चितवनमा दिउँसो १ बजेबाट मतगणना हुने
प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत चितवन–२ मा आज दिउँसो १ बजेबाट मतगणना शुरू हुने भएको छ।
केही बेरअघि सम्पन्न सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना शुरू गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताए। उनका अनुसार निर्वाचन आचारसंहिता उल्लंघनको विषयलाई लिएर विवाद हुँदा मतगणना शुरू गर्न ढिलाइ भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले माफी माग्नुपर्ने अन्य दलले जिकिर गरेका थिए। जसले गर्दा मतगणना गर्ने विषयमा सहमति जुट्न सकेको थिए। निर्वाचन आचारसंहिता उल्लंघनको विषयलाई लिएर रास्वपाले आइतबारको सर्वदलीय बैठकमा माफी मागेको थियो।
सर्वदलीय बैठकमा केहीबेर विवाद भए पनि दिउँसो १ बजेदेखि मतगणना गर्ने विषयमा सबै दल सहमत भएका छन्। चितवन-२ मा नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र रास्वपाबाट रवि लामिछाने उम्मेदवार छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार चितवन–२ मा ७८ हजार २७७ मत खसेका छन्। यस क्षेत्रमा एक लाख २४ हजार ६९५ मतदाता रहेका थिए।