेलाडीले पनि घाइते भएपछि आफैंले उपचार गर्नुपर्यो। २०७६ साल यता मात्र माली, सरस्वती चौधरी, नेविका चौधरी घाइते भए। त्यसअघि विष्ट र कमला पुन घाइते भएका थिए।
यसरी खेलिरहेका खेलाडीलाई भलिबल संघ र राष्ट्रिय खेलकूद परिषद्ले यात्रा खर्च बाहेक अन्य सुविधा दिने गरेको छैन। कुनै प्रतियोगिता जिते बापत पाउने पुरस्कार रकम नै खेलाडीहरूको आम्दानीको स्रोत हो।
भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द खेलाडीलाई तलब दिने मुख्य जिम्मेवारी सरकारको भएको बताउँछन्। तलब नपाएर खेलाडीहरूको मनोबल घट्ने गरेको पनि चन्द स्विकार्छन्। देशको राष्ट्रिय खेल भए पनि भलिबल उपेक्षामा परेको उनको गुनासो छ।
यस बाहेक प्रशिक्षणका लागि आवश्यक कभर्डहल वा कोर्ट नहुनु, खेलका लागि आवश्यक सामग्री, खेलाडीहरूको नियमित स्वास्थ्य परीक्षण र बीमा नहुनु लगायत समस्या पनि खेलाडीले झेलिरहेका छन्। “हामीसँग बजेट हुन्थ्यो भने हामी आफैं खेलाडीहरूलाई तलब दिन्थ्यौं,” अध्यक्ष चन्द भन्छन्।
आर्थिक कठिनाइकै बीच अन्तर्राष्ट्रिय प्रतियोगिता
भलिबल संघले आगामी जेठ ८ देखि १६ गतेसम्म राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा प्रथम एशियाली तथा सेन्ट्रल एशिया (काभा च्यालेन्ज कप) अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै छ। प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, बाङ्लादेश, किर्गिस्तान, उज्वेकिस्तान र कजाखस्तान सहभागी हुँदै छन्।
तीमध्ये कजाखस्तान र भारत वरीयतामा नेपालभन्दा माथि छन्। यसकारण पनि नेपाललाई उपाधि जित्न चुनौतीपूर्ण हुने देखिन्छ।
नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म भारतलाई हराउन सकेको छैन। २०७६ मंसीरमा आयोजित १३औं दक्षिणएशियाली खेलकूदको महिलातर्फको फाइनलमा नेपालले भारत विरुद्ध दुई सेटको अग्रता लिएर पनि उपाधि गुमाएको थियो। कजाखस्तानसँग त नेपालले अहिलेसम्म खेलेकै छैन। जसले गर्दा यो आफैंमा अर्को चुनौती भएको सहायक प्रशिक्षक जगदीश भट्ट बताउँछन्।
प्रतियोगिताकै लागि अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा बेल्जियमका प्रशिक्षक जान डी ब्रान्ट नेपाल आएका छन्। मुख्य प्रशिक्षकका रूपमा उनले खेलाडीलाई तयार पारिरहेका छन्।
राष्ट्रिय महिला भलिबल टोलीलाई सघाइरहेका स्पोर्ट इन्जुरी रिहाबिलिटेशन, हेल्थ एन्ड फिटनेस कोच लोकराज गुरुङ खेलाडीको स्वास्थ्य तथा शरीरको अवस्था बिग्रिएको बताउँछन्। “खेलाडीहरू ३० वर्षभन्दा कम उमेर भएकाले मात्र स्फूर्तिले खेल्न सकेका छन्। अन्यथा उनीहरूको फिटनेस, हेल्थ, अन्य शरीरको अवस्था बिग्रिएको छ,” गुरुङ भन्छन्।
आर्थिक कठिनाइ देखेर गुरुङले निःशुल्क तालीम गराइरहेका छन्। गुरुङका अनुसार वर्षभरि खेल्ने, तालीम धेरै हुने तर स्वास्थ्य र सुगठनको अभ्यास र आवश्यक पोषण नपाउँदा खेलाडीहरू घाइते हुन्छन्। “खेलाडीलाई डाइटबारे ज्ञान पनि छैन। फिटनेस पनि नियमित छैन। खासमा यसरी नै इन्जुरी बढ्ने हो,” उनी भन्छन्।
२५ वर्षदेखिको आश
सहायक प्रशिक्षक भट्ट राज्यले आवश्यक नीति बनाउला, बजेट देला, खेलाडीका सुविधा र खेलको प्रवर्द्धन गर्ला भनेर आश गर्दागर्दै २५ वर्ष बितेको बताउँछन्। खेलाडी मात्र नभई प्रशिक्षकहरूको अवस्था पनि नाजुक रहेको उनको गुनासो छ।
उनका अनुसार भलिबल टीम अहिलेसम्म ‘भगवान् भरोसा’ मै चलिरहेको छ। “भलिबल संघ एक्लैको प्रयासले यति पनि भइरहेको छ। अन्यथा भलिबल खेलमा नेपाली महिला टीमको उचाइ यहाँसम्म पनि रहँदैनथ्यो,” उनी भन्छन्।
संघका अध्यक्ष चन्द पनि आफूहरूले पाउने बजेट अपूग भएको बताउँछन्। उनी भन्छन, “संघले पाउने वार्षिक १२ लाख बजेटले त चिया खान पनि अपूग हुन्छ। हामीले सक्ने त गरिरहेकै छौं।”
अर्की सहायक प्रशिक्षक कोपिला उप्रेती पहिले पहिले अन्तर्राष्ट्रिय प्रतियोगिताअघि ६ महीना अभ्यास हुने भए पनि यस पटक तीन महीना मात्र गरिएको बताउँछिन्। अहिलेसम्म खेलाडीहरूलाई ‘क्लोज क्याम्प’ मा राख्न नसकेको उप्रेती सुनाउँछिन्।
“वर्षभरि नै खेलाडीहरूलाई ध्यानमा राख्दै, खेलको केही समयअघि क्लोज क्याम्पमा राख्न सके सबैको डाइट, रुटिन मिल्थ्यो। घर जाँदा आउँदा यात्राको सम्भावित जोखिम पनि टर्थ्यो,” उनी भन्छिन्।
यता राष्ट्रिय टोलीकी कप्तान अरुणा शाही भने पहिलो पटक विदेशी र सक्षम प्रशिक्षक पाएकामा संघप्रति कृतज्ञ छिन्। यद्यपि उनी पनि सक्दो धेरै मैत्रीपूर्ण खेलहरू आयोजना भएमा र क्लोज क्याम्पमा चाँडै राखिदिए सजिलो हुने बताउँछिन्।
खेलाडीहरूको यही अपेक्षा पूरा गर्न विभिन्न प्रायोजकहरूसँग कुरा भइरहेको संघका अध्यक्ष चन्द बताउँछन्। “हामीलाई सरकारले ५० लाख दिन्छु भनेको छ। बाँकी खर्च स्पोन्सर, टिकट, ब्यानर, ब्रान्डिङबाट नै मिलाउन खोजिरहेका छौं। यस खेललाई सक्ने जति ऐतिहासिक बनाउनेछौं,” उनी भन्छन्। तर, प्रतियोगिताको खर्च दुई करोड ६१ लाख हुने संघको आकलन छ।
जित नै अन्तिम लक्ष्य
आसन्न काभा च्यालेन्ज कपका सन्दर्भमा नेपाली टोलीका सहायक प्रशिक्षक भट्ट रक्षापङ्क्ति नै टोलीको सबल पक्ष भएको बताउँछन्। उनी खेलाडीहरूले सोचेभन्दा राम्रो खेले भने त्यो नै जित हुने ठान्छन्।
“हाम्रा दुई-तीन जना खेलाडी घाइते पनि छन्। हामीभन्दा बलियो टीम आए कठिन त हुन्छ नै,” भट्ट भन्छन्, “तर, खेलाडीले सोचेभन्दा राम्रो खेले भने त्यही जित हो। जित नै अन्तिम लक्ष्य हो।”
खेलाडीहरू पनि सहायक प्रशिक्षक भट्टले जस्तै सोचिरहेका छन्। कप्तान शाही मैदानमा उत्रिएपछि जित्नु बाहेक अर्को उद्देश्य नहुने बताउँछिन्।
“ग्राउन्डमा पसेपछि हिजो अभ्यास गर्दाको समयमा के अभाव थियो भन्ने भुलिन्छ। अर्को टीमलाई कसरी हराउने भन्ने मात्र सोचिन्छ, देशलाई जिताउनुपर्छ भन्ने भावनाले जोश आउँछ,” अर्की खेलाडी विष्ट गम्भीर हुँदै भन्छिन्, “यहीं त देशप्रेम होला।”
तर, यो देशप्रेम र दृढ लक्ष्यका बावजूद हरेक पटक भलिबल खेलाडीलाई अभाव महसूस गराइरहने पाटो हो, कभर्डहल। दशरथ रङ्गशालामा रहेको देशको एक मात्र भलिबलको कभर्डहल सन् १९७३ मा बनेको हो। राष्ट्रिय खेलकूद परिषद्को स्वामित्वमा रहेको कभर्डहलमा भलिबल टीमले धीत मरुन्जेल अभ्यास गर्न समेत पाउँदैन। यही कभर्डहलमा जुनियरदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै खेलहरू हुने भएकाले राष्ट्रिय टीमले जुन वेला चाह्यो त्यो वेला अध्यास गर्न नपाउने अध्यक्ष चन्द बताउँछन्।
आफ्नै बलबुतामा देशका लागि खेल्दा पनि उनीहरूलाई कसैले हेरेको छैन्। उनीहरूका आवश्यकता पूरा गरिदिएको छैन। वर्षौंदेखि यसरी परिवारकै भरमा खेल्दा भलिबल खेलाडी निराश पनि छन्। राज्यले के गरिदिए हुन्थ्यो? राष्ट्रिय खेलाडी विष्ट निराश हुँदै भन्छिन्, “राज्यले एक पटक खेलाडीका अभाव र आवश्यकताबारे सोधिदेओस्।”