तनहुँमा २० हजार मतगणना, नौ उम्मेदवारलाई दुईदेखि ११ हजार मत
तनहुँ-१ मा २० हजार मत गणना हुँदा सबैभन्दा बढी मत पाउने उम्मेदवारले ११ हजार र सबैभन्दा कम मत पाउने उम्मेदवारले दुई मत पाएका छन्।
शुरूआतदेखि नै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन्। उनले ११ हजार २२१ मत पाएका छन्।
त्यस्तै, दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले पाँच हजार ८८६ मत पाएका छन्। उनी शुरूआतदेखि नै वाग्लेलाई पछ्याइरहेका छन्।
नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार ४६८ मत पाएका छन्। चौथो स्थानमा रहेका उम्मेदवार भने धेरै पछाडि छन्।
मंगोल नेशलन अर्गनाइजेशनका प्रेमबहादुर थापाले १०९, राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ५३, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ३७, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले १६, नेपाल मजदूर किसान पार्टीका रामप्रसाद प्रजापतिले १४ र नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)का गणेश श्रेष्ठले दुई मत पाएका छन्।
निर्वाचन आयोगका अनुसार तनहुँ-१ मा ६३ हजार ७५७ मत खसेको थियो। यो क्षेत्रमा एक लाख २३ हजार ३०५ मतदाता थिए।