वर्षाले खेल अवरुद्ध, नेपाल सेमिफाइनलमा प्रवेश
एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल वर्षाले अवरुद्ध हुँदा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
मूलपानी क्रिकेट मैदानमा तय गरिएको खेल वर्षाका कारण अवरुद्ध भएको हो। लगातार वर्षा भएपछि टस समेत भएन। जसले गर्दा अम्पायरले खेल रद्द भएको घोषणा गरे।
यससँगै नेपाल र साउदी अबरले एक-एक अङ्क बाँडेका छन्। यो एक अङ्क सहित नेपालको पाँच अङ्क भएको छ भने नेपाल सेमिफाइनलमा पुगेको छ। अब अर्को खेलमा ओमन र साउदी अरब प्रतिस्पर्धा गर्ने भएकाले नेपालको सेमिफाइनलमा स्थान पक्का भएको हो।
समूह ‘ए’ मा नेपालसँगै ओमन, साउदी अरब, मलेशिया र कतार छन्। तीन खेल सकिंदा नेपालको पाँच अङ्क छ भने दोस्रो स्थानमा रहेको ओमनको चार अङ्क छ।
त्यस्तै, तेस्रो स्थानमा रहेको साउदी अरब तीन र चौथो स्थानमा रहेको मलेशियाको दुई अङ्क छ। पुछारमा रहेको कतारले दुवै खेल हारेको छ। मलेशिया र कतारको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ।
अब ओमन र साउदी अरबमध्ये एक टोली सेमिफाइनलमा पुग्नेछन्। नेपाल, ओमन र साउदी अरबले एक-एक खेल खेल्न बाँकी छ।
ओमन र साउदीलाई सेमिफाइनलमा पुग्न जित्नै पर्नेछ। ओमनले जितेमा ६ अंकसहित सेमिफाइलनमा पुग्नेछ भने साउदीले जितेमा पाँच अंक सहित सेमिफाइनलको स्थान पक्का गर्नेछ।
त्यस्तै, हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण रद्द भएको छ। दुवै टोलीले एक-एक अङ्क बाँडेका छन्।
हङकङ पाँच अङ्क सहित समूह ‘बी’ को शीर्षस्थानमा छ भने बहराइन तीन अङ्क सहित तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको यूएईको चार अङ्क छ। सिंगापुर सेमिफाइनल यात्राबाट बाहिरिसकेको छ भने कुवेतको दुई खेलमा दुई अङ्क छ।
*अपडेट गरिएको।