तनहुँमा एकतिहाइ मतगणना, कसले कति पाए?
प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत तनहुँ-१ मा सोमबार बिहान सवा १० बजेसम्म झन्डै एकतिहाइ मतगणना सकिएको छ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन्। उनले नौ हजार ४८३ मत पाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले रास्वपाका वाग्लेलाई पछ्याइरहेका छन्। भट्टराईले चार हजार ४७२ मत पाएका छन्।
त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो नम्बरमा छन्। खनालले दुई हजार ५६० मत पाएका छन्।
निर्वाचन आयोगका अनुसार तनहुँ-१ मा ६३ हजार ७५७ मत खसेको थियो। यो क्षेत्रमा एक लाख २३ हजार ३०५ मतदाता थिए।
त्यस्तै, बारा-२ मा आज बिहान ११ बजेदेखि मतगणना गर्ने तयारी भइरहेको छ। चितवन–२ मा भने सर्वदलीय बैठक बसिरहेको छ। बैठकले निर्णय गरेपछि मतगणनाबारे तय हुनेछ।