तनहुँमा स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि
प्रतिनिधि सभाको उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि छन्।
सोमबार बिहान साढे ६ बजेसम्म भएको मतगणनामा वाग्लेले पाँच हजार ११ मत पाएका छन्। रास्वपाका वाग्लेले शुरूआतदेखि नै अग्रता बनाउँदै ल्याएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले दुई हजार ३५१ मत पाएका छन्। उनी पनि शुरूआतदेखि नै दोस्रो नम्बरमा छन्।
नेकपा (एमाले)का सवेन्द्र खनाल तेस्रो नम्बरमा छन्। उनले एक हजार ५४९ मत पाएका छन्।
अहिलेसम्म नौ हजार २५७ मत गणना भएको छ। यो क्षेत्रमा ६३ हजार ७५७ मत खसेको थियो।
अन्य दुई क्षेत्रमा भने मतगणना शुरू हुन सकेको छैन। बारा-२ मा आज मतगणना शुरू हुने भएको छ। यसका लागि बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।
त्यस्तै, चितवन-२ मा पनि आजदेखि मतगणना हुने भएको छ। आइतबार राति सर्वदलीय बैठक बस्न सकेन। आज सर्वदलीय बैठक बोलाएर मतगणनाबारे निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।
दुवै ठाउँमा मतपेटिका भने राति नै सङ्कलन गरिसकिएको छ। सर्वदलीय बैठक बसेर निर्णय गरेसँगै मतगणना शुरू हुनेछ।