काठमाडौं उपत्यका: एक खुला पाठशाला
दिगो शहरी व्यवस्थापन सिकाउने नेपालमण्डलका प्राचीन वास्तुकला, जात्रा, पर्व, संस्कृति आजपर्यन्त जीवन्त रहनुमा रैथाने समुदायको सहभागिता र सहकार्य मुख्य कारण हो।
काठमाडौं उपत्यका पूरै नेपाललाई विश्वमा चिनाउने प्राकृतिक सौन्दर्य सहितको मानव निर्मित धरोहर हो। न्यातपोलको कलात्मकतादेखि बौद्धका शान्त आँखा, तलेजुको वास्तुविलासदेखि महाबौद्धको हजार बुद्धप्रतिमासम्मले यहाँको वास्तुकलाको उचाइ दर्शाउँछन्। उपत्यका र वरपर फैलिएको नेवार सभ्यताले यिनै मूर्त सम्पदाको आँगनमा गर्ने रथयात्रादेखि गाईजात्रासम्मले यी पार्थिव वास्तुकलालाई थप जीवन्त बनाएका छन्। एकाबिहानै पूजाथालीमा फूल, अबीर र अक्षताका माध्यमले ढुङ्गाका देवीदेवतामा आस्था पोख्नेहरूले यिनै चाडपर्व मार्फत तिनलाई मान्छे जस्तै बोल्न, हिंड्न र दौडन बाध्य पार्छन्।
नेपालमण्डलको हालको अवस्था जति टीठलाग्दो छ, इतिहास त्यतिकै चाखलाग्दो छ। गोपाल, महिषपालवंश हुँदै भीरपाखामा रमाउने किरातहरूको उपत्यका आगमन र बस्ती विस्तारलाई लिच्छविहरूले अझ व्यापक र व्यवस्थित बनाएको इतिहास कथा-किंवदन्ती, शिलापत्र र चाडपर्व-मेलाहरूले बर्सेनि सम्झाइरहन्छन्। छरिएका लिच्छवि बस्ती मल्लकालमा अझ विस्तृत र घनीभूत हुनुका साथै शहरहरू पनि गुणात्मक रूपमा मूर्त-अमूर्त संस्कृतिले सजाइए।
त्यसैले त आजका योजनाकारले उपत्यकालाई प्रकृति र मानव बस्तीको सन्तुलनमा जीवन्त शहर बनाउन सिक्ने पाठशाला मान्न थालेका छन्। यहाँका नगरमा धार्मिक, सांस्कृतिक विश्वासलाई कसरी खास गरी शैव, शाक्त र बौद्ध दर्शनका आध्यात्मिकताभित्र एकाकार गरी बस्ती बनाउन सकिन्छ भन्ने प्रयोग गरिएको पाइन्छ।
जीविकोपार्जनका लागि मात्र नभएर जात्रा-संस्कृति तथा जन्म-मृत्यु संस्कार र धर्मकर्मका प्रयोजनले समेत गरिएका व्यवस्थाहरूले यी शहरलाई पाश्चात्य मुलुकको जस्तो मान्छेको भीड मात्र बनाएका छैनन्, जीवनोपरान्त पनि जिउने शहरको परिचय दिएका छन्। उपत्यकाका तीन महानगर र तिनलाई वरिपरिबाट घेर्ने चार दर्जन नगर-उपनगरले सदियौंदेखि आफ्ना मौलिक कथाहरू सुनाइरहेकै छन्। शाहकालमा आइपुग्दा भने यस्ता परम्परागत ज्ञान, शान र संस्कृति यहाँका जातिहरूसँगै पेलानमा परे।
राणाकालले त यी ज्ञानभण्डारलाई दुत्कार्दै आफ्ना सुकुलगुन्डे सोच लाद्न पाश्चात्य माहात्म्य गाउन थाल्यो। यस उर्वर भूमिको अवैज्ञानिक दोहन गर्र्दै ठूलठूला महल ठड्याइए। आलिशान महलले जनमानसमा धाक जमाउने राणाहरूले के बुझेनन् भने पहिलेका शासकले नसकेर वा नजानेर उर्वर भूमि दोहन नगरेका होइनन्। बरु बुद्धि पुर्याएरै त्यसलाई खेतीका लागि छुट्याएर आफ्ना दरबार सहित मानव बस्ती कम उर्वर क्षेत्रमा सीमित पारेका हुन्।
गणराज्यका आधारमा उभिएको तत्कालीन समाजमा प्रत्येक टोलको नेतृत्व गर्ने एक गणपति अर्थात् गणेश हुन्थे। आज पनि दैनिक पूजाआजादेखि विवाह, व्रतबन्ध जस्ता शुभ कार्य यिनै स्थानगणेशको आशीर्वाद विना अघि बढ्दैन।
गणराज्यको सांस्कृतिक अभ्यास
गुचुमुच्च बस्तीभित्र प्रतिस्पर्धी उत्साह र आकांक्षाले उम्लिएका मानिसलाई एकताबद्ध बनाइराख्न सजिलो थिएन। त्यसैले तत्कालीन समाजले सँगै बस्नुको बललाई उपयोग गर्न केही उपाय आविष्कार गरेको थियो। जस्तो- धार्मिक आस्थाका आधारमा बनेका तत्कालीन शहरको संरक्षणको जिम्मा अष्टमात्रिकालाई दिइएको हुन्थ्यो। गढपर्खालले घेरिएका बस्तीहरूमा बाहिरको दैवी (वा प्राकृतिक) सीमा रक्षार्थ अष्टमात्रिकाका मन्दिर बनाइएका हुन्थे।
साँखुदेखि ललितपुर, काठमाडौंदेखि थिमि र भक्तपुरसम्मका बस्तीहरूमा बालकुमारी, महालक्ष्मी, चामुण्डा, बाराही, इन्द्रायणी इत्यादि दैवी सीमारेखाहरू छन्। खोकनाको सिकालीदेखि बनेपाको चण्डेश्वरी, कीर्तिपुरको बाघभैरवदेखि चापागाउँको बज्रबाराही, काठमाडौं, ललितपुर र भक्तपुर जस्ता तत्कालीन महानगर मात्र होइन, ससाना नगर पनि यिनै देवदेवीको रेखदेखमा थिए।
देवदेवीको दायित्व यतिमै सकिँदैन। अष्टमात्रिका, दशमहाविद्या, भैरव, भीमसेन र गणेश आदिले स्थानीय बासिन्दालाई रोगव्याधि, झैझगडा, असफलता वा दुर्भाग्यहरूबाट जोगाउने जनविश्वास थियो। त्यसैले तत्कालीन समाज ‘ध्वाखां पिने’ अर्थात् शहरको ढोका बाहिर बस्न कदाचित् चाहँदैनथ्यो। देवदेवीको ‘द्यो छें’ (देवघर) पनि नगरको बीचोबीच हुने गर्छ।
बस्ती व्यवस्थापनलाई सूक्ष्म रूपमा नियाल्दा समग्र नगर विभिन्न टोलमा विभाजित पाइन्छ। गणराज्यका आधारमा उभिएको तत्कालीन समाजमा प्रत्येक टोलको नेतृत्व गर्ने एक गणपति अर्थात् गणेश हुन्थे। आज पनि दैनिक पूजाआजादेखि विवाह, व्रतबन्ध जस्ता शुभ कार्य यिनै स्थानगणेशको आशीर्वाद विना अघि बढ्दैन। थिमिको प्रचलित बिस्केट मूलतः यिनै स्थानगणेशहरूको जात्रा हो जसमा स्थानीय बासिन्दा आफ्नो टोलको गणेशको रथ सहित परिक्रमा गर्छन्।
त्यसैले तत्कालीन समाजमा अहिले वडा भनिए जस्तै टोलहरू शासनसंयन्त्रको तल्लो एकाइ थिए। टोलहरूले विकास र व्यवस्थापनमा सामूहिक प्रयत्न मार्फत महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ। पूजाआजा मात्र होइन, बाटो, हिति इनार, मठमन्दिर जस्ता पूर्वाधार निर्माण र व्यवस्थापनमा पनि यिनको नेतृत्वदायी भूमिका हुन्थ्यो। सामुदायिक गतिविधि जीवन्त राख्न कतिपय टोलले आफ्नै चपाः (सत्तल) बनाएका हुन्छन्। पाटन शहरमा यस्ता चपाःहरू अझै पनि सामूहिक कार्यस्थलसाथै सामुदायिक आयआर्जनको स्रोत बनिरहेका छन्।
यी एकाइले नगरस्तरीय जात्राहरूमा पनि टोलको प्रतिनिधित्व गर्छन्। उदाहरणका लागि पाटनमा केही नगरस्तरीय जात्रापर्वमा सहभागिता जनाउन यिनै टोल सक्रिय हुन्छन्। प्रत्येक वर्ष मनाइने नेकूजात्रा (मतया) को जिम्मा आलोपालो १० वटा टोलले लिने गरेका छन् भने भीमसेन पूजा वा उपत्यकाकै लामो जात्रा बुंगद्यो (रातो मच्छेन्द्रनाथ) मा पनि टोलहरूको आलोपालो नेतृत्व र सहभागिता रहन्छ।
परम्परागत सामाजिक-धार्मिक कार्य वा पूर्वाधारलाई अनन्तसम्म निरन्तरता दिन आफ्नै सन्तानलाई समेत विश्वास नगरी स्रोत र संगठनको व्यवस्था सहित बनाइएको सामुदायिक संरचना हो, गुथि।
नगरस्तरीय कामका लागि टोलवासी महीनौंदेखि खटिएका हुन्छन्। आफ्नो पालामा जात्रा अझ भव्य बनाउन आपसी असमझदारी भुलेर सामूहिक ऊर्जा सहित लागिपर्छन्। भर्खरै काठमाडौंमा सम्पन्न पहाँचह्रय्मा उर्लिएका पहेंला, नीला र राता टोपीको लस्कर यस्तै ऊर्जाको प्रस्तुति हो। जात्राले सडक र गल्लीहरू एक्कासि गुञ्जायमान् हुन पुग्छन्। चारैतिरबाट रथ र बाजा समूहहरू ओइरिएर उत्सवलाई महोत्सवमा परिणत गरिदिन्छन्। जात्राको तयारीमा निर्वाह गर्नुपर्ने आआफ्ना जातीय दायित्व, बाजा र नाचहरूको शिक्षण-प्रशिक्षण र पूर्वाधार मर्मतसम्भारले शहरहरूको दिगो व्यवस्थापन सम्भव बनाइदिन्छ।
पूर्वाधारहरूको निर्माण र मर्मतसम्भार शहरी व्यवस्थापनको प्रमुख चुनौती हो। दिगो विकासका लागि लक्ष्य सहितको विश्वव्यापी प्रयास चलिरहेको आजको सन्दर्भमा यहाँको सभ्यताबाट पनि विश्वलाई सिकाउनु वाञ्छनीय हुन्छ। यस सन्दर्भमा नेवार सभ्यताले एउटा कालजयी प्रणाली आविष्कार मात्र गरेन, कम्तीमा दुई सहस्राब्दी यही माटोमा प्रयोग गरेर प्रमाणित समेत गरिदियो, गुथिका रूपमा। परम्परागत सामाजिक-धार्मिक कार्य वा पूर्वाधारलाई अनन्तसम्म निरन्तरता दिन आफ्नै सन्तानलाई समेत विश्वास नगरी स्रोत र संगठनको व्यवस्था सहित बनाइएको सामुदायिक संरचना हो, गुथि। आर्थिक र संगठनात्मक आधार विना कुनै पनि संरचना लामो समय टिक्दैन भन्ने चेत रहेका त्यस युगका मानिसको दूरदर्शिता समेत यस्ता दिगो प्रणालीले उजागर गरेका छन्।
नेपालमा अहिलेसम्म प्राप्तमध्ये सबैभन्दा पुरानो शिलापत्रमा राजा मानदेवले गुथिको उल्लेख गरेका छन्। यसर्थ आजसम्म चलेका सबै चाडपर्व, पूर्वाधारको व्यवस्थापन, मर्मतसुधारदेखि धार्मिक अनुष्ठानसम्मको दिगोपनको प्रमुख गुह्य गुथि व्यवस्थामै लुकेको बोध हुन्छ। पञ्चायती कालमा राजा वीरेन्द्रले सुधारका नाममा यसको आर्थिक आधार छिन्नभिन्न पारेका थिए। २०७६ सालको गुथि आन्दोलन नहुँदो हो त आजको गणतन्त्रात्मक सरकारले पनि दिगो व्यवस्थापनको यस्तो नेपाली आविष्कारलाई तहसनहस पारिसकेको हुन्थ्यो।
सर्वेसर्वा: शासक होइन जनता
शहरी व्यवस्थापनका आधार अन्ततः जनता नै हुन्। जनतामा आधारित नभए जति नै उत्कृष्ट धरोहरको पनि आयु धेरै हुँदैन भनेर बुझ्न राणाकालमा स्थापित मठमन्दिरलाई हेर्न सकिन्छ। जात्रा र पर्वविहीन टेकु दोभानदेखि थापाथलीसम्मका वा शंखमूल र पशुपतिका राणाकालीन उत्कृष्ट सम्पदा बेवारिसे छन्। जनताको अपनत्व र सहभागिता नभएको घोडेजात्रा पनि अहिलेसम्म पूर्ण रूपमा सरकारकै लगानीमा टिकेको छ।
उपत्यकाका रैथाने जात्रा भने पूर्णतः जनताकै सहभागितामा चल्छन्। जस्तो, काठमाडौंमा पिशाच चतुर्दशीमा मनाइने पहाँचह्रय्को आफ्नै सामाजिक महत्त्व छ। यसमा चोकहरूमा थुप्रिएको फोहरमुनि पुरिएका महादेव (अर्थात् लुकुमहाद्यो) लाई त्यहाँबाट निकाल्ने परम्परा छ। जाडो यामपछि आआफ्ना चोक, बहाल, ननीहरू सफा गर्ने र अष्टमात्रिकाहरूको भेटघाटको अवसरका रूपमा मनाइने जात्राले नगर सफा राख्न प्रेरित मात्र गर्दैन, नगरवासीलाई प्रतिस्पर्धी रूपमा प्रत्येक वर्ष नगरको अपनत्व नवीकरणको अवसर पनि दिन्छ।
शाहकालमा शुरू गरिएको घोडेजात्रामा भने प्रत्येक वर्ष टुँडिखेलमा जनसहभागिता विनाको खोक्रो शासकीय दम्भ मात्र दौडिरहेको भान हुन्छ। अन्यथा उपत्यकाभरका कार्यालय बिदा दिएर गरिने सरकारी घोडेजात्रा छोडेर असनमा जुधाइने रथजात्रामा मानिस त्यसै ओइरिने थिएनन्। धार्नीका धार्नी माला भिर्ने राजनीतिक उद्यमीहरूले अहिलेसम्म औपचारिकतामै सीमित रहेका प्रजातन्त्रदेखि गणतन्त्र दिवससम्मका समारोहलाई साँच्चै जनताको महोत्सव बनाउने हो भने यी कालजयी जात्राहरूबाट धेरै कुरा सिक्न सक्छन्।
(जोशी सम्पदाविद् हुन्। हिमालको २०८० वैशाख अङ्कबाट।)
कभर स्टोरी: