बारा-२ मा पनि मतगणना शुरू
प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा-२ मा पनि मतगणना शुरू भएको छ।
बाराको कैलयास्थित शिक्षा तालीम केन्द्रमा मतगणना शुरू भएको हो। आइतबार रातिदेखि नै मतगणना गर्ने तयारी गरिएको भए पनि मतपेटिका सङ्कलनमा समय लागेको थियो।
जसले गर्दा गएराति सर्वदलीय बैठक बस्न सकेको थिएन। आज बसेको सर्वदलीय बैठकमा सहमति बनेसँगै मतगणना शुरू भएको हो।
बारा-२ मा जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा (एमाले)का पुरुषोत्तम न्यौपाने, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेल उम्मेदवार छन्।
यो क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता छन्। जसमध्ये ६५ प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
तनहुँ-१ मा मतगणना चलिरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन्। चितवन–२ मा भने केही बेरमा मतगणना शुरू हुने जनाइएको छ।