तनहुँमा स्वर्णिम वाग्लेको अग्रता, चितवन र बारामा आज मतगणना
प्रतिनिधि सभाको उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बनाएका छन्।
सोमबार बिहानसम्मको मतगणना अनुसार वाग्ले प्रतिस्पर्धीभन्दा दोब्बर मतले अगाडि छन्। उनले चार हजार ३०३ मत पाएका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ९३३ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेकपा (एमाले)का एक हजार १९८ मत पाएका छन्।
तनहुँमा अहिलेसम्म सात हजार ५०० मत गणना भएको छ। उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको छ। जबकि यो क्षेत्रमा एक लाख २३ हजार ३०५ मतदाता थिए।
अन्य दुई क्षेत्रमा भने मतगणना शुरू हुन सकेको छैन। बारा-२ मा आज मतगणना शुरू हुने भएको छ। यसका लागि बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए।
त्यस्तै, चितवन-२ मा पनि आजदेखि मतगणना हुने भएको छ। आइतबार राति सर्वदलीय बैठक बस्न सकेन। आज सर्वदलीय बैठक बोलाएर मतगणनाबारे निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।
दुवै ठाउँमा मतपेटिका भने राति नै सङ्कलन गरिसकिएको छ। सर्वदलीय बैठक बसेर निर्णय गरेसँगै मतगणना शुरू हुनेछ।